हङकङबाट अचनाक अस्ताएको उज्यालो घाम


१२ कार्तिक २०७८, शुक्रबार
Kisan Rai

मेरो दैनिकी आम मान्छेको भन्दा अलि फरक छ । म ढिलो सुत्छु, ढिलै उठ्छु । सुत्ने र उठ्ने मेरो जीवनशैली बारेमा जानकार मेरा नजिकका साथीभाइहरु मलाई बिहान फोन गर्ने लेठो उतिधेरै गर्दैनन् । किनभने उनीहरुलाई थाहा छ, ‘राजेशको फोन उठ्दैन ।’

८ कात्तिक २०७८ बिहानै एकोहोरो बजेको फोनले मेरो निद्रा भङ्ग भयो । टेलिफोन र म्यासेन्जरमा एकोहोरो ‘कल’ आइरह्यो । कम्तीमा दर्जन बढी कललाई बेवास्ता गरेर पल्टिरहें । एकोहोरो फोन बजिरहेपछि उठेर हेरें । अधिकांश हङकङबाट आएको कल रहेछ । शुरुमा ब्रिटिस गोर्खा संगठनका अध्यक्ष हेमप्रताप गुरुङ दाइलाई म्यासेन्जरमा कल रिप्लाई गरे ।

उताबाट हेम दाइको प्रश्न थियो, ‘राजेश भाइ, किसनजीको अवस्था के हो ? केही बुझ्नु भयो ?’ हेम दाइले जुन शैलीमा सोध्नुभयो त्यसले मेरो मनमा चिसो पस्यो ।

दाइलाई सोधे, ‘किन के भयो र दाजु ?’ हेम दाइको उत्तर थियो ‘खोटाङमा दुर्घटनामा पर्नुभयो भन्ने खबर आएको छ, लु तुरुन्तै बुझ्नुहोस् त ।’
मैले हतार–हतार जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी उमेश लम्साललाई फोन गरें । चार पटक फोन गर्दा पनि डिएसपी सापले फोन उठाउने कष्ट गरेनन् । मैले त्यसपछि छिमेकी जिल्ला भोजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार राईलाई फोन लगाएँ । भोजपुरको डिएसपी सापले तुरुन्तै बुझेर भने, ‘दुर्घटनामा उहाँको निधन भएछ । लाश भोजपुर जिल्ला अस्पतालमा राखिएको रहेछ ।’ डिएसपी सापको त्यो सूचना मेरो कानमा यस्तरी गुञ्जियो कि मानौं ममाथि आकाश खसे जस्तै भयो ।

मलाई अझै पत्यार लागेन । मैले खोटाङमा रहेका युवा नेता तथा अधिवक्ता ओमप्रकाश घिमिरलेलाई फोन गरेर भने, ‘भाइ, अस्पतालमा गएर बुझ्नुहोस् त ।’ ओमप्रकाश भाइले आधा घण्टापछि भने, ‘दाइ, उहाँको लाश अस्पतालको पोष्टमार्टमा गृहमा राखिएको छ ।’

काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा साँझ भीरबाट लडेर निधन भएको पुष्टी भयो ।

०००
१० वर्ष अघि । ठ्याक्कै तिथि मिति याद भएन । किसन दाइबाट एउटा प्रस्ताव आयो, ‘एभरेष्ट साप्ताहिकमा गोर्खाहरुको बारेमा हरेक अंक एउटा प्रोफाइल लेख्नु प-यो ।’ म उतिबेला लाहुरेहरुकै पत्रिका ‘गोरखा सैनिक आवाज’ को सम्पादक थिएँ । मलाई लाहुरेको प्रोफाइल लेख्नु कुनै ठूलो कुरो थिएन, किनभने दैनिकजसो थुप्रै लाहुरेहरुसँग संवाद हुन्थ्यो । गोरखा सैनिक आवाजमा मैले लेखेको प्रोफाइललाई ‘यसो मिलाएर’ पठाउने सुबिधा पनि थियो । निकै लामो समय ‘एभरेष्ट साप्ताहिक’ मा लाहुरेको कथा लेखें ।

