यो गठवन्धन सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पबाट किन टाढिदै छ ?


१७ जेष्ठ २०७९, मंगलवार
Bishnu paudel
  • विष्णु पौडेल

सम्माननीय सभामुख महोदय,
बजेटको आधारभूत मर्ममाथि प्रहार

१. आगामी मङ्सिर महिनामा प्रतिनिधिसभाको कार्यकाल पुरा हुँदैछ र मङ्सिरभित्रै हामी प्रतिनिधिसभाको निर्वाचनमा जाँदैछौं । वर्तमान सरकारको कार्यकाल पनि बढीमा त्यही अवधिसम्म मात्र हो, यस अर्थमा यो चुनावी सरकार हो । तर, पाँच महिनाको चुनावी सरकारले सीमा मिचेर भर्खर निर्वाचित भएको पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेको छ । भोलि चुनावबाट आउने सरकार र मुलुकलाई नै बोकी नसक्नुको आर्थिक दायित्व सिर्जना गरेको छ ।

यो बजेट आगामी ५ महिनाका लागि दैनिक प्रशासनिक खर्च, चालु आयोजनाको निरन्तरता र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा आवश्यक पर्ने खर्चका लागि स्रोत व्यवस्थापन र विनियोजनमा केन्द्रित हुनु पर्दथ्यो । संकटपूर्ण बन्दै गएको अर्थतन्त्रलाई ठीक बाटोमा फर्काउन तत्काल चाल्नुपर्ने कदममा केन्द्रित हुनु पर्दथ्यो । तर, विडम्बना अर्थतन्त्रका चुनौतीहरुलाई बेवास्ता गरिएको छ र सस्तो लोकप्रियताका लागि अनुकूल ठानिएका र विनातयारीका दीर्घकालीन प्रकृतिका कार्यक्रमहरुको चाङ लगाइएको छ ।

सारतः यो बजेट, बजेट नभएर सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र जस्तो, चुनावी पर्चा जस्तो छ । यो मतदातालाई भ्रममा पारेर भोट बटुल्ने उद्देश्यले आएको छ । राज्य शक्ति र राज्यको स्रोतलाई दल विशेष वा दलहरुको गठबन्धनको हितमा दुरुपयोग गर्न पाइँदैन । तर, यहाँ त्यही नहुनुपर्ने भएको छ, राज्यको स्रोतलाई आफ्नो पक्षमा मतदाता रिझाउने उद्देश्यका लागि दुरुपयोग गरिएको छ । यस अर्थमा प्रस्तुत बजेटले बजेटको मर्म माथि गम्भीर प्रहार गरेको छ ।

गलत न्यारेटिभ

२. म आर्थिक वर्ष २०७९/८० को बजेटका सम्बन्धमा आफ्ना धारणाहरु राख्नुभन्दा अगाडि, बजेटका प्रारम्भिक बुँदामा, वर्तमान सरकार गठनका बारेमा प्रस्तुत धारणा असत्य, अयथार्थ र आग्रहपूर्ण न्यारेटिभमा आधारित छ र बजेट वक्तव्यमा यस प्रकारको आग्रह व्यक्त गर्न जरुरी थिएन । संविधान जारी भएपछि संवैधानिक प्रक्रिया सुचारु छ, जनादेशका लागि जनतामा जानु लोकतन्त्रको सर्वाधिक महत्वपूर्ण र सुन्दर पक्ष हो । स्वाधीन र स्वतन्त्र राष्ट्रमा अन्तिम निर्णय गर्ने अदालत, जनअदालत नै हो, सार्वभौम जनता नै हुन् । जनताले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्रको अभ्यासबाट बनेको सरकारलाई निहित स्वार्थवस जब जब अनुचित घेराबन्दी गरिन्छ, जनताको मतमाथि हेराफेरी गरिन्छ, त्यस्तो अवस्थामा अन्तिम निर्णयका लागि जनतासमक्ष जानुको विकल्प हुँदैन । सरकारको प्राण भनेकै जनता हुन्, डाक्टरले भेन्टिलेटर लगाएर सरकार कति दिन बचाउन सक्छ ? तसर्थ यो उल्टो न्यारेटिभलाई सुल्टो बनाउन जरुरी छ । यद्यपि यसको निष्पक्ष र यथार्थ मूल्याङ्कन इतिहासले गर्ने नै छ ।

