भारतबाट संक्रमित भएर फर्कने बढ्दै : तेस्रो लहरको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश


२३ पुष २०७८, शुक्रबार
naka2022 01 06 06 07 24

धनगढी । भारतमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररूपमा फैलिन थालेपछि त्यहाँका विभिन्न सहरमा रहेका नेपाली घर फर्कने क्रम बढेको छ । भारतबाट फर्किएका नेपालीमा कोराना संक्रमण दर पनि बढ्दै गएको देखिएको छ । धनगढीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्कनेको एन्टिजेन जाँच गर्दा दिनानु दिन संक्रमितको संख्या बढेर गएको देखिएको हो ।

पहिला सीमा नाकामा जाँच गर्दा दिनमा एक-दुई जनामा संक्रमण देखिने गरेकोमा पुस १९ गतेयता संक्रमण हुनेको संख्या बढ्दो क्रममा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरकी महेन्द्रा भट्टले बताइन् । पुस १९ गते (सोमबार) गौरीफन्टा, गड्डाचौकी र झुलाघाट नाकाबाट फर्केका २४ जनामा संक्रमण देखिएको थियो ।

गौरीफन्टा र गड्डाचौकी नाकामा मंगलबार एन्टिजेन जाँच गर्दा ३२ जनामा कोरोना संक्रमण देखियो, बुधबार ४६ जनामा कोराना पोजेटिभ देखियो। बिहीबार गड्डाचौकी नाकामा जाँच गर्दा ५९ र गौरीफन्टा नाकमा जाँच गर्दा ४७ जना गरी १ सय ६ जनामा संक्रमण देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ओम जोशीले बताए ।

‘दुईतीन दिनयता भारतबाट फर्कनेमा संक्रमण दर बढेको पाइएको छ’, जोशीले भने, ‘संक्रमण बढेपछि नियन्त्रण, रोकथाम र उपचारका लागि कुनै कसर बाँकी नराख्ने गरी तयारी थालेका छौं ।’ सुदूरपश्चिम सरकार सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले पनि भारतबाट फर्कनेमा कोरोना संक्रमण बढेकाले रोकथाम र उपचारका लागि योजना बनाएर लागु गरिने बताए । संक्रमितको संख्या बढेसँगै भएका आइसोलेसन कक्ष अपुग हुन थालेकाले थप्न लागिएको उनले बताए ।

धनगढीको कनरीस्थित आइसोलेसन केन्द्रमा ६२ जना संक्रमित राखिएको छ । सीमानामा नेपाली सेनाले निर्माण गरिरहेको होल्डिङ सेन्टर हस्तान्तरण भइनसकेको कार्कीले बताए । नेपाली सेनाले गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट आउने संक्रमितलाई राख्न एकएक हजार क्षमताका होल्डिङ सेन्टर निर्माण गरिरहेको भए पनि ती सञ्चालनमा आउन सकेका छैनन् । दोस्रो लहरका बेला गेटा मेडिकल कलेजमा बनाइएको आइसोलेसन केन्द्र पनि अहिले सञ्चालनमा छैन ।

भारतबाट फर्किएकामा कोराना संक्रमण देखिए पनि नयाँ भेरियन्ट ओमिक्रोन हो वा होइन, पत्ता लाग्न सकेको छैन । कुन प्रकारको भेरियन्ट हो भनेर पत्ता लगाउन सुदूरपश्चिममा प्रयोगशाला छैन । ओमिक्रोन हो वा होइन भनेर पत्ता लगाउन नमुना संकलन गरेर काठमाडौं पठाउने गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए । अहिलेसम्म सुदूरपश्चिममा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छैन ।

भारतमा नयाँ भेरियन्ट ओमिक्रोनका कारण तेस्रो लहर सुरु भएसँगै नेपालको सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ । भारतका विभिन्न सहरमा काम गर्न सुदूरपश्चिमबाट लाखौं गएका छन् । यकिन तथ्यांक नभए पनि सुदूरपश्चिमका करिब ७ लाख मानिस भारतका विभिन्न सहरमा मजदुरी गर्छन् । सिमानामा जाँच गर्दा कोरोना संक्रमण देखिएकालाई आइसोलेसनमा नराखी घर जान दिनु, भारतबाट फर्केका सबैको परीक्षण नहुनु जस्ता कारणले सुदूरपश्चिममा तेस्रो लहरको उच्च जोखिम रहेको विज्ञहरू बताउँछन् ।

स्वास्थ्य विज्ञ डा. शुभेष कायस्थले भारतमा नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न राज्य र सहरमा लकडाउन लगाउन थालिएकाले त्यसबाट नेपाल पनि उच्च जोखिममा परेको बताए । पहिलो र दोस्रो लहर पनि भारतमा फैलिएपछि नेपालमा भित्रिएको उनले बताए । ‘तेस्रो लहर पनि भारतमा व्यापक रूपमा फैलिरहेकाले नेपाल पनि फैलिने उच्च जोखिम छ’, उनले भने, ‘तेस्रो लहर फैलिन नदिन सिमा नाकामा कडाइका साथ कोरोना जाँच गरी संक्रमितलाई क्वारेन्टिनमा राख्नुपर्छ ।’

भारतमा पूरै लकडाउन भए त्यहाँ रहेका सबै नेपाली घर फर्कने उनी बताउँछन् । ‘अब भारतबाट ठूलो संख्यामा नेपाली फर्कने क्रम बढ्नेछ, फर्कनेको परीक्षण गरी संक्रमितलाई आइसोलेसन गर्न नसकेमा समुदायमा फैलिने खतरा छ’, उनले भने । अहिले दिनहुँ एक हजारभन्दा बढी नेपाली गौरीफन्टा, गड्डाचौकी, झुलाघाटलगायतका नाकाबाट घर फर्किरहेका छन् । यसरी फर्केका सबैको परीक्षण भएको छैन । लक्षण देखिएका र समूहमा रहेका केहीलाई परीक्षण गरे पनि सबैको नगरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख जोशीले स्विकारे । ‘अहिले सबैको परीक्षण भइराखेको छैन । अब सबैको परीक्षण गर्ने तयारीमा छौं,’ उनले भने । निर्देशनालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म ४८ हजार ३ सय ९९ जनामा कोराना संक्रमण देखापरेकोमा ६ सय १४ जनाको मृत्यु भएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७