भूपेन्द्र बडुवाल हत्या प्रकरण : १२ जना पक्राउ, २१ लाई जन्म कैदको माग

कपिल समूहसँग बदला लिन खोज्दा दुई घण्टा लखेटेर भुपेन्द्रको हत्या


२० मंसिर २०७८, सोमबार
Bhupendra Case 1 1

कैलाली, २० मंसिर । कैलालीको लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न २१ जनालाई जन्म कैद माग गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका अभियुक्तहरुमा लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।

यस्तै लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले, टीकपुरकै २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोश भन्ने सविनजँग शाहीलाई पनि सार्वजनिक गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । बडुवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना अझै फरार छन् ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, २६ वर्षीय अनुज भन्ने चिरनजीवीजंग शाही, २६ वर्षकै हिमाल शाही, जानकी गाउँपालिका–६ बस्ने वर्ष २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका–१ बस्ने २७ वर्षीय विकास शेरचन, लम्कीचुहा–४ बस्ने २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर नगरपालिका–६ बस्ने अन्दाजी ३५ वर्षीय अशोक रावल, लम्कीचुहा नगरपालिका–३ बस्ने २५ वर्षीय लोकजंग शाही र बर्दियाको गरुवा गाउँपालिकाका २२ वर्षीय हेमन्त शाही फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

उनीहरुमध्ये रावलसहितका केही युवाको हत्यामा संलग्न रहेको र केहीले घटनामा सघाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । एसपी अधिकारीले बडुवालको हत्यामा संलग्न भएको समूह लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा वर्चश्व कायम गर्न अशोकजंग शाही समेतले युवाहरुलाई परिचालन गरेको खुलेको बताए । उनका अनुसार उक्त अपराधिक समूहलाई अभियुक्तमध्येका टीकापुरकै अशोक रावलले सरक्षण गरेको पाइएको छ ।

जयन्द्र शाह र नवीन रावलको समूहमा आपसी मनमुटाव भएर झगडा हुन थालेपछि हत्या प्रकरणसम्म पुगेको देखिएको छ । सोही कारण योजनाबद्ध रुपमा गत कात्तिक २३ गते धारिलो हतियार प्रहार गरेर बडुवालको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । सुरुमा एकै समूहमा रहेका जयन्द्र शाह र नवीन रावलबीच पछि मनमुटाव तथा आपसी वैमनश्यता उत्पन्न भए पछि दुई समूहका युवाहरु बीच पटक पटक झगडा हुन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यी समूहका सदस्यहरुविरुद्धमा कैलाली र काठमाडौंमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको पाइएको छ । ०७८ भाद्र महिनामा काठमाडौंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नवीन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाई ०७८ कात्तिक १७ गते काठमाडौंबाट मोटरसाइकलमा गएको र २० गते कैलाली लम्की पुगी मुनमुन होटलमा एक रात बसेको पाइएको छ ।

२१ र २२ गते बौनियास्थित अनुकूल होटलमा बसी नवीन रावललाई आक्रमण गर्ने योजना बनाएको पाइएको छ । कात्तिक २३ गते नवीन रावल समेतको समूह लम्कीमा आयोजित फुटबल खेल हेर्न आएको थाहा पाएपछि कपिल श्रेष्ठले आफ्ना समूहलाई खबर गरी लम्की खेल मैदानमै आक्रमण गर्न खोजेको भए पनि उनको समूह समयमै लम्की पुग्न नसकेका कारण सो ठाँउमा आक्रमण गर्न नसकेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

मदन शाहीले त्यहाँबाट पहिले नै लम्की विद्युत कार्यालय नजिकको बाटोबाट टीकापुर हिँडेका नवीन रावल समेतलाई भेटी जयन्द्रको समूह हातहतियारसहित आक्रमणको तयारीमा रहेको जानकारी दिएपछि नवीन रावलले आफ्ना समूहका आर्यान, हिमाल, हेमन्त, मदन, चिरञ्जीवी, रोशन, निशान्त, धिरज, रोहित, सोहन, विकास शेरचनलाई रोड साइड क्याफेमा जम्मा गरी जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला पारे पनि आक्रमण गर्ने योजना बनाएको पाइएको छ ।

कपिल श्रेष्ठ एक्लिएपछि नयाँ टीकापुर क्षेत्रमा लुकी बसेको र त्यहाँबाट लम्कीमा रहेका मिल्ने साथी बडुवाललाई फोन गरी आफूलाई लिन बोलाएपछि भूपेन्द्र उनलाई लिन गएको देखिएको छ । नवीन रावलको समूह जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न हातहतियारसहित खोजीमा हिँडेको र उक्त समूहमा सबैभन्दा अगाडि सो ठाउँका स्थानीय रोहित आलेसँग आर्यन देवकोटा पहिला स्कुटीमा, उनको पछाडि अर्को स्कुटीमा चिरञ्जीवी शाही र रोशन शाही र निजहरु भन्दा पछाडि नवीन रावल समेत निस्किएको देखिएको छ ।

टीकापुरको जमरा पुल नजिक आर्यन देवकोटा समेतले भूपेन्द्र बडुवाललाई फेला पारी हामीविरुद्ध टीकापुरमा आएको हो भन्दै २ किलोमिटरसम्म लखेटेर सिद्धार्थ होटल नजिक पुर्‍याएको खुलेको छ । मोटरसाइकलमा रहेका भूपेन्द्र मोटरसाइकल छाडेर आफन्तको घरतर्फ जाँदा पछाडिबाट लखेटी आर्यन देवकोटा, चिरञ्जीवी शाही, रोशन शाही र रोहित आले समेतले कौशीदेवी विष्टको घरको पेटीमा नै भूपेन्द्र बडुवाललाई नियन्त्रणमा लिई पेट र छातीमा दुई पटक, पिठ्युमा ३ पटक र टाउकोको पछाडि भागमा एक पटक धारिलो हतियार प्रहार गरेको देखिएको छ । हत्यामा संलग्न प्रतिवादीहरु नजिकै रहेको विष्ट आयल स्टोर नजिक पुगी भाग्ने योजनाअनुसार खुकुरी सोही स्थानमा फालेको र रोहित आलेलाई आफ्नो घर पठाएको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७