नकारात्मक समष्टिगत आर्थिक परिसूचकहरु

३. मुलुकको आजको आर्थिक अवस्थालाई बेवास्ता गरेर भोलिको बजेट बन्न सक्तैन । आजको जगमा भोलिको बजेट बन्ने हो । कोभिड महामारीलगायतका चुनौतीहरुको सामना गर्दै अघिल्लो सरकारले यो सरकारलाई तुलनात्मक रुपमा सवल अर्थतन्त्र हस्तान्तरण गरेको थियो । तर, यो सरकार बनेयता सबैजसो आर्थिक परिसूचकहरु प्रतिदिन नकारात्मक बन्दै गएका छन् । यतिबेला,

  • व्यापार घाटा चुलिएको छ, ९ महिना मै १३ खर्ब नाघेको छ ।
  • विदेशी विनिमय सञ्चिती जोखिमको स्तरमा छ । ६.६ महिनाको भन्दा बढीको आयातमात्र धान्न नसक्ने अवस्थामा छ ।
  • चालु खाता घाटा ५ खर्ब १२ अर्ब अर्थात कूल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा माथि पुगेको छ ।
    सोधनान्तर घाटा २ खर्ब ६८ अर्ब पुगेको छ ।
  • मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ ।
  • पूँजीगत खर्च निराशाजनक अर्थात १० महिनामा ३१ प्रतिशत छ ।
  • तरलता अभाव कहालीलाग्दो अवस्थामा पुगेको छ । बैङ्किङ प्रणालीमा लगानी योग्य पूँजी उपलब्ध छैन ।
  • सरकारले तिर्न पर्ने ऋण १८ खर्ब ४८ अर्ब अर्थात कूल गार्हस्थ्य उत्पादनको ३८ प्रतिशत नाघेको छ ।
  • आर्थिक वर्ष २०७९/८० मा मात्र आन्तरिक र बाह्य ऋणको साँवा र व्याज गरी १ खर्ब ८७ अर्ब तिर्नुपर्ने अवस्था छ ।
  • मुलुक आर्थिक दृष्टिले भयानक संकटको डिलमा पुगेको छ र कुनै पनि बेला डिलबाट खस्न सक्ने अवस्था छ ।

बजेट निर्माण गर्दा मुलुकको यथार्थ आर्थिक अवस्था र उपलब्ध साधनस्रोतलाई बेवास्ता गरेर कल्पनामा विचरण गरिएको छ । राजस्व, वैदेशिक अनुदान, वैदेशिक ऋण, आन्तरिक ऋणलगायत स्रोतको अनुमान मनोगत र सामथ्र्यभन्दा बाहिर छ ।
गत वर्षको तुलनामा साधारण खर्च बढाइएको छ, पुँजीगत खर्च घटाइएको छ । आवश्यक अध्ययन, स्रोतको प्रवन्ध र कार्यान्वयन हुने आधार तयार नगरी ठूल्ठूला कार्यक्रम र योजनाहरु प्रस्ताव गरिएको छ ।

आर्थिक वृद्धिदर आधारहीन र भ्रामक

४. आर्थिक वृद्धिदर अर्थतन्त्रको प्रमुख आर्थिक परिसूचक हो । यसले समग्र अर्थतन्त्रको मापनको प्रतिनिधित्व गर्दछ । नीति तथा कार्यक्रम, सरकारको विकास निर्माण र सामाजिक परिवर्तन तथा रुपान्तरणका योजना, कार्ययोजना र प्राप्त उपलब्धिहरुको साझा निष्कर्षको एक महत्वपूर्ण परिचायक हुन्छ, आर्थिक वृद्धिदर । आर्थिक वृद्धिदरको निर्धारण सुविचारित, यथार्थपरक र हासिल गर्न सक्ने हुनुपर्दछ । सभामुख महोदय, यो बजेटले निर्धारण गरेको ८ प्रतिशतको आर्थिक वृद्धिदर पूरै आधारहीन, अविश्वसनीय र प्राप्त गर्न नसकिने छ ।

