माओवादी केन्द्र महाधिवेशनः कमजोरीको आत्मसमीक्षा गर्छौं : प्रचण्ड


१२ पुष २०७८, सोमबार
prachanda 4

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । सुरुमा प्रथम राष्ट्रिय सम्मेलन गर्ने जनाएको उक्त दलले शनिबार बेलुका एकाएक राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा परिणत गर्ने निणर्य गरेको थियो ।

आइतबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेसँगै राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएको हो । पाँच दिनसम्म राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा सञ्चालन हुने महाधिवेशनमा सोमबार बन्दसत्र सुरु हुनेछ । १० वर्षे सशस्त्र द्वन्द्वपश्चात् शान्तिपूणर् राजनीतिमा प्रवेश गरेसँगै २०६४ मा भएको संविधानसभाको निर्वाचनबाट सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको माओवादी पछिल्लो समय आकारको हिसाबले खुम्चिँदै गएको छ । मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउनेदेखि संघीयता,समानुपातिक समावेशिता, धर्मनिरपेक्षता जस्ता परिवर्तनको वाहक बनेको माओवादी परिवर्तनका अजेन्डा स्थापित गर्न सफल भए पनि राजनीतिक शक्तिका हिसाबले भने कमजोर हुँदै गएको छ ।

हाल जारी आठौं महाधिवेशनमा माओवादी केन्द्र कमजोर हुनुका तिनै कारण खोतलिने भएको छ । आइतबार काठमाडौंमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनमार्फत व्यक्तिगत रूपमा आफू र पार्टी कमजोर हुनुको कारणबारे आत्मसमीक्षा गर्ने बताए । ‘शान्ति प्रक्रियामा आएपछि हामी कहाँ चुक्यौं ? महाधिवेशनमार्फत त्यसको आत्मसमीक्षा गर्छौं,’ दाहालले भने ।

दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा पनि सबैभन्दा बढी आफ्नै आत्मआलोचना गरेको बताए । ‘माओवादी बिग्रनुको कारण हामी आफैं हौं त्यसैले प्रतिवेदनमा पनि त्यसको चिरफार गरेको छु’, दाहालले भने । महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन चाहनेहरूलाई उत्प्रेरणा प्रदान गर्ने दाहालको विश्वास छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७