मोबाइल एपबाट डलर कारोबार गर्ने एकै परिवारका चार जना विरुद्ध मुद्दा, ३७ करोड बिगो दाबी


११ माघ २०७८, मंगलवार
Department Of Revenue Investigation

काठमाडौँ : मोबाइल एपबाट डलर कारोबार गर्ने दिनेश खड्का र उनका आफन्तविरुद्ध ३७ करोड ६४ लाख बिगो दाबीसहित मुद्दा दायर भएको छ।

ई–स्क्रील र वाइनान्स नामक मोबाइल एप मार्फत डलर कारोबार गरेर विदेशी मुद्दा अपचलन गरेको आरोपमा राजश्व अनुसन्धान विभागले खड्का परिवार विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

कैलालीको लम्किचुहा नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालो पुल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का तथा बुवा नर बहादुर खड्का र दिनेश खड्काकी केटी साथी अनिता धितालले अवैध रुपमा अनलाइन मार्फत डलर कारोबार गरेको भेटिएको विभागले जनाएको छ।

विभागले मंगलबार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ। उनीहरूले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको सूचनाले निषेधित कसूर पुष्टि भएको भन्दै विभागले अदालतमा मुद्दा हालेको हो। 

बैंक स्टेटमेन्टहरु, बरामदित मोबाइलमा प्राप्त मिसिल संलग्न डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट दुई एपमार्फत कारोबार गर्ने गरेको भेटिएको विभागले जनाएको छ।

दिनेशले दिदी भगवती, बुबा नरबहादुर र दिनेशकी केटी साथी अनिता समेत संलग्न भई डलरको अनलाइनमार्फत् अवैध रूपमा कारोबार गरेको विभागले जनाएको छ ।

दिनेश खड्काले ग्लोबल बैंकबाट ९ करोड ७९ लाख ९८ हजार पाँचसय ८१ रुपैयाँको कारोबार, अनिता धितालको लक्ष्मी बैंक समेतबाट ५ करोड ७७ लाख ६ हजार आठसय २६ रुपैयाँको बारोबार, भगवती खड्काको एनआईसी एशिया बैंक बाट २० करोड ४२ लाख ९४ हजार पाँच सय २६ रुपैयाँको कारोबार र नर बहादुर खड्काको ग्लोबल आईएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ गरी कुल बिगो ३७ करोड ६४ लाख ११ हजार एक सय दाबी गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७