नेपाली अर्थतन्त्रको इतिहासको समीक्षा गर्दा हामी पाउँछौं कि कूल गार्हस्थ उत्पादनको आधार (बेस अफ जीडीपी) परिवर्तन गरिएको वर्षमा बाहेक ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर छैन । गतवर्षमात्र कूल गार्हस्थ उत्पादनको आधार, बेस परिवर्तन भएको हुँदा यो वर्ष आधार परिवर्तन गर्ने प्रश्नै भएन । त्यसर्थ, ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यले नेपाली जनता र दातृ संस्थाहरुलाई झुक्याउने र नेपाली अर्थतन्त्रको विश्वसनीयता गुमाउनेबाहेक अरु केही सकारात्मक नतिजा दिँदैन ।

आर्थिक वृद्धिदरको विश्वव्यापी प्रवृत्ति हेर्दा अर्थ मन्त्रालय स्वयंले २०७८/७९ को आर्थिक सर्वेक्षणमा विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.६ प्रतिशत हुने, आईएमएफको स्रोत उल्लेख गर्दै बताएको छ । आईएमएफले हाम्रो जस्तो न्यून आय भएका विकासशील अर्थतन्त्रको आर्थिक वृद्धिदर ५.४ प्रतिशत अनुमान गरेको छ भने दक्षिण एसियाली देशहरुको अर्थतन्त्रको सरदर आर्थिक वृद्धिदर ५ प्रतिशत अनुमान गरेको छ । हाम्रो आर्थिक परिसूचकहरुको निष्पक्ष, आग्रहरहित र यथार्थपरक विश्लेषण गर्दा करिब ५ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर पुग्न सक्ने सम्भावना छैन ।

पूँजी लगानी, सम्भाव्य उत्पादन क्षमता र समग्र स्रोतसाधनको पूर्ण परिचालनका आधारमा आर्थिक वृद्धिदर निर्धारण गर्ने प्रचलन हो । पूँजी लगानी त अपुग छँदैछ, अन्य दुई प्रमुख आयामहरुमा कुनै हेक्का नै नगरी यो गठबन्धन सरकारले आर्थिक वृद्धिदर निर्धारण गरेको छ । यसबाट बजेटको आधारभूत संरचना, उद्देश्य, नीति, कार्यक्रम, आयोजना, स्रोत र खर्चको अनुमान तथा यसले ल्याउने समग्र प्रभावहरुको आँकलन सम्पूर्ण रुपमा गलत छ भन्ने पुष्टि हुन्छ । बजेटको प्रमुख घोषणा नै गलत र प्राप्त हुन नसक्ने छ ।

मुद्रास्फीतिको सीमाको अनुमान अयथार्थ

५. अर्थमन्त्रीले मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित गर्ने घोषणा गर्नुभएको छ । अहिले नै मुद्रास्फीति ७ प्रतिशतबाट उकालो लागिसकेको छ । बजेटले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने र मुद्रास्फीति ७ प्रतिशतमा सीमित रहने भन्दै गर्दा यथार्थमा आगामी आर्थिक वर्षको मुद्रास्फीति कति प्रतिशत हुनसक्छ, सामान्य हिसाब गर्दा अनुमान गर्न सकिन्छ । अर्कोतर्फ हाम्रो उत्पादन रातारात, जादुको शैलीमा, नाटकीय ढंगले वृद्धि हुने सम्भावना छैन ।

विश्वव्यापी आपूर्ति प्रणाली समस्याग्रत छ, इन्धनलगायतका इन्पुटको मूल्य बढेका कारण उत्पादन लागत अकाशिएको छ । यो परिस्थितिमा कसरी ७ प्रतिशतको सीमाभित्र मुद्रास्फीति रहन सक्छ, के आधारमा यो सीमा निर्धारण भएको छ, यो अविश्वसनीय छ । यो बजेटले मुलुक र नेपाली जनता, खासगरी दैनिक कमाइबाट गुजारा गर्ने, श्रमिक वर्ग र न्यून आय भएका जनसमुदायको जीवनलाई अझ कठिन बनाउनेछ ।

