वस्तु आयातमा कडाइ गर्न अर्थमन्त्रीले गरे उच्चस्तरीय छलफल


२२ चैत्र २०७८, मंगलवार
aartha mantralaya

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वस्तु आयातमा कडाइ गर्ने विषयमा उच्चस्तरीय छलफल गरेका छन् । चालू आर्थिक वर्षमा मुद्रा सञ्चिति निरन्तर घटिरहेको र वस्तु आयात निरन्तर बढिरहेको भन्दै मन्त्री शर्माले उच्चस्तरीय छलफल गरेका हुन् ।

अर्थ मन्त्रालयमा भएको छलफलमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष, विश्व पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित अर्थ मन्त्रालयमातहतका विभागीय प्रमुखहरु सहभागी थिए । सो छलफलमा मन्त्रालयका सचिवद्वयको पनि उपस्थिति थियो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुको सीईओहरुलाई बोलाएर सोमबार विलासीका सामान आयातमा कडाइ गर्न मौखिक निर्देशन दिएको थियो । यस्ता वस्तु आयातमा कडाइ गर्न बैंकहरुले केही समय एलसी नै बन्द गर्नुपर्ने राष्ट्र बैंकले बताएको थियो । सीईओहरुको छलफलमा गभर्नर महाप्रसाद अधिकारी भने उपस्थित थिएनन् ।

तर आज अर्थमन्त्रीले डाकेको छलफलमा उनी पनि उपस्थित भएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । त्यस्तै आयात नियन्त्रण कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा आजको छलफल केन्द्रित रहेको उनले बताएका छन् ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा वैदेशिक मुद्रा सञ्चिति १६ दशमलव २ प्रतिशतले घटेको छ । असारमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा ११ खर्ब ७३ अर्ब २ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७