रौतहट पुगेका प्रचण्डको प्रभु साहप्रति कटाक्ष : यो भगौडा र कायरको जिल्ला होइन

‘मधेशको प्रेमिका माओवादी केन्द्र नै हो’


४ मंसिर २०७८, शनिबार
prachanda 20211120100325

रौतहट, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रौतहट जिल्ला आत्मसमर्पणकर्ता, कायरहरु, प्रतिक्रान्तिकारी भगौडाहरुको जिल्ला नभएको बताए । पार्टीको आज भइरहेको देशव्यापी वडा सम्मेलनको शिलशिलामा रौतहट पुगेका उनले भने, ‘रौतहट क्रान्तिकारीहरुको लाल जिल्ला हो । केहि दलालहरुले आत्मसमर्पण गर्दैमा केहि फरक पर्दैन ।’

अध्यक्ष प्रचण्डको कटाक्ष रौतहट नै घर भएका माओवादी छाडेर नेकपा एमालेतिर गएका प्रभू साहप्रति लक्षित रहेको सहजै बुझ्न सकिन्थ्यो । उनले माओवादीले संघीयता छोड्यो भनेर भ्रम चलाइएको भन्दै भ्रममा नपर्न आग्रह गरे । अध्यक्ष ‘प्रचण्ड’ ले केपी ओलीकै कारण संविधान संशोधन प्रस्ताव पारित गर्न नसकेको आरोप लगाए । प्रचण्डले केपी ओलीकै कारण आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव सदर हुन नसकेको बताएका हुन् ।

प्रचण्डले मधेसी जनताको अधिकार रक्षाका लागि माओवादी केन्द्र सदैब तल्लीन रहेको बताए । ‘संघर्ष र बलिदानबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । यो संविधान अझै पर्याप्त छैन । संविधान संशोधन गर्दै अघि बढ्ने भनेका थियौं । मधेस, जनजाति, मुस्लिमहरुको अधिकार संस्थागतका लागि म प्रधानमन्त्री हुँदा मैले संविधान संशोधन प्रस्ताव पनि राखेको थिए ।’ प्रचण्डले भने, ‘तर सदर गर्न दिइएन । केपी ओली भन्ने खलनायकका कारण मैले संविधान संशोधन गर्न सकिनँ ।’

फिल्मको हिरो र भिलेनको प्रसङ्ग जोड्दै उनले भने, ‘हिरो र भिलेन छुट्याउन सकेपछि थाहा हुन्छ । प्रचण्ड मधेशको पनि हिरो हो, तपाईंहरुको प्रेमिका माओवादी केन्द्र नै हो । अब दूधको दूध पानीको पानी भएको छ, सत्य के हो असत्य के हो छ्याङ्ग भएको छ ।’ मधेशको अधिकारका कुरा गर्ने महन्थ ठाकुर र राजेन्द्र महतो केपी ओलीको टाङमुनी छिरेको पनि अध्यक्ष प्रचण्डले आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७