गरिबी निवारणको लक्ष्य जनता झुक्याउन केन्द्रित

६. गरिबी हाम्रो साझा दुश्मन हो । हाम्रा सम्पूर्ण प्रयासहरु गरिबी निवारणका लागि लक्षित हुनुपर्नेमा दुईमत हुन सक्दैन । गरिबलाई गरिबीबाट मुक्त गर्छु भनेर सरकारले आश्वासन दिने तर, व्यवहारमा गरिबी घटेन भने जनतामाथि ठूलो धोका हुनेछ । सरकार वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउँछु भन्छ । तर, कसरी ? सरकारको आर्थिक वृद्धिदरमै समस्या छ, यो आधारहीन छ, त्यसबाट गरिब जनताले लाभ लिन पाउने कुरै भएन, आम नेपालीको आम्दानी बढ्ने भएन । महंगी अकाशिँदो छ, जीवन अझ कष्टकर बन्दैछ । अनि कसरी गरिबी निवारण हुन्छ ?

चुलिँदो व्यापार घाटाप्रति सरकार गैरजिम्मेवार र दिशाविहीन

७. निर्यात दोब्बर गर्ने, आयात २० प्रतिशतले घटाउने र पाँच वर्षमा व्यापार सन्तुलन कायम गर्ने घोषणा बजेटले गरेको छ । हालको निर्यातको बेसलाइन के हो, कति छ ? के वस्तु वा सेवाहरुको उत्पादन यो अवधिमा कसरी, कति हुनसक्छ ? सरकारी, निजी र सहकारी क्षेत्रको भूमिका कस्तो हुन्छ ? कुन गन्तव्यमा हामीले निर्यात गर्न सक्छौं ? हाम्रा वस्तु वा सेवाहरुको माग छिमेकी, क्षेत्रीय तथा विश्व बजारमा कहाँ छ ? त्यसको विश्वसनीय आधार के के हुन् ? सरकारले कुनै यथार्थ मार्गचित्र प्रस्तुत गर्न सकेको छैन । आयात घटाउने भनिएको छ, त्यो पनि उपभोगको आयात घटाउने वा पूँजीगत आयात घटाउने हो, बजेट स्पष्ट छैन । पूँजीगत आयात घटेमा देश थप आर्थिक सङ्कटमा जान्छ, विकास निर्माण प्रभावित हुन्छ ।

व्यापार सन्तुलन आफैमा वाञ्छनीय तर प्राप्त गर्न अत्यन्त दुरुह आयाम हो । यसका लागि सही र संगतिपूर्ण आर्थिक नीति, मजबुत, व्यापक दायरा र तीब्र गति भएको उत्पादन प्रणाली तथा संयमित आयात प्रवृत्ति अपरिहार्य हुन्छ । तर, सरकार त्यसका लागि आवश्यक पूर्वशर्तहरु पूरा गर्न पूर्णतः उदासीन छ ।

उद्देश्य र प्राथमिकता अस्पष्ट, अर्थतन्त्रको समस्या र अवसर पहिचान गर्न असफल

८. यो बजेटले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो राष्ट्रिय सङ्कल्पलाई त्यागेको छ । केवल मसिनो स्वरमा आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलको आयातमा ३० प्रतिशतले कम गर्ने बजेटको प्रस्ताव छ । बजेटले एकातिर कृषि क्षेत्रमा ठूलो लगानी र प्राथमिकताको कुरा गरेको छ भने अर्कोतिर कृषि क्षेत्रका अन्य उत्पादनहरुको आयात कम गर्ने कुनै नीति अघि सार्न सरकार डराएको छ ।
एकातर्फ स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणात्मक सुधार गरी मानव विकास सूचकाङ्कमा सुधार ल्याउने अर्थमन्त्रीको दाबी रहेको छ भने अर्कोतर्फ बजेटका प्राथमिकता र उद्देश्यहरु हेर्दा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र कल्याणका क्षेत्र न उद्देश्यमा समेटिएको छन् न त प्राथमिकतामा नै परेका छन् ।

व्यापार सन्तुलन कायम गर्ने घोषणा गर्ने सरकारको बजेटको प्राथमिकतामा निर्यात प्रवद्र्धनले स्थान पाउन नसक्नु अर्को आश्चर्यको विषय रहेको छ ।

उदीयमान दुबै छिमेकी विशाल अर्थतन्त्र, आर्थिक विकासको क्षेत्रीय र विश्वव्यापी प्रवृत्ति र नेपालको राष्ट्रिय आवश्यकताप्रति यो बजेट पूर्णतः उदासिन छ । न उद्देश्य र प्राथमिकताबीच सङ्गती छ, न क्षेत्रगत कार्यक्रमहरु स्पष्ट र प्रतिवद्धता सहितको छ, न आवश्यक स्रोत विनियोजन सहितको छ, छ त केवल गोश्वारा भाषामा लेखिएको निबन्ध जस्तो ।

