भाजपा नेताले भेटे प्रधानमन्त्री देउवालाई, कांग्रेस महाधिवेशनबारे चासो


१० मंसिर २०७८, शुक्रबार
bhajapa deuba1 qLYhis8Wgr

काठमाडौं, १० मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेताद्वय हर्षवर्धन र हरि द्विवेदीले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

एमाले महाधिवेशनमा भाग लिन नेपाल आएका भारतको सत्तारुढ दलका नेताले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भारतीय जनता पार्टीका नेताले कांग्रेसको आगामी राष्ट्रिय महाधिवेशनबारे चासो राखेका थिए । यही मंसिर २४ देखि २६ सम्म कांग्रेसको १४औँ महाधिवेशन आयोजना हुँदैछ ।

भेटमा कांग्रेस सहमहामन्त्री डा. प्रकाश शरण महतले कांग्रेस महाधिवेशनको तयारी र प्रक्रियाबारे जानकारी गराएका थिए । ‘उहाँहरुले हाम्रो पार्टीको महाधिवेशनबारे चासो राख्नु भएको थियो । मैले महाधिवेशनका प्रक्रियाबारे विस्तृतमा अवगत गराएँ’, महतले भने ।
भेटमा प्रधानमन्त्री देउवाले नेपाल—भारत सम्बन्ध सधैँ सुमधुर र सद्भावपूर्ण रहिआएको बताउँदै अबका दिनमा सम्बन्ध अझै सुदृढ हुने विश्वास ब्यक्त गरेका थिए । देउवाले सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुलाई स्वागत गर्दै दुई पार्टी र देशबीच द्विपक्षीय भ्रमण निरन्तर हुनुपर्ने बताएका थिए ।

सभापति देउवाले महाधिवेशनअघि भारतीय जनता पार्टीसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका छन्। उनले स्कटल्याण्डको ग्लास्गोमा अघिल्लो महिना आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको दौरानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेका थिए ।

दशैँअघि देउवाले सहमहामन्त्री महतको नेतृत्वमा पार्टीको एक टोली भारत पठाएर भाजपासँग सम्बन्ध विस्तारको पहल लिएका थिए । बिहीबार साँझ भएको भेटमा देउवाले आफू एमाले महाधिवेशनमा सहभागी हुन चितवन जाने बताइरहँदा भारतीय जनता पार्टीका नेताले भने ‘नेपालमा अर्को पार्टीको कार्यक्रममा सहभागी हुन जाने चलन रहेछ। तर भारतमा चाहीँ त्यस्तो हुँदैन ।’

भेटवार्तामा नेपाल—भारतबीचको जलविद्युत्, व्यापार र जलवायु परिवर्तन लगायत द्विपक्षिय हितका विषयमा कुराकानी भएको भारतका पूर्व स्वास्थ्यमन्त्री समेत रहेका हर्षवर्धनले ट्विटमा जनाएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बिशेष निमन्त्रणामा एमाले महाधिवेशनमा सहभागी हुन चितवन आएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७