तत्काल कुनै ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन : माधव नेपाल


१० पुष २०७८, शनिबार
Madhav Nepal 3

दाङ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल ठूला पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन् ।दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘तत्काल कुनै पनि ठूला कम्युनिस्ट पार्टीसँग एकताको सम्भावना छैन ।’

शनिबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका थिए ।

पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँग प्रचण्डले भनेका थिए, ‘माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउने बारे पनि छलफलहरु चलिरहेका छन् ।’

उनले वामपन्थी पार्टीसँग एकता हुन लागेको बताए । उनले भने, ‘तर साना केही दलहरूसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दै छौँ ।’

नेपालले पाँचदलीय गठबन्धन सबै तहको निर्वाचनसम्म कायम रहने पनि बताए। ‘हामी पाँचदलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौँ,’ उनले भने, ‘स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।’

उनले एमसीसी हुबहु पारित गर्न नहुनेसमेत बताए । ‘हामी कुनै पनि यस्ता कुरालाई स्वीकार गर्न सक्दैनौँ । देशको स्वाभिमानमा आँच पुगोस्, जसले नेपालको आन्तरिक मामिलामा अरूले हस्तक्षेप गर्ने ढोको खोलोस्, छिमेकीलाई सशङ्कित बनाओस्, अरूको सैन्य गठबन्धनमा बाँध्ने स्थिति बनोस्’, उनले भने, ‘हामी स्वतन्त्र ढङ्गले बाँच्न चाहन्छौँ ।’

उनले एमाले जनताको नभएर केपी शर्मा ओलीको निजी पार्टी बन्न पुगेको बताए । पार्टीभित्र ओलीको व्यक्तिवादी प्रवृत्ति देखा परेका कारण आफूहरु पार्टीबाट अलगिएको नेता नेपालको भनाइ छ ।

‘एमालेमा ओलीको व्यक्तिवादी प्रवृत्ति बढेपछि हामीले विद्रोह गर्‍यौं’, उनले भने, ‘ओलीले एमालेलाई व्यक्तिको पार्टी बनाउन खोजेपछि संघर्ष स्वरुप नयाँ पार्टी निर्माण गर्‍यौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७