विषयहरुको प्रस्तुती अर्थतन्त्रको सामथ्र्यभन्दा अत्यधिक बढी र मनोगत आग्रहमा आधारित छ, के गर्ने, कसरी गर्ने भन्ने पटक्कै छैन । कार्यक्रम र योजनाहरु व्यक्ति विशेष र समूह विशेषलाई केन्द्रमा राखेर प्रस्ताव भएका हुन् कि भन्ने प्रशस्त ठाउँहरु छन् । कृषि, उद्योग लगायतका क्षेत्रहरुमा छरपस्ट अनुदान, छूट, सुविधा, सहुलियत र सहयोगका आश्वासनहरु छन् । कुन लक्षित बर्गलाई केका लागि कसरी दिने र अर्थतन्त्रमा के योगदान पुग्छ, त्यसका लागि स्रोत विनियोजन कति आवश्यक छ, त्यो स्रोत कहाँबाट कसरी जुटाउने कुनै यथार्थपरक अनुमान छैन, केवल घोषणामा मात्र केन्द्रित छ, बजेट । यसबाट बजेट प्रणाली र हाम्रो अर्थतन्त्रको क्रेडिबिलिटीमा ह्रास आउने निश्चित छ ।

यो बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्लेकीरा जस्तो छ । यो बजेटले तीब्र गतिमा अत्याधुनिक विकास गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने राष्ट्रिय कार्यभार बहन गर्न सक्दैन, सभामुख महोदय । यो गठवन्धन सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षा कार्यान्वयन त परै जाओस् उच्चारण गर्न सम्म संकोच मानिरहेको छ । नेपालको समृद्धि र नेपालीको सुख भन्दा महत्वको अर्को बिषय बजेटको लागि हुन सक्छ र सभामुख महोदय ? सरकार यो राष्ट्रिय संकल्पबाट किन टाढिदै छ ? नेपाली जनताबाट त्यसको मूल्याङ्कन हुनेनै छ ।

आम्दानी र खर्चका स्रोतहरु अयथार्थ र अविश्वसनीय

९. बजेटमा समग्र र यथार्थ वित्त क्षमताभन्दा खर्च बढी प्रस्ताव गरिएको छ । प्रस्ताव गरिए बमोजिमका लगानीका स्रोतहरु जुट्ने विश्वासिलो आधार छैन । विकास बजेटको करिव ५० प्रतिशत वैदेशिक स्रोतबाट प्रस्तावित छ । यसमा वैदेशिक अनुदान परिचालनको मात्र, चालू आर्थिक वर्षको वार्षिक अनुमानको कुरा नै छाडौं, माननीय अर्थमन्त्रीले आफैले गर्नुभएको संशोधित अनुमान रु. २५ अर्बको यो हप्तासम्मको आँकडा हेर्दा करिव रु. १४ अर्ब मात्र परिचालन भएको देखिन्छ । यो करिव ५६ प्रतिशत मात्रै हुन्छ । त्यसर्थ, आगामी आर्थिक वर्षमा विकास खर्चको वार्षिक अनुमान अनुरुप परिचालन हुन सक्छ भनेर विश्वास गर्न सकिन्न ।

कर राजश्वतर्फ चालू आर्थिक वर्षको संशोधित अनुमानमा आगामी आर्थिक वर्षमा करिव २९ प्रतिशत राजश्व परिचालन गर्ने प्रस्ताव छ । कोभिड १९ ले तहसनहस भएको र चालू आर्थिक वर्षमा थप सङ्कटापन्न देखिएको निजीक्षेत्रसँग ठूलो मात्रामा थप राजश्व उठाउने प्रस्तावले निजीक्षेत्रले उत्साह गुमाउने छ । यो आँकलनका आधारमा खर्चका लागि आवश्यक पर्ने स्रोत जुट्न सक्ने देखिँदैन ।

