राष्ट्रपति चयनका लागि मतदान हुँदै


२९ फाल्गुन २०७४, मंगलवार
bidya devi bhandari and Laxmi rai

काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान सूरु भएको छ । मंगलबार बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।bidya devi bhandari and Laxmi rai
पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गरे । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।

मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गरे । राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् ।  वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई  दुवै भोजपुरका हुन्। कुनैबेला दुबै भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विद्यार्थी थिए । गणतन्त्र नेपालले डा रामवरण यादव र भण्डारीलाई राष्ट्रपतिका रुपमा पाइसकेको छ ।

याे पनि पढ्नुहाेस्
एउटै विद्यालय पढेका भोजपुरका दुई चेलीबीच राष्ट्रपतिमा प्रतिस्पर्धा

 

निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता हुन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ । ८८० जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ। राष्ट्रपतिमा बहुमतसहित निर्वा्चित हुन २६ हजार २ सय ५१ मतभार आवश्यक पर्छ ।

आयोगले मतदातालाई आफू सदस्यमा निर्वा्चित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ ।

चार मतदानबाट बन्चित
राष्ट्रियसभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राई तथा प्रदेशतर्फका सांसद दीपक मनांगे गरी चार जना मतदाता सूचीमा नभएका र रेशम चौधरी मतदानमा सहभागी हुन नपाउने भएकाले कुल ८८४ जना मतदातामध्ये ८७९ जना मात्रै सहभागी हुन लागेका हुन्। राष्ट्रपतिका लागि एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट लक्ष्मी राई प्रतिस्पर्धामा छन् ।

नयाँशक्ति र विवेकशील साझाले राष्ट्रपतिमा भोट नहाल्ने
नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टीले राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएका छन् । नयाँ शक्तिले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष निर्वा्चित राष्ट्रपतीय प्रणालीको पक्षमा निरन्तर पैरवी गर्दै आएको पार्टी भएकाले राष्ट्रपतिमा भोट नहाल्ने बताएको छ ।
त्यस्तै प्रदेश सभाका तीन सदस्य मतदाता रहेको विवेकशील साझा पार्टीले पनि राष्ट्रपतिमा कसैलाई भोट नहाल्ने निर्णय गरेको छ । विवेकशील साझाले अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारहरुलाई हेर्दा जो सुकै विजयी भए पनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएकाले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७