माओवादी नेता पुनको स्वास्थ्य गम्भीर, थप उपचारका लागि चीन लगियो


१० मंसिर २०७८, शुक्रबार
Barshaman Pun

काठमाडौं, १० मंसिर । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको छ ।

विश्मै विरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्व अर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन उडेका छन् । उनीहरु आजै मध्यान्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाईले जानकारी दिए ।

समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले समेत अब यहाँभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए । काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईंले बताए ।

कोरोनाको संक्रमणको त्रास र आवतजावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरेका थिए । वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यसअघि ग्रान्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको सल्लाहमा बैंकक गएका हुन् ।

यसअघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो । उनी नेपालका ग्रान्डी लगायतका अस्पताल र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा निको नभएपछि बैंकक गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७