मैले निकै लामो समय गोरखा सैनिकहरुको पत्रिकामा काम गरें । पत्रिका मात्रै होइन आफै आन्दोलनकारी जस्तो बनेर पैरवीमा पनि सहभागी भएँ । गोरखाहरुको बिषयलाई असाध्यै महत्व दिने र लेख्नेमध्येका सम्पादक थिए उनी । गोरखाहरुको आन्दोलन चलिरहेका बेला उनी सोधिरहन्थे, ‘होइन के पो हुँदैछ हौ भनौं त ?’ उनी गोर्खा आन्दोलनको एक जना शुभेच्छुक मात्रै होइनन् अभियान्ता थिए ।
००००
हङकङका एक्ला ‘होल टाइमर’ पत्रकार

नेपालमै नेपाली भाषाको पत्रिका टिकाउन गाह्रो छ । झनै विदेशमा नेपाली भाषाको पत्रिका कसरी टिक्ला ? नेपाली भाषामा पत्रकारिता गर्ने पत्रकारहरू कसरी टिक्लान् ? उत्तर सकारात्मक छैन, ‘विदेशमा नेपाली भाषाको पत्रकारिता गरेर टिक्न गाह्रो छ ।’ हङकङमा नेपाली भाषामा पत्रकारिता गरिरहेका उनी यस्ता अपवाद थिए, जो विशुद्ध नेपाली भाषाको पत्रकारिता गरेर विगत २५ वर्षदेखि हङकङमा टिकिरहेका थिए । उनी हङकङका एक्ला पूर्णकालीन पत्रकार थिए ।

भारतीय लाहुरेका यी सन्तान हङकङ छिर्नु अघि पत्रकारितामा थिएनन् न त उनको सपनाको विषय नै थियो । धरानलाई विदा गरेर हङकङ जाँदै गर्दा उनको सपना पत्रकारिता गर्ने थिएन । अरुहरू जस्तै धन कमाउने सपनाले ठेलिएर उनी हङकङ पुगेका थिए । ‘पत्रकारिता गरिन्छ भन्ने त कल्पना समेत गरेको थिइनँ ।’

सात वर्षअघि जोर्डन शहरको लक्की हाउसमा बसेर मलाई उनले लामो कहानी सुनाएका थिएँ, ‘कमाउँ भनेर हङकङ छिरेको पत्रकार भइयो ।’ भनिन्छ, ‘जीवन योजनामा होइन आकस्मिकतामा चल्छ ।’ उनको पनि भई दियो त्यस्तै । यो बसाईमा विदेशी भूमिमा पत्रिका निकाल्नुको दुःख बारेमा उनीसँग लामो संवाद भएको थियो ।

उनका अनुसार विलियम सुब्बालगायत ६ जना समूहले प्रतिव्यक्ति ६० हजार हङकङ डलर संकलन गरेर पत्रिका प्रकाशन गर्ने उेद्दश्यले एभरेष्ट मिडिया नामको कम्पनी दर्ताको तयारी गर्दै रहेछन् । उनीहरू सातौं लगानीकर्ताको खोजीमा थिए । संयोगले सातौं लगानीकर्ताको रुपमा उनी पुगे । हङकङ पुगेको करिब दुई वर्षपछि उनी मिडियातिर संयोगले लागे । त्यही संग्लनता ‘युटर्न’ जस्तै भयो । डलर कमाउन छिरेका यी लक्का जवान समाचार सम्पादन, लेखनतिर लागे । उनको दैनिकी फेरियो, फेरिए सपना र बाटाहरू ।

