भारतले भन्यो, ‘सीमाको विषय राजनीतिकरण गरिनु हुँदैन, संवादबाट समाधान गर्नुपर्छ’


१९ चैत्र २०७८, शनिबार
Harsh Vardhan Shringla

नयाँदिल्ली । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारतका प्रधानमन्त्रीहरुबीच सीमा र सुरक्षाको विषयमा संक्षिप्त चर्चा भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बारेमा जानकारी दिन मन्त्रालयमा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा विदेश सचिव श्रृंगलाले सीमाको विषयमा राजनीतिकरण गरिनु नहुने बताए ।

‘सुरक्षा र सीमाको विषयमा कुरा छ, प्रधानमन्त्री देउवाले त्यस विषयमा प्रेस स्टेटमेन्टमा कुरा भन्नु भएको थियो । यो विषयमा पनि संक्षिप्त रुपमा चर्चा भएको छ,’ श्रृंगलाले भने, ‘सामान्य बुझाइ के हो भने दुवै पक्षले यसलाई जिम्मेवारीपूर्ण ढंगले यस विषयमा छलफलहरु हाम्रो निकट र मित्रवत सम्बन्धको हुनुपर्छ । यसलाई राजनीतिक विषय बनाउने कामबाट बच्नु पर्छ । सुरक्षा वा सीमाको विषयमा संक्षिप्तमा छलफल भयो । यसलाई संवादको माध्यमबाट समाधान गर्नुपर्छ ।’

श्रृंगलाका अनुसार प्रधानमन्त्री देउवाको भ्रमण निकै राम्रो दिशामा गएको छ । ‘जति विषयहरु आएका छन् जुन सकारात्मक रचनात्मक एजेन्डामा रहेका छन् । यो हामीले सूचना दिएका छौं । त्यसैगरी उर्जाको बारेमा जुन सहकार्य छ त्यसको विषयमा पनि सूचना दिनेछौं,’ उनले भने ‘यति धेरै विषयहरु कभर भएको छ । दुवै देशका जनताको फाइदाका लागि धेरै विषयहरु रहेका छन् । यसमा धेरै लाभ प्राप्त हुन्छ ।’

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार बिहान भेटवार्ता भएको थियो । देउवा तीन दिने भ्रमणका लागि शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७