ओलीलाई रेनु दाहालको जवाफ : माओवादीले दुईपल्ट प्रधानमन्त्री बनाएकाले ठूला कुरा नगरेकै बेस


१६ कार्तिक २०७८, मंगलवार
renu dahal

काठमाडौं, १६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेनु दाहाल पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएकी छिन् । माओवादी केन्द्रकै सहयोगमा ओली दुईपल्ट प्रधानमन्त्री भए पनि उनले ठूलो कुरा गर्दै हिंडेको भन्दै रेनुले आक्रोश व्यक्त गरेकी छिन् ।

‘इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादीकै सहयोगमा भएकाले ठूला कुरा नगरेकै बेस होला’, दाहालले ओलीप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा भनेकी छन् । उनले विगतमा ओलीको लागि भोट माग्दै प्रचण्ड झापासम्म पुगेको स्मरण गर्दै दाहालले सोही बेला आफ्नो भाइ गुमाउनु परेको समेत बताएकी छिन् ।

‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमा मात्र, त्यही पनि पार्किन्सनको बिरामी’, दाहालले भनेकी छिन्, ‘भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुःखद घटना घट्यो । घरमा परिवारका सदस्य कोही पनि नभएको बेला र सबै आ–आफ्नो चुनावी मैदानमा । बिरामी आमा मात्र घरमा । के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो ।’

दाहालले यस्तो परिस्थितिबाट माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको जिकिर गरेकी छिन् । ‘झण्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त । धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त ।’ सोमबार चितवनमा आयोजित कार्यक्रममा ओलीले विगतमा आफूले प्रचण्डका लागि दुई दुई पटक भोट माग्नु परेको तर अब त्यस्तो गल्ती नगर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७