समग्र आयकरमा ३७ प्रतिशत र निकाय÷कम्पनीले तिर्ने आयकरमा ४६.४ प्रतिशतले वृद्धि गरिएको छ । यो लक्ष पुराहुने संभावना छैन । यसले करदातालाई आतंकित मात्र तुल्याउने छ ।

चालु आर्थिक बर्षको बैशाख महिना सम्ममा आन्तरिक मूल्य अभिवृद्धि करमा ५ प्रतिशतले नकारात्मक वृद्धि भएको छ । यस्तो अवस्थामा आगामी बर्षका लागि प्रस्ताव गरिएको २१.६७ प्रतिशत वृद्धिको लक्ष्य पनि पुरा हुन सक्तैन ।

अन्तशुल्क तर्फ पैठारीबाट संकलन हुने राजश्वमा २८.२९ प्रतिशत वृद्धिको लक्ष्य राखिएको छ । अन्तशुल्क लाग्ने वस्तुहरुको आयातमा कडाई गरिएको अहिलेको अवस्थामा यो लक्ष्य पुरा हुने आधार देखिदैन ।

आयात न्यूनतम २० प्रतिशतले घटाउने तर भन्सार महशुल भने ३४.६२ प्रतिशले वृद्धि प्रस्ताव पनि विरोधाभाषपूर्ण छ ।

डेलिभरी दिन नसक्ने बजेट

१०. यो बजेटमा न त पर्याप्त स्रोतको विश्वसनीय व्यवस्था छ, न कार्यान्वयनलाई प्राथमिकतामा नै राखिएको छ, न समय निर्धारण गरेर तोकिएको समयमा आयोजना, कार्यक्रम सम्पन्न गर्ने र लक्षित परिणाम प्राप्त गरिछाड्ने प्रतिवद्धता नै छ । यी कुनै विषय बजेटको उद्देश्य र प्राथमिकतामा छैनन् । जवकि यी विषयहरु नेपाली अर्थतन्त्रका मूल समस्या हुन्, विकास व्यवस्थापनका जटिल समस्या हुन् । यो बजेटले न यी समस्याहरु, जटिलताहरु पहिचान गरेको छ, न समाधान नै प्रस्तुत गरेको छ । तसर्थ यो निबन्ध रुपी बजेटले कुनै डेलिभरी दिनसक्ने विश्वास गर्न सकिँदैन, सभामुख महोदय ।

गतल विनियोजन

११. बजेट निर्माणको सिद्धान्तलाई वेवास्ता गरेर आवश्यकता, परिणामको विश्वसनीय आधार र अध्ययन बिना पूँजीगत खर्च विनियोजन गरिएको छ । जस्तो,

