गठबन्धन लोकतन्त्रविरोधी भयो : महासचिव शंकर पोखरेल

‘निर्वाचन सिफरिस गरे पनि सरकार मिति घोषणा गर्न खुट्टा कमाइरहेको छ’


२२ माघ २०७८, शनिबार
shankar pokharel

सुनसरी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन गठबन्धन सरकार अघि बढेर लोकतन्त्र विरोधी चरित्र देखाएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल सुनसरी शाखाले स्थापना दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले २०६२/०६३ को आन्दोलनको बिशेषता कुनै पनि सरकार जनप्रतिनिधिविहीन हुँदैन भन्ने रहेको तर गठबन्धन सरकारले स्थानीय सरकारलाई प्रतिनिधविहीन बनाउने गरी अघि बढेको बताए । ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्ने सन्दर्भमा ३ तहको सरकारको परिकल्पना गरेका छौ, आज स्थानीय तहलाई कमजोर पार्ने षड्यन्त्र शुरु भएको छ,’ उनले भने, ‘स्थानीय तहलाई कमजोर पार्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कामजोर पार्नु हो, नेपालको लोकतान्त्रिक आन्दोलनको बिशेषतालाई कमजोर पार्नु हो भन्ने कुरालाई बुझ्नु पर्छ ।’

जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नखोसिने लोकतन्त्रको रुपमा स्थापिना गरिएको र त्यो लोकतन्त्रभित्र जनप्रतिनिधिविहिनताको परिकल्पना नभएको महासचिव पोखरेलले बताए । निर्वाचन आयोगले जेठ ४ गते मिति तोकेर स्थानीय तह निर्वाचनको सिफरिस गरे पनि सरकारले मिति घोषणा गर्न खुट्टा कमाइरहेको बताए । ‘जेठ ४ गते मिति घोषणा गर्न सरकारले खुट्टा कमाइरहेको छ, त्यसले लोकतन्त्रप्रतिको गठबन्धनको निष्ठालाई कमजोर बनाइरुहेको छ, सबैले खबरदारी गर्नुपर्छ,’ उनले भने ।

एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई कमजोर बनाउन परमादेशको माध्यमबाट एमलेलाई सरकारबाट हटाउने काम भएको भन्दै पोखरेलले त्यसको पीडा आज मुलुकले भोगिरहेको पनि बताए । ‘आज संसद संसद जस्तो छैन, सरकार सरकार जस्तो छैन, अदालत अदालत जस्तो छैन, यस्तो किन भयो भने मुलुकलाई गलत बाटोमा लैजानुको परिणाम हो,’ उनले भने, ‘जनताले जे म्याण्डेड दिएको छ, त्यो भन्दा फरक ढंगले शासन गर्ने लोकतन्त्रमा प्रयास गर्छ भने संस्थाले विश्वासनीयता गुमाउँदो रहेछ, आज तीनै अंगमाथि जनताको भरोसा टुट्दैछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७