‘राजद्रोही राजनेता’ प्रदर्शन गरिँदै


३० फाल्गुन २०७८, सोमबार

काठमाडौं । सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुने भएको छ ।

वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ । करिब छ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक जगत नेपालले जानकारी दिए । वृत्तचित्रमा बिपी, गणेशमानलगायत नेतामाथिको राजद्रोहको मुद्दाको फैसला गर्ने न्यायाधीश जनकमान श्रेष्ठ, पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट, बिपीको चिकित्सकका रुपमा काम गर्ने डा. मृगेन्द्रराज पाण्डे, पूर्व अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतको स्वर सङ्कलन गरिएकाले जीवन्त छ ।

विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्कदा साथमै फर्किएका नेताहरु खुमबहादुर र नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाइँलगायतको भनाइ पनि वृत्तचित्रमा समेटिएको छ । हाल उनीहरुको निधन भइसके पनि यसअघि नै भनाई लिइएको थियो ।

बिपीलगायत नेताहरु मेलमिलापको नीति लिएर फर्कनुअघि उनलाई नेपालको राष्ट्रपतिको अफर गरिएकामा देश बचाउन उनले पद कसरी छोडेका थिए भन्ने प्रशंग पनि देखाइएको प्रधान सम्पादक नेपालले बताए । वृत्तचित्रमा भिडियोग्राफी र सम्पादनको काम मानबहादुर थापाले गरेका छन् ।

नेपाली कांग्रेसका संस्थापकसमेत रहेका बिपी आफूमाथिका आठवटा राजद्रोहसम्बन्धी मुद्दाको समेत प्रवाह नगरी २०३३ साल पुस १६ गते किन स्वदेश फर्किए र कसरी जनमत सङ्ग्रहको घोषणा भयो भन्ने विषयलाई वृत्तचित्रमा सूक्ष्मरुपमा देखाइएको छ ।

नेपाल प्रवेश गर्ने बित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्ड समेत हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने त्रासकाबीच बिपीले गरेको ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाइएको फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले जानकारी दिए ।

ज्यान हत्केलामा राखेर मेलमिलापको नीति लिएर स्वदेश फर्किएकाले नै बिपी राजनेता बन्न सफल भएको विषयलाई वृत्तचित्रमा देखाइएको छ । मुलुकको सार्वभौमिकता जोगाउन बिपीले उठाएको जोखिमलाई पनि वृत्तचित्रको विषय बनाइएको छ । आज गौरवका साथ नाम लिइने देशको स्वाधीनता कसरी जोगियो भन्ने विषयलाई वृत्तचित्रले देखाएको छ । ऐतिहासिक पात्रकै माध्यमबाट त्यसबेलाका घटना दर्शकले हेर्न सक्ने भएका छन् । इतिहासको संरक्षणका लागि अन्वेषण अभियानअन्तर्गत अन्य वृत्तचित्र पनि बनाइने भएको छ । ऐतिहासिक विषयमा १२ वटा अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइएको सदस्य सचिव कोइरालाले जानकारी दिए ।

अल थ्री मिडियाका बीचमा १२ वटा वृत्तचित्र बनाउन सहमति भएको छ । विकसित देशमा यस्ता दस्तावेजको संरक्षण गर्ने काम राज्यले गर्ने भए पनि नेपालमा प्राथमिकतामा पर्न सकेको छैन । राज्यले ध्यान नदिएकै कारण कयौँ यस्ता तथ्य एवं सामग्री लोप भइसकेको छ । लोप नभएका तथ्य एवं सामग्रीको संरक्षणका लागि अन्वेषण अभियानले काम गर्न लागेको अन्वेषण न्युज डटकमले जनाएको छ ।

फाउन्डेसनले अन्वेषण न्युज डटकमको सहकार्यमा वृत्तचित्र निर्माणलाई अघि बढाएको हो । इतिहास जस्तो गम्भीर विषयमा श्रव्यदृश्यजस्तो खर्चालु प्रविधिमार्फत ऐतिहासिक दस्तावेजको संरक्षण गर्नु चुनौतीपूर्ण काम भएकाले अभियानले सहकार्यका लागि पनि इच्छुकसँग आह्वान गरेको छ । ‘राजद्रोही राजनेता’ तयार पारेसँगै अन्वेषण अभियानले ‘प्रजातन्त्रका लागि अपहरण’ र ‘मिसन ओखलढुङ्गा’ वृत्तचित्र तयार गरी सम्पादनको अन्तिम चरणमा रहेको जनाइएको छ ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री समेत रहेका फाउन्डेसनका अध्यक्ष डा. शशाङ्क कोइराला एक दर्जनभन्दा बढी यस्ता वृत्तचित्र निर्माणको तयारी गरिएकाले यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउँछन् । ‘राजद्रोही राजनेता’ हेरेपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले इतिहास संरक्षणमा यस्ता वृत्तचित्रले महत्वपूणर् काम गर्ने बताएका छन् ।
‘राजद्रोही राजनेता’ प्रजातन्त्र दिवसको अवसर पारेर फागुनको अन्तिम दिन आज सिटी सेन्टरमा प्रदर्शन सुरु गरिने फाउन्डेसनले जनाएको छ । प्रदर्शनीमा नेपाली कांग्रेसका नेताहरुको सभागिता रहने छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७