  • गतव र्षको अनुपातमा चालु खर्च बढेको छ, पुँजीगत खर्च घटेको छ । गतबर्ष पुँजीगत खर्च २२.७१ प्रतिशत थियो । अहिले बजेटको आकार १ खर्ब ४६ अर्बले बढ्दा पनि पुँजीगत खर्चका लागि गरिएको विनियोजन २१.२ प्रतिशत मात्र छ । अर्थतन्त्र संकटपूर्ण बन्दै गएको बेलामा पनि पुँजीगत खर्च घटाएर चालु खर्च बढाउने यो सरकारलाई के भन्ने ? लगानी घटाउने तर आर्थिक वृद्धि लगायत समग्र अर्थतन्त्रमा चमत्कारको दावी गर्नेलाई के भन्ने ?
  • अर्थतन्त्रका चुनौतीलाई वेवास्ता गरेर विना आधारका काल्पनिक कार्यक्रम अघि सारिएको छ । अगामी बर्ष खाद्यान्न, तरकारी र फलफूको आयात ३० प्रतिशत कम गर्ने, निर्यात दोब्बर गर्ने, आयात २० प्रतिशतले घटाउने, बार्षिक ३० प्रतिशतका दरले रोजागरी वृद्धि गर्ने, ३ बर्ष भित्र भूमिहिन दलितलाई आवास उपलब्ध गराउने, बार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिविको रोखाबाट माथी उठाउने, मानव विकास सुचकाङकलाई ०.६५० पुर्‍याउने आदि त्यस्तै आधारहिन र काल्पनि कार्यक्रमहरु हुन् । यी कार्यक्रमको कार्यान्वयन कस्तो होला भन्नेकुरा यही सकारको ९/१० महिना हेर्दा थाहा हुन्छ ।
  • बजेट मार्फत संकटको डिलमा पुगेको बेलामा अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउन ध्यान केन्द्रति गर्नुको साटो पाँच महिने चुनावी सरकारले,
  • कोशी र कर्णाली नदीलाई जोड्ने,
  •  निजिक्षेत्रको लागानीमा २ घण्टामा पुग्नेगरी चतराबाट–सगरमाथा र मिर्चैया–लुक्ला–सगरमाथा दु्रतमार्ग निर्माण गर्ने, (९५ र २१३) सगरमाथाको चुचुरोमै द्रुतमार्ग पुग्ने भयो हैन त ?
  • काठमाण्डौबाट चितवन सम्म एकघण्टामा पुग्ने दु्रतमार्ग निर्माण गर्ने,
  • वास्तविक किसानको लगत र लागतको पूर्वानुमान बिना किसान पेन्सन लागु गर्ने,
  • गतबर्षको तुलनामा खानेपानी मन्त्रालयको बजेट १७ प्रतिशतले कटौती गरेर एकघर एकधारा कार्यक्रम कार्यान्वयन गर्ने, (आफ्नो घरमा आफै धारा जोड्नु भन्ने आदेश हो कि ?) जस्ता कार्यक्रम र योजनाहरु अघि सारको छ ।
  •  कृषि कर्जा उपलब्ध गराउन ५ खर्ब बराबरको लघुवित्त कोष भनिएको छ तर त्यसको स्रोत सुनिश्ति गरिएको छैन । पाँच खर्ब कहाँबाट ल्याउने ? अरु सबै कोष रित्याएर यता सार्ने हो कि ?
  • साना पूर्वाधार आयोजना प्रदेश र स्थानीय तहमा पठाउने घोषणाको अन्तर्य अर्कै छ । साना योजना केन्द्रले छनोट गरेर ती योजना सहित सिमित मात्राको सशर्त अनुदान प्रदेश र स्थानीय तहमा पठाइदै छ । यसबाट आफ्नो योजना आफैले छनोट गर्ने प्रदेश र स्थानीय तहको अधिकार कटौती गरेको छ । यो संघीयता विरोधी कदम हो । केन्द्रबाट लादिएका त्यस्ता कार्यक्रम कार्यान्वयन हुन पनि सक्तैनन् ।
  • उत्पादन वृद्धि र आयात प्रतिस्थापनको नारा छ तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट गतबर्षको तुलनामा घटेको छ ।
  •  संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा सञ्चालन गर्ने भनिएको आत्मनिर्भताको लागि कृषि उत्पादन नामक कार्यक्रमको मोडालिटी के हो ? स्रोत के हो ? कस्ले र कसरी कार्यान्वयन गर्ने छ ? प्रतिफल के हुनेछ ? स्पष्ट छैन । यो केवल प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रमलाई क्रमशः विस्थापित गर्ने मनसायले आएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रमलाई डाउन साइज गरिएको छ (५ अर्व ९० करोड) र कृषि नामको (१० अर्ब) कार्यक्रममा ठूलो अंकको बजेट लोड गरिएको छ ।