थोरै नेपालीभाषीहरू भएको शहरमा नेपाली भाषाको दैनिक पत्रिका निकाल्नु सजिलो काम थिएन । एउटा सामान्य प्रेस किनेर दैनिक पत्रिका प्रकाशनमा जुटेका थिए उनीहरू । लगानीकर्ता ७ जनामध्ये पत्रिका प्रकाशन र वितरण बारेमा सबै नयाँ थिए । अरु ६ जनालाई भन्दा बरु उनलाई पत्रिका छपाईसम्बन्धी केही जानकारी थियो । अरु ६ जनालाई चाहिँ पत्रिका प्रकाशन गरेपछि तुरुन्तै नाफा आउँछ भन्ने लागेको थियो, तर पत्रिकाबाट त्यस्तो सम्भव भएन । पत्रिका प्रकाशनको एक महिनामा नै अरु ६ जना पत्रिका बन्द गर्ने निष्कर्षमा पुगे ।

उनले सुनाएका थिए, ‘साथीहरूले मेसिन ल्याएपछि फ्याट–फ्याट पत्रिका छापिन्छ, खुरुखुरु पैसा आउँछ भन्ने सोचेका रहेछन् तर त्यसो भएन । साथीहरू एकै महिनामा हतोत्साही हुनुभयो, पत्रिका नै बन्द गर्ने निष्कर्ष भयो ।’ उनकै आग्रहमा तीन महिनासम्म सामुहिक लगानीमै दैनिक पत्रिका प्रकाशन भयो । त्यसपछि पनि नाफा नभएपछि उनका साथीहरूले कम्पनी नै बन्द गर्नुपर्छ भन्नेतिर लागे, तर उनी हारेनन् र साथीहरूलाई भने, ‘अहिलेसम्मको हिसाबकिताब गरौं, अनि म पत्रिकालाई निरन्तता दिन्छु ।’ उनको आँटलाई अर्का एक जनाले सघाए, तर उनी पनि ६ महिना भन्दा बढी टिक्न सकेनन् ।

सबै सहयात्रीहरू अन्यत्र लागे पनि उनले पत्रिकालाई निरन्तरता दिने अठोट गरे र। साप्ताहिक रुपमा रङ्गिन पत्रिका प्रकाशन शुरु गरे । कहिल्यै नफर्किने यात्रामा लाग्नुअघिसम्म उनले त्यो पत्रिका प्रकाशन गरिरहेका थिए ।

तीन करोड बढी नेपालीभाषी भएको नेपालमा पनि पत्रिका निरन्तर प्रकाशन गर्न फलामको चिउरा चपाउनु जस्तै हुन्छ । हङकङमा करिब ४० हजार जति नेपाली छन् । ती सबै पत्रिका पढ्नमा अभ्यस्त छैनन् । सानो समुदायमा कसरी टिकेको छ त पत्रिका ? ‘दुःख–सुख टिकेको छ’ उनी भन्थे ‘पत्रिका बिक्री र विज्ञापनबाट आउने पैसाले धानिएको छ ।’ हङकङ नेपालीहरूको सपनाको शहर हो । त्यहाँ जाने धेरैजसो नेपालीहरूको सपना हुन्छ, ‘रातरात धनी हुने ।’

हङकङमा जाने नेपालीहरूको चाहना हुन्छ, चाँडै डलर कमाएर सबै दुःखहरू ढाल्ने, तर उनी चाहिँ दुःख ढाल्ने शहरमा पुगेर पनि १५ वर्षदेखि समाचार सम्पादन र लेख्ने दुःखमा लागेका थिए । किन त ? उनी भन्थे, ‘विदेशमा बसेर पनि नेपाली भाषा र समुदायको सेवा गर्न पाएको छु, मेरो सुख यही हो ।’ हङकङका नेपाली समुदायबीच सेतुको भूमिकामा उनी अन्तिम समयसम्म लागे ।


निर्भिक र दृढ तर दुस्साहसी
म हङकङ दुई पटक पुगेको छु । निकै लामो बसाईको साथ । हङकङमा उनलाई धेरैले ‘वरिष्ठ’ भनेर सम्बोधन गर्दा रहेछन् । उनको बारेमा धेरैले अनेकन किस्सा सुनाए । उनी दुस्साहसी, दृढ, निर्भिक र निष्कलङ्क रहेछन् । विकृति उनी बढो निर्भिकताका साथ समाचार लेख्थे ।
हङकङ बसाईका क्रममा धेरैले सुनाएका थिए, ‘उनी यस्ता दुस्साहस गर्छन् कि जतिसुकै ‘खतरनाक’ हरुको पनि समाचार लेख्न डराउँदैनन् ।’ उनले यस्तो सकारात्मक आतंक फैलाएका थिए कि किसनले लेख्छन् भन्ने डरले पनि नराम्रो काम गर्न नेपालीहरु डराउँथे ।

