एमसीसीलाई गहिराइमा बुझेर मात्र लागू गर्नुपर्छ : माधव नेपाल


९ पुष २०७८, शुक्रबार
madhav kumar

सल्यान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीलाई गहिरोसँग अध्ययन गरी बुझेर मात्रै लागू गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका छन् ।

पार्टीको कार्यकर्ता भेलामा सल्यान पुगेका अध्यक्ष नेपालले पत्रकार भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्ने नत्र नगर्ने जनाएका छन् । ‘एमसीसी सम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं’ उनले भने, ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निःस्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं ।’

यस्तै एमसीसी पारित गर्ने अधिकार जनतालाई दिनुपर्ने पनि उनले बताएका छन् । एमसीसी लागु गर्नका लागि उल्लेख गरिएका कुरा परिमार्जनको माग राख्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको र अध्ययन नै नगरी पास गर्न खोजेको उनले आरोप लगाए ।
‘एमसीसी नेपाल र नेपाली जनताको कति हितमा भन्ने कुराको अध्ययनन गर्न आवश्यक छ । यदि ठीक छ भने ठीक छ । छैन भने छैन भनेर सत्ता पक्षधरले भन्न सक्नुपर्छ । सबैलाई अल्मलाइरहनु हुँदैन,’ उनले भने ।

नेता नेपालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अध्ययन नगरी पहिला नै एमसीसी पास गर्न खोजेको आरोप लगाएका छन् । ’केपी शर्मा ओलीले अहिले पनि विभिन्न दाउपेच खेली तीन दलीय गठबन्धन टुटाउन खोजेका छन्,’ उनले भने । तर दाउपेच गरेर गठबन्धन टुटाउन खोजेकाले सबैलाई सतर्क रहन उनले आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७