दिक्क हुँदै पौडेलले भने, ‘कांग्रेसलाई रुपान्तरण गर्न सकिनँ’


१८ पुष २०७८, आईतवार
Ramchandra Poudel

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को शनिबार खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताएका हुन् ।

‘पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास गर्‍यौं तर केही साथीहरूका व्यक्तिगत आकांक्षाका कारण पूरा हुन सकेन,’ पौडेलले भने । वरिष्ठ नेता पौडेलले १४औं महाधिवेशनले आफूले उठाएका रुपान्तरणको प्रश्नको उत्तर दिनुपर्ने बताए ।

‘सबै साथीहरू उठ्छौं भनेपछि म प्रतिस्पर्धाबाट अलग रहेँ, उहाँहरूकै अनुरोधमा म प्रतिस्पर्धामा गइनँ,’ उनले भने, ‘१४औं महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर दिएको छैन ।’ वरिष्ठ नेता पौडेलले पार्टीमा जनताको आकर्षण बढाउन लाग्नुपर्नेमा सुझाव दिए । कांग्रेस जनताको बीचमा अपमानित भएको गुनासो गर्दै उनले पार्टीलाई सम्मानित बनाउनु आजको आवश्यकता रहेको बताए । देशको संसद्ले गति लिन नसकेको बताउँदै उनले जनताको जल्दाबल्दा समस्यामा सदनमा छलफल हुन नसकेको धारणा राखे । सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्नेमा पौडेलले जोड दिए ।

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसी पारित गर्नुपर्ने बताए । पौडेलले एमसीसी राष्ट्रघाती भएको भन्दै भ्रममा पार्न खोजिएको जिकिर गरे । कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले पदस्थापन गरेका हुन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७