हङकङस्थित नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष थिए उनी । त्यसो त हङकङमा बसेर पत्रकारिता गर्नेहरुको बलियो भरोसा र अभिभावक पनि थिए उनी । पत्रकारमाथि हुने सबैखाले आक्रमणको सुरक्षा कवच जस्तै थिए उनी । लेख्न खोज्नेहरुलाई उनी निःस्वार्थ सहयोग गर्थे ।


सचेत विद्रोही

Kisan Rai Hongkong
हङकङकी प्रमुख कार्यकारी क्यारी लामबाट ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ लिदैं


उनी पत्रकारितासँगै हङकङका अनेकन अभियानमा संग्लन थिए । त्यसो त उनी नेपालमा छँदा नै राजनीतिमा संग्लन थिए । धरानको चर्चित क्याम्पस महेन्द्र बहुमुखी क्याम्वसको स्ववियु सचिव । अखिलको एक जना लोभलाग्दो नेता थिए उनी । हङकङ गएपछि पनि नेकपा (एमाले) को संगठनमा क्रियाशिल भए ।

यता नेपालमा पहिलो संबिधानसभाको विघटनसँगै अशोक राईले बिद्रोह गरेर नयाँ पार्टी बनाए । पहिचानको मुद्दा उठाएर गरिएको बिद्रोह थियो । उनी अशोक राईहरुसँग विद्रोहमा सामेल भए । पार्टीका हिसाबले उनी अहिलेसम्म पनि त्यो विचारमा दृढ थिए । उनी मलाई यसो दिइरहन्थे, ‘किनारामा पारिएका सबै वर्ग, क्षेत्र, जाति र लिङ्ग मुलधारमा नआएसम्म तिमीहरुले भनेको समाजवाद आउँदैन होउ । त्यसैले अझैं आन्दोलन जरुरी छ ।’

उनी हङकङको अनेकन संस्थाका नेतृत्वकर्ता पनि थिए । पछिल्लो समयमा आदिवासी जनजाति महासंघ हङकङको अध्यक्षको भूमिकामा थिए । महासंघले जनजाति समुदायका महावाणिज्यदूत हङकङ ल्याउन निकै लामो संघर्ष चलाएका थिए । जब उनी महासंघको अध्यक्षको जिम्मेवारीमा आए उनको सपना–बिपना सबै जनजाति समुदायका महावाणिज्यदूत हङकङ लैजाने बन्यो । म घरीघरी जिस्काइरहन्थे, ‘ए दाइ, यति ‘इफोर्ट’ लगाएर अभियान चलाउनु भयो भने नेपालमा माननीय नै बन्नुहुन्छ । के साह्रो लाग्नु भएको हो ?’

तर त्यही समपर्णले उनी पछिल्लो समयमा उनी सफल भए । ‘कसरी सफल भए त ?’ नाम प्रस्तावदेखि अन्तिम टुङ्गो हुँदासम्मको साक्षी हुँ । अहिले यति मात्रै लेखौं, ‘उनी नभएको भए त्यो सम्भव थिएन ।’ कुनै एक मन्त्रालयमा ‘यो पात्र’ हुनसक्छ भन्ने निचोडमा पुगेपछि उनी हालका महावाणिज्यदूत उदय रानामगरलाई अनुरोध गर्न आफै दौडेर झापा गएका थिए । मगर त्यो बेला झापाको प्रमुख जिल्ला अधिकारी थिए । उनको यो अभियानमा साथ दिने उच्च अधिकारी अहिले पनि उपल्लो पदमा छन् । ती उच्च अधिकारीलाई उनी भन्थे, ‘उहाँ त हाम्रो भगवान हो ।’ यसको निकै लामो कहानी छ । कुनै दिन अवश्य लेखौंला ।

