अनलाइन राजस्व भुक्तानीले भन्सार जाँचपासमा सकस


१८ पुष २०७८, आईतवार
Clipboard01 hiagN36pD9

वीरगञ्ज । भन्सार विभागले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा परीक्षणका रूपमा लागू गरेको अनलाइनबाटै राजस्व तिर्ने प्रक्रियाको कार्यान्वयनमा समस्या देखिएको छ । सेवा प्रदायकको प्रणालीगत सीमितताका कारण भुक्तानीमा झन्झट थपिएको र भन्सार जाँचपासमा ढिलाइ भएको आयातकर्ताले बताएका छन् । २० लाख रुपैयाँभन्दा बढी राजस्व तिर्नुपर्ने सेवाग्राहीलाई समस्या परेको हो ।

भन्सार जाँचपासलाई छरितो थप छरितो बनाउन पहिलोपटक सुक्खा बन्दरगाह भन्सारमा लागू गरिएको प्रणालीका सुधारको खाँचो रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।

भन्सार विभागका अधिकारी र परामर्शदातालाई यसका समस्या र समाधानका उपायबारे जानकारी गराइएको पनि उपाध्यक्ष राजपालले जानकारी दिए । यो प्रणालीमार्फत प्रयोगकर्ताले नेपाल क्लियरिड हाउसको कनेक्ट आईपीएस, मोबाइल एप, कर्पोरेट पे, एनएचसीएल बैंक सेन्टर र एलएचसीएलमार्फत राजस्व भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

व्यवसायीका अनुसार यो प्रणालीअन्तर्गत कर्पोरेट पेमार्फत भुक्तानी गर्दा बढी समस्या देखिएको छ । २० लाख रुपैयाँभन्दा बढी राजस्व भुक्तानीका लागि यो प्रणाली प्रयोग गर्नुपर्ने हुन्छ । १ तिहाइभन्दा बढी कन्साइन्मेन्टमा राजस्वको यो सीमा लागू हुने आयातकर्ता बताउँछन् ।

कर्पोरेट पेमार्फत दिउँसो २ बजेभन्दा पछाडिको भुक्तानी भोलिपल्ट मात्रै भन्सारको खातामा जाने भएपछि भन्सारमा एक दिन बढी समय लाग्ने गरेको राजपालले बताए । अन्य माध्यमबाट २० लाख रुपैयाँभन्दा बढीको भुक्तानी गर्न नमिल्ने र एकैपटक गर्नुपर्ने भएकाले मालसामानको जाँचपासमा बढी समय लागेको र यसबाट लागत बढ्न जाने व्यवसायीको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७