बेनी-जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन निर्देशन


१८ फाल्गुन २०७८, बुधबार
Beni Jomsom

म्याग्दी । राष्ट्रिय योजना आयोगले बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा सुरूङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ ।

उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनाको अनुगमनमा आएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा कालोपत्रको अध्ययन गर्न निर्देशन दिएका हुन् ।
आयोजनाका प्रमुख जगत प्रजापतिले टोलीले पहिरो, कमजोर भूगोल र चट्टानी पहाड भएको म्याग्दी खण्डका दुई स्थानमा सुरूङ र उपल्लो मुस्ताङमा निर्माण भएको सडकलाई कालोपत्र गर्ने निर्देशन दिएको बताए ।

‘कमजोर भूगोल र चट्टानी पहाड भएको भिरकाटे र रुप्से खण्डमा सडकको विकल्पमा सुरुङ बनाउनका लागि अध्ययन गर्न निर्देशन दिनुभयो’, उनले भने, ‘ग्राभेल भएको जोमसोम-कोरला खण्डको सडक कालोपत्र गर्ने योजना अघि बढाउन उपाध्यक्षले निर्देशन दिनु भएको छ ।’

सडकलाई दिगो र सुरक्षित बनाउन जोखिमयुक्त ठाउँमा सुरुङ बनाउने विकल्प रोज्नुपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो । कोरला नाका भएर व्यापार गर्न तथा परम्परागत र ऐतिहासिक गुम्बाको धार्मिक पर्यटन विकासका लागि उक्त कार्य आवश्यक भएको उनले बताए । मुस्ताङ र डोल्पा जोड्ने सडकलाई पनि प्राथमिकता दिनुपर्नेमा पौडेलले जोड दिए ।

आयोजनाले भिरकाटेमा ३५० मिटर सुरुङको प्रारम्भिक अध्ययन गरिसकेको प्रमुख प्रजापतिले बताए। चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । विसं २०७४ देखि सुरु गरिएको बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा नदी कटान र बाढीपहिरोको समस्या छ । १८६ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकको १३ मध्ये जोमसोम-कोरला खण्डको ६ खण्डको स्तरोन्नति सकिएको छ ।

आइतबार मुस्ताङ आएको उपाध्यक्ष पौडेल, सहसचिव राजेन्द्र पौडेल, संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयका ईन्जिनीयर ललिजन खनाल र तिब्बती भाषाविद् पुण्यप्रसाद पराजुलीको टोली मंगलबार काठमाडौँ फर्किएको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आयोगको टोलीले बेनी-जोमसोम-कोरला सडक र उपल्लो मुस्ताङका गुम्बाको अनुगमन गरेको बताए ।

स्थलगत निरीक्षणपछि टोलीले जोमसोममा जनप्रतिनिधि, कार्यालय प्रमुख र सरोकारवालासँग छलफल गरेको थियो । मुस्ताङमा सञ्चालित कृषि परियोजना र त्यसको प्रभावकारिताको विषयमा समेत टोलीले मार्फाका किसानसँग छलफल गरेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७