हेमराजको पराजयमा विजयी जयन्ती राईको आँशु


१४ माघ २०७८, शुक्रबार
Hem Raj Rai

काठमाडौँ : पूर्वको भोजपुर एउटा परिचय हो, ‘नेता जन्माउने जिल्ला ।’ भोजपुरमा टेम्केमैयुङ गाउँपालिका सबैभन्दा उर्बर भूमि हो । मुक्ती योद्धा नारदमुनि थुलुङको पुस्तादेखि अहिलेको उदयीमान नेता ध्रुव राईसम्मको पुस्ता आइपुग्दा टेम्केमैयुङ गाउँपालिकामा जन्मिएका नेताहरु विभिन्न दलको राजनीतिमा स्थापित छन् ।

पुराना नेताहरु ध्यानबहादुर राई, कर्णबहादुर राई, संग्रामसिंह राई लगायत यही गाउँपालिकामा जन्मिएका हुन् । मुकुन्द न्यौपाने, हेमराज राई, अजम्बर राई काङमाङ, जयन्ती राई, हरि राई, गोपाल राई लगायतका नेताहरु यही जन्मिएका हुन् । अहिलेका कांग्रेस भोजपुरका सभापति विनोद वान्तावा, एमाले अध्यक्ष शरण राई, नेत्रविक्रम चन्द विप्लवको नेकपाका अध्यक्ष नविन राई यही गाउँपालिकाको उत्पादन हो ।

बुधबार सम्पन्न राष्ट्रियसभामा यही गाउँपालिकाबाट दुई उम्मेदवार थिए । जनता समाजवादीका नेता हेमराज राई र नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्ती राई । उनीहरुको पार्टी फरक भए पनि गठबन्धन एउटै थियो । अहिले पार्टी फरक भए पनि उनीहरुले आफ्नो उर्वर समय भने एउटै पार्टीमा बिताएका थिए ।

दुबै एमालेका पूर्व नेता हुन् । घर करिब तीन किलोमिटरको दुरीमा छ, उनीहरुको । जयन्तीको घर टेम्केमैयुङ–४ खोङटाङ, नागी । हेमराजको टेम्केमैयुङ– ३ मेस्पाङ । मध्यपहाडी लोकमार्गमा दुबैको घर छ । जयन्तीको घरबाट तीन किलोमिटर तल झरेपछि पुगिन्छ, हेमराजको घर ।

Jayanti rai2

यी दुई उम्मेदवार मध्ये जयन्तीले जितिन्, हेमराज अन्तरघातको कारण पराजित भए । गठबन्धनतर्फकी जयन्तीले चार हजार ६ सय ९२ मत प्राप्त गर्दै विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले चार हजार ३६२ मतभार प्राप्त गरिन् । गठबन्धनका उम्मेदवार गोपालबहादुर बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको पनि मत बराबरी भएपछि गोला प्रथाबाट निर्णय गरिएको थियो । जसमा बस्नेतले बाजी मारे ।

अल्पसंख्यक क्षेत्रबाट राष्ट्रिय सभाको निर्वाचनमा उठेका हेमराज भने एमालेका सोनम ग्याल्जेन शेर्पासँग पराजित भए । सोनम ४७३४ मत भारसहित विजयी भएका थिए। गठबन्धनबाट उठेका जनता समाजवादी पार्टीका हेमराज राईलाई त्यहाँ पाँच दलबाटै घात भयो । प्रदेशतर्फ सोनमले ४२ जना सांसदको २०१६ मतभार ल्याए । पराजित जसपाका हेमराज राईले ४९ सांसदको २३५२ मतभार मात्रै पाए ।

Hem Raj rai

आफू पराजित भए पनि आफ्नो गठबन्धनबाट बिहिनी जयन्ती विजयी भएकोमा हेमराज खुसी थिए । हेमराज जयन्तीलाई भेट्न हेमराज शुक्रबार विराटनगरस्थित इस्टर्न स्टार होटल पुगे । हेमराजले जयन्तीलाई खादा लगाइदिए । भने, ‘बधाई छ ।’ तर जब हेमराजले जयन्तीलाई खादा लगाइदिए । जयन्तीले आँशु थम्न सकिनन् । हेमराजलाई अँगालो हालेर धरधरी रोइन् । माहोल भावुक बन्यो । सँगै रहेका अन्य नेता तथा कार्यकर्ताको आँखा पनि आँशु बग्यो ।

भोजपुरमा एमाले निर्माणमा महत्वपूर्ण भूमिका निभाएका हेमराज अशोक राईसँग विद्रोह गरेर पार्टी छोडेका नेता हुन् । अझैं पनि उनलाई इमानदार नेताको रुपमा एमालेका कार्यकर्ताहरुले सम्मान गर्ने गरेका छन् । जयन्ती भर्खरैको विभाजनमा माधव नेपाल नेतृत्वको पार्टीमा लागेकी हुन् । निरन्तर कम्युनिष्ट आन्दोलनमा लागेकी जयन्ती पनि इमानदार र निष्ठावान् नेतृकी रुपमा स्थापित छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७