हराएको २४ लाख मात्रा खोप खोजी गर्न गठित समितिले बुझायो प्रतिवेदन


३ फाल्गुन २०७८, मंगलवार
khop harayeko pratibedan bujhaudai

काठमाडौं । हराएको २४ लाख मात्रा खोप खोजी गर्न स्वास्थ्य मन्त्रालयले गठन गरेको ५ सदस्यीय छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले २४ लाख मात्रा खोप रेकर्डमा नरहेको बताएपछि सरकारले खोप छानविन समिति गठन गरेको थियो । डा.गुणराज लोहनीको अध्यक्षतामा गठित ५ सदस्यीय खोप छानविन समितिले सोमबार प्रतिवेदन बुझाएको मन्त्री खतिवडाका प्रेस संयोजक शान्तराम बिडारीले जानकारी दिए । सरकारले प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।

खोप छानविन समितिको सदस्य सचिवमा डा.गुणनिधि शर्मा र डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल र अनिल थापा छन् । सरकारले विभिन्न देशबाट अनुदान तथा खरिद गरेर ल्याएको कोरोनाविरुद्धको खोपमध्ये २४ लाख डोज खोप सरकारी रेकर्डमा नभेटिएपछि सरकारले छानविन समिति गठन गरेको हो । सरकारले अहिले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७