एमाले स्थायी कमिटीमा पर्न दौडधुपमा नेताहरु, कुन प्रदेशबाट को-को आकांक्षी ?


२० मंसिर २०७८, सोमबार
CPN UML New Office

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीमा पर्नका लागि आकांक्षीहरुले दौडधुप सुरु गरेका छन् । एमालेको संगठन संरचना अनुसार पदाधिकारीपछि शक्तिशाली र कार्यकारी मानिने स्थायी कमिटी गठनको तयारी सुरु भएपछि नेताहरुले दौडधुप सुरु गरेका छन् ।

नेकपा (एमाले)को परिवर्तित विधान अनुसार एमालेमा ४५ सदस्यीय स्थायी कमिटी छ । त्यस मध्ये १९ सदस्यीय पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य हुन्छन् । अब २६ जना नेतालाई एमालेले स्थायी कमिटीमा लैजानुपर्नेछ ।

दशौं राष्ट्रिय महाधिवेशनमा पद पदाधिकारीमा उम्मेदवारी घोषणा गरेर नपरेका नेताहरु स्थायी कमिटी सदस्य बन्नका लागि लबिङ्गमा लागेका छन् । आकांक्षीहरुले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर स्थायी कमिटीमा पार्नका लागि अनुरोध गरिरहेका छन् ।

अघिल्लो स्थायी कमिटीमा रहेकाहरुलाई समेटेर लैजाने योजनामा अध्यक्ष केपी शर्मा ओली रहेको बालकोट स्रोतको भनाई छ । दसौं महाधिवेशनअघि घनश्याम भुसाल, भीम आचार्य, किरण गुरुङ, रघुजी पन्त र मणि थापा स्थायी कमिटी सदस्य थिए । अघिल्लो स्थायी कमिटीमा रहेका नेताहरु सबै समेटिनेको स्रोतको दाबी छ ।

दशौं महाधिवेशनमा अध्यक्षमा पराजित भएका पूर्वउपाध्यक्ष भीम रावलको भने अनिश्चित छ । स्थायी कमिटीमा जान पहिला केन्द्रीय सदस्य बन्नुपर्ने हुन्छ । तर रावलले केन्द्रीय सदस्य बन्न नै अस्वीकार गरेका छन् ।

स्थायी कमिटिमा प्रदेश नम्बर एकबाट शेरधन राई, परशुमेघी गुरुङ, भानुभक्त ढकाल, गुरु बराल, अग्नी खरेल, हिक्मत कार्की, युवराज कार्की लगायतका नेताहरु आकांक्षी छन् । प्रदेश नम्बर दुईबाट प्रभु साहको लगभग सुनिश्चित जस्तै रहेको बताइन्छ ।

बागमती प्रदेशबाट नम्बर तीनबाट शेरबहादुर तामाङ, राजन भट्टराई, अरुण नेपाल, काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, गोकुल बाँस्कोटा, आनन्द पोखरेल लगायत आकांक्षी छन् । गण्डकीबाट यसअघि स्थायी कमिटी सदस्य रहेका किरण गुरुङ पर्ने लगभग निश्चित छ । जगत विक आकांक्षी छन् ।

लुम्बीनि प्रदेशबाट ठाकुर गैरे, वैजनाथ चौधरी, खिमलाल भट्टराई, गोकुल घर्ती लगायत नेताहरुले रुची देखाएका छन् । यसैगरी कर्णालीबाट गोरख बोगटी, यमलाल कडेँल, वैजनाथ चौधरी लगायत आकांक्षी छन् । सूदुरपश्चिमबाट कर्ण थापाको दाबेदारी बलियो छ ।

महिलाबाट यसअघि पोलिटब्युरो सदस्य रहेका विन्दा पाण्डे, थममाया थापा, श्रीमाया थकाली स्थायी कमिटी सदस्यका लागि बलियो आकांक्षी हुन् । टुका हमाल, डा. शिवमाया तुम्बाहाङ्फे, सीता पौडेललगायत नेता पनि स्थायी कमिटीका आकांक्षी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७