बैसाखदेखि गाडीमा हरियो स्टिकर अनिवार्य, नियम मिचिए कार्वाही


१ चैत्र २०७४, बिहीबार
kathmandu traffic congestion at its peak2096

काठमाडौं, १ चैत : यातायात व्यवस्था विभागले आउँदो बैशाख महिनादेखि काठमाडौं उपत्यकासहित देशभरका महानगरपालिका र उपमहानगरपालिकामा गाडीमा हरियो स्टिकर अनिवार्य गर्ने भएको छ । काठमाडौ उपत्यकामा भने सबै स्थानीय तहमा वैशाखबाट हरियो स्टिकर अनिवार्य गरिने विभागले जनाएको छ ।kathmandu traffic congestion at its peak2096

गाडीको प्रदुषण जाँच गर्न २० ठाउँ तोकिएको छ । नियम अनुसार निजी सवारी साधनले बर्षको एक पटक र सार्वजनिक सवारी साधनहरुले ६–६ महिनामा सवारीसाधन जाँचपास गराएर हरियो स्टिकर लिनुपर्छ । यो नियमलाई कार्यान्वयनमा ल्याउनका लागि विभागले वैशाखबाट शहरी क्षेत्रमा अनिवार्य गर्न लागेको हो । यसअघि विभागले त्रिभुवन विमानस्थल, न्युरोड, ठमेल, दरबारमार्ग, सिंहदरबार आसपासका क्षेत्रहरुमा हरियो स्टिकर अनिवार्य गरेको थियो । तर सवारीसाधन जाँच्ने मेशिन पर्याप्त नहुँदा यो योजना कार्यान्वयन हुन सकेको थिएन ।

विभागसँग अहिले तीन वटा मात्रै प्रदुषण जाँच गर्ने मेशिन छन् । बैशाखबाट शहरी क्षेत्रमा अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउन लागि विभागले ४० वटा मेशिन खरिदका लागि टेण्डर गरिसकेको जनाएको छ । चैत्र दोस्रो सातासम्म मेशिनहरु आइपुग्ने महानिर्देशक भट्टराईले जानकारी दिए । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बैशाखबाट प्रदुषण जाँचपास गरी हरियो स्टिकर नलिएका सवारी साधनलाई सञ्चालनमा रोक लगाइने बताए । उनले भने, ’वैशाखबाट उपत्यका तथा देशभरका महानगरपालिका र उपमहानगरपालिका प्रवेश गर्ने सवारीसाधनले अनिवार्य रुपमा हरियो स्टिकर लिनुपर्छ, नलिएका सवारीसाधनलाई सञ्चालन गर्न दिन्नौं ।’

सवारीसाधनमा धुँवाको मात्रा हजार पिपिएम र कार्वनमोनोअक्साईडको मात्रा तीन प्रतिशत हुनुपर्ने मापदण्ड रहेको छ । दुईपाङग्रे सवारीसाधनमा भने अहिलेसम्म प्रदुषण जाँचपास गर्ने कुनै व्यवस्था नभएको विभागको भनाई छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० (३) बमोजिम सवारी प्रदुषण मापदण्ड फेल हुने सवारीसाधनलाई दुई सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । सोहि दफाले रातो स्टिकर दिन सक्ने उल्लेख गरेको छ ।

विभागले प्रदुषण जाँच गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन सकेको छैन । कानुनत प्रदुषण जाँच फेल भएका सवारीसाधनलाई रातो स्टिकर दिनुपर्ने भए पनि यस्तो हुन सकेको छैन । रातो स्टिकर पाएका सवारीसाधनलाई मर्मत गर्ने ठाउँ (वर्कसप) सम्म मात्रै सञ्चालनको अनुमति हुन्छ । तर, विभागले प्रदुषण जाँच फेल भएका सवारीसाधनलाई सामान्य जरिवाना गरेर मर्मत गर्ने निर्देशन दिँदै छोड्ने गरेको छ । विभागका अनुसार उत्यकाभित्र समेत ठूलो संख्यामा प्रदुषण फेल भएका सवारीसाधनहरु गुडिरहेका छन् ।

विभागका अनुसार डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन जाँच्नका लागि छुट्टा छुट्टै मेशिन आवश्यक पर्छ । पेट्रोलबाट चल्ने सवारीसाधनले फ्याँक्ने धुँवाको मात्रा ‘ग्यास एनालाइजर’ मार्फत नापिन्छ भने डिजेलबाट चल्ने सवारीसाधनले फ्याक्ने धुवा ‘डिजेल स्मोक मिटर’ मार्फत नापिन्छ । विभागले यस्ता दुबै गरी ४० वटा मेशिन खरिद गर्न लागेको जनाएको छ ।

कार्यविधि संशोधन

सवारीसाधनको प्रदुषण जाँच गर्ने क्रममा फेल भएपनि कर्मचारीले गाडीधनीसंग पैसा लिने र हरियो स्टिकर दिने गरेको पाइएपछि विभागले हरियो स्टिकर दिने कार्यविधि संशोधन गरेको छ । अहिले विभागले हरियो स्टिकरमा सिलसिलाबद्ध (क्रमागत) नम्बर राखेको छ । पहिलो यस्तो क्रमसङ्ख्या थिएन। त्यस्तै प्रदुषण जाँचपासपछि दिईने हरियो स्टिकरमा सम्बन्धित यातायात कार्यालय र कर्मचारी नाम समेत रहने व्यवस्था गरिएको छ ।

प्रदुषण जाँचपास दिएको तीन महिनाभित्र विभागले पुन सडकमै सवारी साधनको प्रदुषण जाँच गर्छ। यसरी जाँच गर्दा फेल भएकालाई स्टिकर दिएको पाइयो भने सम्बन्धित कर्मचारीलाई कारबाही गर्न सक्ने गरी कार्यविधि संशोधन गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए । निर्माणजन्य सामाग्रीहरुमा भने यो नियम लागू नहुने विभागका महामनिर्देशक भट्टराईले जानकारी दिए । यस्ता निर्माण सामाग्रीहरु डोजर,लोडर, क्रेन लगायत १३५ वटाले प्रदुषण जाँचपास गराउनु पर्दैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७