२० वर्षमा हात्तीको आक्रमणबाट २७४ जनाको ज्यान गयो


२० पुष २०७८, मंगलवार
elephant 1
सांकेतिक तस्वीर

चितवन । २० वर्षयताको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट २७४ जनाको ज्यान गएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको एक अध्ययनले हात्तीबाट ज्यान गएकाको तथ्याङ्क सार्वजनिक गरेको हो ।

सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन हिजो सार्वजनिक गरेका हुन् । उनले हात्तीको आक्रमणबाट सबैभन्दा बढी झापामा ४१ जनाको ज्यान गएको जानकारी दिए । दोस्रो बर्दियामा ४०, तेस्रो चितवनमा २६ र चौथो सप्तरीमा २३ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् ।

उनका अनुसार पर्सामा २१, बारामा २०, सिरहामा १६, उदयपुरमा १६, सुनसरीमा १५ जनाको ज्यान गएको छ । सिन्धुलीमा नौ, धनुषामा नौ, मोरङमा आठ, रौतहटमा सात, सर्लाहीमा पाँच, कञ्चनपुरमा पाँच, मकवानपुरमा पाँच, इलाममा चार, बाँकेमा दुई, महोत्तरीमा एक र नवलपरासीमा एक जनाको ज्यान गएको छ ।

यसै अवधिमा १३८ जना घाइते भएका, सम्पत्ति नष्ट तीन हजार ७५५ को र बालीनाली छ हजार ६०६ जनाको नष्ट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी जनधनको क्षति झापा, बर्दिया र चितवनमा भएको छ । जङ्गली हात्तीको आक्रमणमा बढी सङ्ख्यामा २५ देखि ६५ वर्ष उमेर समूहका व्यक्ति पर्ने गरेको तथ्याङ्कमा देखाइएको छ ।

हात्तीको आक्रमणमा पर्नेमा यस उमेर समूहका ७५ प्रतिशत रहेका छन् । वन क्षेत्रबाट ५०० मिटर वरिपरि बढी संख्यामा जोखिम रहेको उनले बताए । वन क्षेत्रको ५०० मिटरको क्षेत्रफलमा २० वर्षमा हात्तीको आक्रमणबाट १८३ जनाको ज्यान गएको छ । यसै अवधिमा त्यही दूरीभित्र ९३ जना घाइते भएका छन् । साँझ ४ बजेपछिको समय र रातमा ८ बजेपछि ११ बजेसम्मको समयमा हात्तीले बढी आक्रमण गर्ने गरेको अध्ययनमा उल्लेख छ । अशिक्षित, गरिब तथा विपन्न धेरै प्रभावित हुने गरेका छन् । उनको अध्ययनमा यस्तो वर्गका ८९ प्रतिशत प्रभावित हुने गरेको देखाइएको छ ।

समुदायमा आएको हात्तीलाई भगाउन पटाका पट्काउने, मदिरा खाएर हात्ती लखेट्न जाने जस्ता कार्य गर्दा मानवीय क्षति बढी हुने गरेको उल्लेख छ । वन क्षेत्र नजिक र चुरेको फेदीमा बसोबास गर्ने दलित जनजाति र गरिब समुदाय बढी संख्यामा हात्तीको आक्रमणमा पर्ने गरेको उनले बताए । हात्तीलाई बस्तीमा पसेको अवस्थामा आगो वा राँको बालेर मात्रै सहज हुने अध्ययनमा उल्लेख छ । कच्ची घरमा बढी संख्यामा हात्तीको आक्रमण रहने तथ्याङ्क सार्वजनिक गरिएको छ । ज्यान गुमाउनेमा प्रायजसो वयस्क पुरुष रहेका छन् भने २५ प्रतिशतको हात्ती धपाउन जाँदा आक्रमणमा परेर ज्यान गएको उहाँको भनाइ छ ।

गएको २० वर्षमा निकुञ्ज र त्यस आसपासका क्षेत्रमा १० हजार ७९८ मानव हात्तीबीचको द्वन्द्वका कारण घटना भएको उहाँको अध्ययनले देखाएको छ । सन् २००९ देखि घटना बढ्दै गएको देखिन्छ । अहिले देशभर २ सय २७ हात्ती रहेका छन् । तीमध्ये ३७ वटा हात्ती समस्याग्रस्त रहेको भन्दै उनले तीमध्ये पाँच हात्ती बढी समस्यामा रहेको जानकारी दिए ।

समूहमा बस्न रुचाउने यस जनावर समूहबाट बाहिरिएपछि समस्याग्रस्त हुने गरेका छन् । हात्तीले देशको विभिन्न क्षेत्रमा रहेका ५१ वटा करिडोर प्रयोग गर्ने गरेको र तीमध्ये अहिले ३९ वटा मात्रै करिडोरको प्रयोग हुने गरेको छ ।

बाह्र वटा करिडोरमा हात्तीको आवतजावतका लागि समस्या भएकाले त्यसको प्रयोग कम गर्ने गरेको पाइएको उनले बताए । यसैकारण हात्तीले सहज हिँड्डुल गर्न नपाउँदा बस्ती पसेको उनले जानकारी दिए । नेपालमा आउने हात्ती बढी संख्यामा दुई क्षेत्रबाट आउने गरेका छन् । पश्चिम बङ्गालबाट नेपालको झापामा आउने र पश्चिमतर्फबाट सिरहाको बन्दिपुर हुँदै विभिन्न क्षेत्र पुग्ने गरेको पाइन्छ । जङ्गली हात्तीले चारदेखि १० वटासम्मको समूह बनाएर बसाइँ सर्ने गरेको उहाँको अध्ययनमा देखाएको छ ।

हात्तीले धान पाक्ने समयमा बढी सङ्ख्यामा घटना गराउने गरेको पाइन्छ । भदौदेखि मङ्सिरसम्मको समयमा धेरै घटना हुने गरेको उनले जानकारी दिए । अशोककुमार राम अहिले बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत छन् । विद्यावारिधिका क्रममा उनले गरेको अध्ययनलाई सार्वजनिक गरिएको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७