ओलीले राखे राप्रपासँग तीनै तहमा गठबन्धनको प्रस्ताव


१९ चैत्र २०७८, शनिबार
kp oli raprapa

नेपालगन्ज । सत्ता साझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि दबाबमा आएको एमालेले विपक्षी गठबन्धनको तयारी थालेको छ । पाँच दलीय गठबन्धनले तालमेल गरेर जाने निर्णय लिएकै दिन प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपासँग तालमेलका लागि प्रस्ताव गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले बिहीबार नेपालगन्जस्थित होटेल सोल्टीमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणासँग चुनावी तालमेलको प्रस्ताव राखेका हुन् । कर्णालीका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने क्रममा नेपालगन्जमा रहँदा ओलीले राणासँग डेढ घन्टा छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीले दुई पार्टीबीच तीनै तह (स्थानीय, प्रदेश र संघीय) को चुनावमा सहकार्य गरेर जान प्रस्ताव गरेको राणाले बताए ।

‘एमाले बाँकेका नेताहरूमार्फत अध्यक्ष ओलीले मलाई भेट्न बोलाउनुभयो । होटेल सोल्टीमा हामी दुईबीच डेढ घन्टाजति छलफल भयो,’ नेपालगन्ज नगर प्रमुख समेत रहेका राणाले भने, ‘उहाँले स्थानीय तहमा मात्र नभई प्रदेश र संघीय निर्वाचनमा समेत तालमेल गरेर जान प्रस्ताव राख्नुभयो । दुवै पार्टीबाट निणर्य गरेर छलफललाई निष्कर्षमा पुर्‍याउने समझदारी बनेको छ । त्यसअनुसार अब हामी हाम्रो पार्टीभित्र छलफल गर्नेछौँ ।’

सत्ता साझेदार दलले चुनावी तालमेलको तयारी गरेकाले विपक्षी दलहरूले पनि गठबन्धन बनाउनुपर्छ भन्नेमा समझदारी बनेको उनको भनाइ छ । राणाले ओलीसँगको छलफललाई चुनावी तालमेलको पहिलो चरणको छलफलको संज्ञा दिएका छन् । यस विषयमा राप्रपाले छिट्टै आधिकारिक निणर्य सार्वजनिक गर्ने उनले बताए ।

नेपालगन्जको होटेल सोल्टीमा बोलाएर राप्रपा महामन्त्रीसँग चुनावी तालमेलको प्रस्ताव राखेका ओलीले सार्वजनिक रूपमा भने एमाले एक्लै लड्ने बताउँदै आएका छन् । केहीअघि सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पनि स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निणर्य गरेको थियो ।

तर, सत्तासाझेदार दलहरूले तालमेलको निणर्य गरेसँगै ओली सम्भावित परिणामले विपक्षी गठबन्धन बनाउनैपर्ने दबाबमा पुगेका छन् । ओलीले महन्थ ठाकुर नेतृत्वको अर्को विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तालमेलका लागि छलफल गर्ने सम्भावना छ । स्थानीय आवश्यकता आधारमा तालमेलमा जान सकिने एमालेको नीति छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७