चिसो अझै बढ्ने, सतर्कता अपनाउन आग्रह


१० पुष २०७८, शनिबार
snowfall 2

काठमाडौं । पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसो पख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औंल्याएका छन् ।

गत एक सातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महसुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणमा एक साताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्री र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो । आज काठमाडौँको न्यूनतम चार दशमलव चार र अधिकतम १८ डिग्री सेल्सियस रहेको छ ।

अबका दिनमा मौसम फेरबदल भइरहने छ । अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् शान्ति कँडेलले बताइन् । ‘अबका दिनमा मौसम फेरबदल भइरहन्छ, हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ’, उनले भनिन्, ‘अधिकतम तापक्रम एक/दुई डिग्री सेल्सियस बढे पनि न्यूनतम तापक्रम घट्ने र बदलीसँगै घाम कमजोर हुने हुनाले चिसो क्रमशः बढ्ने देखिन्छ, तापक्रम माइनस पुग्छ पुग्दैन अहिले भनिहाल्ने अवस्था छैन ।’ अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद् कँडेलको भनाइ छ ।

उनका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उच्च पहाडी भेगमा हल्का हिमपात र एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ। महाशाखाको विवरणमा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले तराईका भू-भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा/सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७