स्थानीय आवश्यकताका आधारमा चुनावी गठबन्धन हुन्छ : प्रकाशशरण महत


९ चैत्र २०७८, बुधबार
Prakashsharan mahat
फाइल फोटो

काभ्रे । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा पार्टीले चुनावी गठबन्धन गर्ने बताएका छन् ।

कांग्रेस धुलिखेलको आयोजनामा पार्टी प्रवेश कार्यक्रममा उनले सम्बन्धित तहको सुझावको आधारमा पार्टीले निणर्य लिने बताए । ‘७५३ वटै स्थानीय तहमा पार्टी केन्द्रले भन्ने कुरा पनि हैन, स्थानीय अवस्था के हो सो आधारमा तपाईहरूले नै निणर्य गर्ने हो,’ महतले भने, ‘सबै पार्टीको बढीभन्दा बढी सिट जित्ने उद्देश्य हुन्छ, ११ गते बस्ने केन्द्रीय समितिले गठबन्धनबारे सिद्धान्ततः निणर्य गर्छ तर अन्तिम निणर्य सम्बन्धित तहको नै हो ।’

स्थानीय तहमा गठबन्धनलाई लिएर पार्टीका नेताहरूबाट फरक-फरक प्रतिक्रिया आइरहँदा नेता महतले यसको जिम्मा स्थानीय तहलाई नै दिनुपर्ने बताएका हुन् । अर्को प्रसङ्गमा उनले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छरिएको भम्र चिरिएको भन्दै देश विकासको लागि कांग्रेसले सही अडान लिएको प्रमाणित भएको बताए ।

‘कांग्रेस सधैं सत्य र यथार्थको पक्षमा हुन्छ, सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा अर्को कुरा गर्दैनौं,’ महतले भने, ‘एमसीसीबारे छरिएको भ्रम बिस्तारै चिरिँदैछ, यो सडक आयोजना, प्रशारण लाइन लगायत विकासे कामको लागि हो भन्ने बुझ्दै गएका छन्, यसको बारेमा अझ बुझाउन जरुरी छ ।’

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेमा सन्देह नरहेको भन्दै उनले कांग्रेसले सञ्चालन गरेको ‘घरघर जाऊँ, कांग्रेस जिताऔं’ अभियानले निर्वाचन जित्न सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रमा एमालेका प्रदेश कमिटी सदस्य रहेका पूर्वक्षेत्रीय अध्यक्ष रामकृष्ण हुमागाई, साविक काभ्रे नित्य चण्डेश्वरी गाविसका अध्यक्ष रहेका पूर्वजिल्ला कमिटी सदस्य साधुराम वडाल, गाविस उपाध्यक्ष विष्णु बस्नेत, माधवमणि हुमागाईँ, अर्जुन भुजेल लगायत १ सयभन्दा बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । प्रवक्ता महतले उनीहरूलाई सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेस जिल्ला सभापति तिर्थ लामाले राजनीतिमा लामो समय योगदान दिएकाहरुको प्रवेशले पार्टीलाई फाइदा पुग्ने तर्क गर्दै उचित जिम्मेवारी दिने बताए । नवप्रवेशी रामकृष्ण हुमागाईले ४४ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा लागे पनि नवौं महाधिवेशनदेखि विधि, पद्धत्ति सबै ध्वस्त पारिएकोले कांग्रेस प्रवेश गरेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७