बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने


१५ कार्तिक २०७८, सोमबार
rajendra pandey

हेटौंडा, १५ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आउँदो कात्तिक २२ गते संसदबाट विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका पाण्डेले २२ गतेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले विस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट आइतबार मात्र पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिएका छन् । मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको पत्रमा १२ गते उल्लेख गरिएको छ तर संसद् सचिवालयमा भने हिजो मात्रा दर्ता भएको प्रवक्ता अमात्यले बताए ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सरकारको नेतृत्व गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सोही अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदबाट निर्णय गराई विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ताका लागि पठाएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले बताएका छन् ।

‘हामीले सरकार गठन भएकै दिन मन्त्रिपरिषद्बाट निर्णय गरेर तिहार लगत्तैको मिति तय गरेका छौं । आगामी कात्तिक २२ गतेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको छ । त्यसैले त्यसबारेको जानकारी प्रदेश सभालाई पनि गराइसकेको छ,’ मन्त्री खनालले भने ।

मन्त्री खनालले सरकारको काम र आवश्यकताको आधारमा मन्त्री र राज्यमन्त्रीहरू नियुक्त गरिने भएकाले गठबन्धनको दलहरुसँगको छलफलबाट सो विषयले पूर्णता पाउने बताए ।
सरकार सन्तुलनका लागि मन्त्रालय संख्या बढाउने तयारी
नेकपा माओवाद केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेले मन्त्रिपरिषद् विस्तारका बारेमा गठबन्धनले कुनै निर्णय नगरेको बताएका छन् । उनले मुख्यमन्त्री नियुक्त गर्ने दिन गठबन्धनमा रहेका दलहरु बीच केही सामान्य छलफल भएपनि निष्कर्षमा नपुगेको बताए ।

प्रदेशमा गठबन्धनको नेतृत्वमा सरकार बनाउनु र विश्वासको मत लिनु पर्ने पहिलो आवश्यकता भएकाले गठबन्धन त्यसतर्फ केन्द्रीत भएकाले मन्त्रिपरिषद् र मन्त्रालय भागबण्डाको विषय टुङ्ग्याउन बाँकी रहेको उनले बताए ।

सरकारको विश्वासको मत सम्बन्धी प्रस्तावको विषय टुङ्गिएपछि मन्त्रिपरिषद् विस्तार हुन् नेता जम्मकट्टेलको भनाइ छ । सरकारको सन्तुलन र कामका आधारमा मन्त्रालय विभाजन हुन सक्ने उनले बताए । ‘जनताको काम गर्ने विषयमा सरकारले कञ्जुस्याइ गर्दैन तर, परिस्थिति र सन्तुलनका लागि मन्त्रालयको संख्या बढ्न सक्छ,’ नेता जम्मकट्टेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७