एमसीसी हाउसमा लैजान साइत हेरिरहनु पर्दैन : गृहमन्त्री खाँण


१० पुष २०७८, शनिबार
Balkrishna khad 1

गोरखा । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले मिलेलियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्न साइत हेरिरहनु नपर्ने बताएका छन् । सरकारमा रहेका दलहरुसँग छलफल गरी कुनै पनि बेला संसदमा लैजाने उनले बताए ।

‘एमसीसी हाउसमा लैजान साइत हेरिरहनु पर्दैन’, गोरखाका पत्रकारसँगको भेटमा गृहमन्त्री खाँणले भने, ‘सदनबाट पास गर्ने प्रावधान नेपाल सरकारले नै राखेको हो त्यसैले यो पास हुनुपर्छ र टुंगो लाग्नुपर्छ । हिजो एमसीसी भित्र्याउने बेला पनि अहिलेको गठबन्धनका दलहरु सबै थियौं । अहिले पनि हामी सबै छौं ।’ अनुमोदनका विषयमा गठबन्धनभित्रै समझदारी बन्न नसकेमा के गर्ने भन्ने विषय छलफलमै रहेको तर टुंगो लागिनसकेको उनले बताए ।

एमसीसी नेपालले प्रस्ताव गरी अमेरिकी सरकारले स्वीकृत गरेको विकास परियोजना भएकाले यसमा विवाद गर्न नहुने गृहमन्त्री खाँणको तर्क छ । ‘एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना हो त्यसैले हामी सबै यसमा सकारात्मक रहनुपर्दछ’, उनले भने, ‘विद्युत ट्रान्समिसन निर्माण, सडक निर्माण, गरिबी निवारण र रोजगारीका लागि यो परियोजना नेपाल सरकारले प्रस्ताव गरेको र अमेरिकाले स्वीकृत गरेको मात्र हो । यो कुनै सैन्य गठबन्धन होइन ।’

अमेरिकी नागरिकको करबाट प्राप्त अनुदानको सही सदुपयोग होओस् भनेर अमेरिकाले गरेको चासो र चिन्तालाई अन्यथा अर्थ लगाउन नहुने उनको दाबी छ । श्रृङ्खलावद्ध निर्वाचन गर्न आयोग तयार रहेमा समुचित प्रवन्ध गर्न सरकार तयार रहेको उनले बताए । ‘स्थानीय तह र आमनिर्वाचनका लागि पनि चर्चा चलिरहेको छ तर निर्क्यौल निक्लिएको छैन । निर्वाचन आयोगले भनेको जसरी नै निर्वाचनको तयारी र पूर्वतयारी गर्न सरकार तयार छ ।’ निर्वाचन आयोगले प्रस्ताव गरेअनुसार व्यवस्थापन गर्न र सुरक्षा प्रदान गर्न सरकार सक्षम रहेको उनले बताए ।

शनिबार गोरखा आएका गृहमन्त्री खाँडले गोरखा उद्योग वाणिज्य संघको सोह्रौं अधिवेशनको उद्घाटन गरेका छन् । यसअघि नेपाली कांग्रेसका अगुवा कार्यकर्तासँग अन्तरक्रिया समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७