म आफै उनीसँग सिंहदरबारका अनेक कोठाभित्र छिरेको छु । उनी यस्तरी लागेका थिए कि मानौं जनजाति समुदायका महावाणिज्यदूत हङकङमा गए भने उनी हङकङको ‘राजा’ हुनेछन् । स्वाभिमान र ‘मनोविज्ञान’ सँग जोडिएको उनको भावनालाई नजिकबाट राम्ररी बुझ्न सकिन्थ्यो । उनको त्यो समपर्ण ।


००
सधैं दुःखको भारी

HK office


सात वर्ष अघि । एक दिन विहानै हङकङबाट फोन आयो, ‘दयाहाङ (अभिनेता) सहित मण्डला थिएटरका कलाकार हङकङ ल्याउनु पर्ने भिसा प्रक्रियामा सहयोग गरिदिनु त ।’

मैले सोधे, ‘होइन थिएटरका कलाकार लगेर कार्यक्रम गर्दा नाफा हुन्छ त ?’

उताबाट बुढाले मलाई दन्काएर दुई शब्द ठोकी हाले ‘होइन तिमीले मलाई नाफावाला मान्छे सम्झेको छौं कि कसो ? तिमीहरुको यस्तो मानसकिताले बिग्रिन्छ नि । मैले नाफाका लागि होइन होउ । यसो थिएटरका कलाकारहरुको सम्मान र सहयोग होस् भनेर हो । नाफै कमाउने भए थिएटरका होइन मञ्च तताउनेहरु छँदैछन् नि ।’

म उतिबेला गोरखा सैनिक आवाजमा कार्यरत थिए । हङकङ जाने-आउने लाहुरे मामाहरुको परिवार भिसा प्रक्रियामा सहयोग गरिरहने भएको कारण सबै प्रक्रिया मिलाई दिने व्यक्ति बारेमा जानकार भएको कारण मलाई दाइले खोजेका ।

हङकङमा बसेर उनका उमेरका मान्छेहरु मासिक लाखौं कमाइरहेका हुन्थे । तर फरक कर्ममा थिए । हङकङमा कार्यक्रम त सबैले गरिरहन्छन् । तर उनले कार्यक्रममा लैजाने पात्रहरु फरक हुन्थ्यो । खासगरी नेपालका प्रगतिशिल आन्दोलनसँग जोडिएका तर मञ्च नपाएका प्रतिभाहरु उनको रोजाई हुन्थ्यो । जनगायक रामेश, साहित्यकार बैरागी काइँला, अभिनेता दयाहाङ राई उनको रोजाई यस्तै–यस्तै हुन्थ्यो । इतर आवाज र बागी विचारप्रति उनको जहिल्यै सम्मान हुन्थ्यो ।

उनी गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङका महासचिव हुँदैं उपाध्यक्ष र केन्द्रिय सदस्यमा मनोनित भएका थिए । नेपाल पत्रकार महासंघ हङकङको स्थापना उनैले गरेका थिए । हङकङ नेपाली फाउण्डेसन र नेपाली भाषा तथा साहित्य परिषद्का अध्यक्ष थिए । किरात राई यायोक्खाको पूर्व अध्यक्ष, धरान हङकङ मञ्च र नेपाली समाजका सल्लाहकार थिए ।

नेपालीहरुलाई आइपर्ने कानुनी लगायतका अनेक खालका समस्या, लागूऔषधमा फसेकाहरूलाई उद्धार लगायतका काममा उनी जहिल्यै अघि थिए । संकट प-यो कि सबैले सम्झिने नाम थियो, ‘किसन राई ।’

