अहिलेकै अवस्थामा एमसीसी पास हुँदैन : नारायणकाजी श्रेष्ठ


१९ कार्तिक २०७८, शुक्रबार
narayankaji shresth

काठमाडौं, १९ कात्तिक । नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने बताएका छन् ।

बेलायतबाट फर्किने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सहमति जनाउँदै आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्र पठाइसकेको बताएपछि आएको राजनीतिक तरंगबीच श्रेष्ठले यस्तो भनेका हुन् ।

उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवम् राष्ट्रिय हित विपरीतका प्रावधानहरु नसच्याएसम्म एमसीसी संसदबाट पारित हुन नसक्ने अडान राखेका छन् । ‘नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवम् राष्ट्रिय हित विपरीतका प्रावधान नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार्न सक्दैन’, उनले भनेका छन्, ‘यसलाई यही अवस्थामा संसदबाट पारित गर्न पनि सकिन्न । यो नै हाम्रो पार्टीको आधिकारिक निर्णय र धारणा हो । त्यसैले कुनै भ्रममा नपरौं र भ्रामक प्रचार नगरौं ।’

यसैबीच अध्यक्ष प्रचण्डले पनि बिहीबार आफ्नो निवासमा देउसी खेल्न आएका कलाकार र पत्रकारको टोलीलाई एमसीसी पास गर्ने सहमतिसहित अमेरिकालाई चिठी नपठाएको स्पष्टीकरण दिएका थिए । ‘शेरबहादुरजीले हामीले सहमति जनाएर चिठी पठाइसक्यौं भनिदिनु भएछ, त्यसले तरङ्ग पैदा भएछ । साथीहरुलाई जवाफ दिनुपरेको छ’, उनले भने, ‘तर पछि शेरबहादुरजीले मैले त्यस्तो कहाँ भनेको छु र ? भन्नु भयो । हामीले त्यस्तो चिठी पठाएका छैनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७