सबस्टेसन मर्मत ढिलाइ भएपछि कर्मचारीलाई कुलमानको प्रश्न : जात्रा हेर्न आउनु भा’को ?


१७ कार्तिक २०७८, बुधबार
kulman1635933383

चितवन, १७ कात्तिक । चितवनको भरतपुर सबस्टेसनमा रहेका पावर ट्रान्सफर्मरको मर्मत गर्न अझै ८ घण्टा लाग्ने भएको छ । सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द छ । बिग्रिएको ट्रान्सफर्मरलाई हटार २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडानको कार्य भइरहेको छ । यो काम सक्न कम्तिमा पनि आठ घण्टा लाग्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।

उनी भरतपुर पुग्दा जसरी काम भइरहेको देखे, उनलाई चित्त बुझाएनन् । सबस्टेसनमा ४–५ जना मात्रै प्राविधिकले काम गरिरहेको देखेपछि घिसिङले असन्तोष व्यक्त गरेका छन् । उनले कर्मचारीहरुलाई गम्भीरतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरे । तिहार जस्तो

उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको सम्वेदनशीलता बुझ्न अनुरोध गरे ।
तर, कर्मचारीले हिजैदेखि आफू निरन्तर सबस्टेसनमै बसेर ‘फोकस’ भएर काम लगाएको भन्दै रिपोर्टिङ गरेपछि घिसिङले फिल्डमै असन्तुष्टि पोखे । ‘तपाईं हरेको हेरेकै, अनि पाँच जनाले काम गरेर हुन्छ त यहाँ ?’ उनले कर्मचारीसँग झोक्किएरै भने, ‘यहाँ जात्रा हेर्न आउनु भएको ?’
घिसिङ उक्त सवस्टेसनमा गएर तत्काल मर्मत गरी सक्दो छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

उनले मर्मत कार्य छिटो सम्पन्न गर्न जनशक्ति थपेरै काम गर्न निर्देशन दिए । ‘कामदारलाई खसी खुवाएर हुन्छ की के खुवाएर हुन्छ, त्यो गर्नु काम छिटो सक्नुस्’ उनले निर्देशन दिदै भने, ‘तिहारको बेला उपभोक्तालाई अँध्यारोमा राख्न हुँदैन, मर्मतका लागि श्रमिकहरु थपेर भए पनि तत्काल काम सक्नु पर्छ, तत्कालका लागि उद्योगहरुलाई दिइएको आपूर्ति कटौती गरी ग्राहस्थ वर्गलाई तिहारमा बत्ती बाल्न पाउने व्यवस्था मिलाउनु ।’

सबस्टेसनमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा शनिबार बिहानबाट समस्या देखिएको थियो । सबस्टेसनमा रहेको अर्कोमा मंगलबार दिउसोबाट समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो ।

अहिले वैकिल्पक व्यवस्था गरी हस्पिटलहरु, खानेपानी, जिल्ला प्रशासन तथा प्रहरी, विमानस्थललगायतका क्षेत्रमा विद्युत आपूर्ति सुचारु गरिएको छ । सबस्टेसनबाट विद्युत आपूर्ति गर्ने १० वटा फिडरहरुमध्ये एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको प्राधिकरणले जनाएको छ ।
अहिले सबस्टेसनमा समस्या आउँदा यस क्षेत्रका करिब ५५ हजार ग्राहक विद्युत सेवाबाट वञ्चित भएको प्राधिकरण भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुख राजीव कुमार सिंहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७