त्यसो त उनको पहिचान र सम्मान हङकङ सरकारले समेत गरेको थियो । चीनको ७१ औं स्थापना दिवसको अवसरमा उनलाई ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ प्रदान गरिएको थियो । विदेशमा रहेर नेपाली भाषा र साहित्यको विस्तार र प्रचारमा योगदान गरेको भन्दै नेपाल सरकारले जनसेवाश्री पदकबाट बिभूषित गरेको थियो ।
००
त्यो अन्तिम संवाद
किसन दाइले यस पटक नेपाल आउन अघि हङकङ विमानस्थलको तस्बिरसहित फेसबुकमा लेखे, ‘मन्त्रिमण्डल बिस्तारमा परेको गाँठो फुकाउन हिंडियो ।’ मैले त्यो तस्बिर देखेपछि भोलिपल्ट फेसबुक म्यासेन्जरमा ‘कल’ गरेर सोधे, ‘होइन कता हो दाजु, यसपालि बिस्तारको गाँठो मात्रै फुकाई दिने कि सपथ नि खाने ?’

निकै लामो कुराकानीपछि दाइको फाइनल कुरो थियो, ‘लु मुस्ताङबाट फर्किएपछि बसौं है ।’ तातोपानी, बेनी, मुस्ताङ, घान्द्रुकलगायतमा निकै रमाइलो गरी घुमेका तस्बिरहरु पोष्ट भइरहेको थियो ।

त्यही बीचमा किसन दाइको एउटा स्टाटस आयो, ‘विदेशका नेपाली आदिवासी जनजातिलाई हेर्ने दृष्टिकोण र व्यवहार परिवर्तन गर है नेता हो, हामी तिम्रा दास होइनौं ।’ यो स्टाटस देखेपछि उही म्यासेन्जरमा सोधें, ‘होइन चिसो ठाउँतिर गएर पनि किन आक्रोशित होउ दाजु ?’ सायद समूहमा थिए होलान् । सक्षिप्त उत्तर दिए, ‘सबैतिर पारा उस्तै छ होउ । भेटेर भन्छु है ।’

किसन दाइसँगको त्यो नै अन्तिम संवाद थियो । फर्किएपछि बसेर ‘सल्लाह गरौं’ पटक–पटक भनेका थिए । भर्खरै मात्रै हङकङमा ‘फ्ल्याट’ किनेका थिए । दुई छोराहरु बेलायतमा पढ्न पठाएका थिए । भाउजु नि व्यवसायमा । हङकङबाट नेपाल फर्किएर राजनीति वा पत्रकारिता के गर्ने ? दोधारमा थिए उनी । मेरो सुझाव चाँहि थियो, ‘राजनीति नै गर्नुहोस् ।’ जिस्काएर भनेको थिएँ, ‘राजनीति नै गर्नुहोस् तर पार्टी चाँहि हाम्रोमा आउनुहोस् है ।’

नेपाल फर्किएर ‘केही गर्ने’ किसन दाइको योजना अधुरै रह्यो । मलाई यस्तो लाग्छ, ‘हङकङमा हजारौं नेपाली छन् । तर किसन दाइ हजारौंका एक थिए ।’ हङकङका ती नेपालीहरु जो अनेक खालका विकृति–बिसङ्गगति, अनियमितता र मनपरीको बिरोधी छन् उनीहरुले आफ्नो असल अभिभावक गुमाएका छन् । एउटा सुरक्षाकवच गुमाएका छन् ।

प्रिय किसन दाइ,
यी मेरा हातका औलाहरु कति ‘अभागी’ रहेछन्, की यति छिट्टै तपाईका सम्झेर केही लेख्न विवश छ । तपाईको विगत सम्झेर केही लेख्ने होइन तपाईसँग पर दुरसम्मको यात्रा गर्ने रहर थियो । तर छिट्टै तपाई कहिल्यै नफर्किने बाटोमा लाग्नुभयो । तपाईको भौतिक शरीर खोटाङको भीरले खोस्यो कि वा अरु कसैले ? अनुसन्धान पनि होला । तर तपाईसँगका अनेकन सम्झनाहरु कसैले खोस्न सक्ने छैनन् । हाम्रो सम्झनामा सधैं बाँचिरहनु हुनेछ । अलविदा दाइ !

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७