नागरिक उड्डयन प्राधिकरणको एक अर्ब ८१ करोड बक्यौता उठाउन बाँकी


१४ माघ २०७८, शुक्रबार
nepal airlines

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब ८१ करोडभन्दा बढी रकम बक्यौता उठाउन बाँकी रहेको बताएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले उक्त रकम उठाउन बाँकी रहेको जनाएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीको संयोजकत्वमा नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर लगायतका पदाधिकारीसँग छलफल गरेको थियो । उपसमितिको माघ १२ गतेको निणर्य शुक्रबार सार्वजनिक गरिएको हो ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता रकम सम्बन्धमा छलफल हुँदा प्राधिकरणले २०७८ माघ १० गतेसम्म स्वदेशी तथा विदेशी विभिन्न संघसंस्थाहरूसँग १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ २८ पैसा बक्यौता रकम उठाउन बाँकी रहेको व्यहोरा प्रस्तुत भयो,’ उपसमितिकव निणर्यमा भनिएको छ । बक्यौता रकम उठाउनका लागि प्राधिकरणलाई आगामी कार्ययोजना उपसमितिमा पेस गर्न भनिएको छ ।

उपसमितिले कोभिड-१९ को समयमा चार्टर्ड उठानमा भएको अनियमितता सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको समितिले पेस गरेको छानबिन प्रतिवेदन उपसमिति समक्ष पेस गर्न भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७