आर्थिक वृद्धिदर ६ प्रतिशतमाथि हुने दावी


२४ बैशाख २०७९, शनिबार
aartha mantralaya

काठमाडौं । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने दावी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदर प्रक्षेपण गरेको भन्दा बढी हुने दावी गरेका हुन् ।

उनले अहिले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको बताए । आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दावी समेत गरे । कोरोना महामारीपश्चात् बैंक तथा वितीय संस्थाहरुबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको उनले बताए ।

मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरेपनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको उनले उल्लेख गरे । निर्यात भन्दा आयात एक्कासी ह्वात्तै बढेकाले वाह्य क्षेत्रमा दबाब परेको उनको विश्लेषण छ । आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भएपनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे ।

उनले भने, ‘हामीले यस वर्षको नीति तथा कार्यक्रम बजेटमा केही फन्डामेन्टल पक्ष आधारभूत नीतिगत व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने आवश्यकता आएको छ । अब देश संधै आयातमा निर्भर भएर चल्नेवाला छैन । उत्पादन सँगै रोजगारी देशभित्र नै सृजना गर्न सकिएन भने समृद्धिको सपना पूरा गर्न सकिँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७