कांग्रेस वागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने


१९ मंसिर २०७८, आईतवार
amdfkmdmg1638622900

हेटौंडा, १९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वाग्मती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो ।

निर्वाचन समितिका अनुसार शनिबार भएको मतदानमा वागमती प्रदेश सभापति पदका उम्मेदवार इन्द्र बानियाँले ९९२ र उनका प्रतिस्पर्धीहरू जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका छन् । अब पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । शनिबार हेटौँडामा भएको मतदानमा कुल दुई हजार १५१ मध्ये दुई हजार ८३ मत खसेको थियो । शनिबारै रातिदेखि मतगणना सुरु गरिएको थियो ।

कांग्रेसको संघीय विधानानुसार शनिबार पहिलो पटक प्रदेश अधिवेशन भएको हो । अधिवेशनबाट पदाधिकारीतर्फ प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित हुनेछन् ।

वागमती प्रदेश सभापतिमा पहिलो चरणमा त्रिपक्षीय भिडन्त भएको हो । संस्थापन, पौडेल र सिटौला तीनवटै समूहले उमेदवार उठाएका हुन् । संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा समूहबाट बानियाँ चुनावी मैदानमा छन् । बानियाँ वाग्मती प्रदेश संसदीय दलका नेता पनि हुन् । उनी यसअघि प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा थियो । उनी पूर्वगृहराज्यमन्त्री पनि हुन् ।

संस्थापन इतर समूहबाट केसी सभापतिका उमेदवार बनेका हुन् । उनी यसअघि दुई कार्यकाल नुवाकोट जिल्ला सभापति बनेका थिए । केसी संविधानसभा सदस्य पनि हुन् । यस्तै, यो प्रदेशमा नेता कृष्णप्रसाद सिटौला समूहबाट उनका विश्वासपात्र भीमसेनदास प्रधान सभापति पदका उमेदवार बनेका हुन् । प्रधान प्रतिनिधिसभा सांसद हुन् । उनी यसअघि रक्षामन्त्री पनि भइसकेका छन् । प्रधानले अब दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउँदैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७