  •  कृषिसँग सम्बन्धित कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्न पर्ने सम्वैधानिक व्यवस्थालार्य किन वेवास्ता गरिएको हो ?
  • स्वास्थ्य विमा वापतको उपचार सरकारी अस्पतालबाट मात्र गर्ने भनिएको छ । संभव होला त सरकारी अस्पतालबाट मात्र यस्तो सेवा उपलब्ध गराउन ?
  •  पढी नसक्नु नाराछन्, नाराको भीडमा बजेट अल्मिलिएको छ । कार्यक्रम प्रस्ताव गर्नुको आवश्यकता र आधार, स्रोत व्यवस्था, कार्यान्वयन मोडालिटीमा स्पष्टता छैन ।
  • महिला पहिला भन्ने नारा झूठो साविकत भैसकेको छ । सत्ता पक्षीय गठवन्धनले स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष मध्ये कुनै एक महिला उम्मेदवार हुनैपर्ने व्यवस्था कार्यान्वयन हुन नदिएर १५० बढीको संख्यामा महिला प्रतिनिधित्व कटौती गरेको छ ।
  • यतिज्यादा वितरणमुखी बजेट ल्याउन सक्ने सरकारले सामाजिक सुरक्षा भत्ता पाँच बर्षमा ५ हजार किन नगरेको ? प्रधानमन्त्री ६५ बर्षबाट ६८ बर्षमा उकालो चढ्नु भएको हो ?
  • १५ प्रतिशत तलब वृद्धि बाट तल्लो तहका न्यूनवैतनिक कर्मचारी मर्का सम्वोधन होला त ?
  •  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३ बर्ष भित्र देश भरीका सार्वजनिक विद्यालय तथा क्याम्पसहरुको पूर्वाधार निर्माण सम्पन्न गर्ने चालु योजनालाई अवमूल्यन गरिएको छ, कटौती गरिएको छ ।
  • नेपाल आफैले निर्माण गर्न बजेटको अभाव हुँदैन भनिएको बुढी गण्डकी आयोजनाका लागि कति बजेट विनियोजन गरिएको छ ? बजेट वक्तव्यमा किन उल्लेख गरिएन ?
  • दुनियाले खाद्य सुरक्षाका लागि आवश्यक कदम चालिसके । भारतले गहुँ, चिनि, चामलको निर्यात रोक्यो । तर सरकारलाई संभावित खाद्य संकटप्रति कुनै चासो छैन, बजेट यस बिषयमा मौन छ ।
  • बजेट पढ्दा पेपरका रेल र पानि जहाज उत्पादन गर्ने कारखाना बन्द हुनेभएछ भन्ने थाहा भयो सभामुख महोदय । निरर्थक विवादको लामो श्रृङ्खला पार गरेरै भए पनि रेल र पानि जहाजको विवाद अन्त्य हुनुलाई उपलब्धि नै मान्नु पर्ला ।
  • इन्डक्सन चुलोका लागि पूर्वाधार तयार छैन । पूर्वाधार तयार नगर्ने तर इन्डक्सन चुलो सित्तैमा वितरण गर्ने नीतिको अर्थ के हो ? के अव धनाढ्हरु, विलेनियरहरुलाई पनि सित्तैमा बाँड्ने हो इन्डक्सन चुलो ?
  • किसान पेन्सनको स्रोत के हो ? विना अध्ययन, लाभग्री, लागत अनुमान, स्रोतको व्यवस्था, प्रतिफलको प्रक्षेपण, कार्यान्वयन ढाँचा आदि विषयलाई वेवास्ता गरेर अघि सारिएको किसान पेन्सन प्रचारका लागि मात्र हो ?
  • अनेक प्रकारका अनुदानका कार्यक्रमहरु अधि सारिएको छ तर अनुदान कसलाई दिने ? किन दिने ? के प्रतिफल आउँछ भन्ने आधारमा दिने स्पष्ट छैन । अनुदान सम्बन्धी कैयौं प्रस्तावहरु निर्णयकर्ताको तजविजमा भरपर्ने अवस्था छ । यसबाट संसदको अधिकार समेत अतिक्रमित भएको छ ।
  • ३०० का दरले पालिकामा खटाइने स्वयमसेवक तलवी हुन् कि बेतलवी ? तलवी हुन भने तलव कस्ले दिन्छ ? छनोट कसरी हुन्छ ?
  •  ग्रेनाइड, मार्वल, ढुङ्गा, चट्टान, ढुङ्गा निकासी निर्यात गर्ने प्रस्तावको औचित्य सुन्न पाइएला कि सभामुख महोदय ?

असंगत कर प्रस्ताव

१२. बजेटमा प्रस्तुत गरिएको कर संशोधन प्रस्ताव आधारहिन, असंगत र प्रत्यूपादक छ । उदाहरणका लागि,

  • विद्युतीय सवारी साधनमा अन्तशुल्क लगाईएको छ र भन्सार बढाइएको छ । नेगेटिभ लिस्टका सामाग्री लाग्नुपर्ने अन्तशुल्क विद्युतीय सवारी साधनमा पनि लगाउनुको कारण के हो ? अब पनि विद्युतीय सवारी साधनलाई महँगो बनाएर डिजेल पेट्रोलकै सवारी साधनलाई प्रोत्साहित गर्ने हो ? जतिसुकै महँगो होस, पेट्रोलियम पदार्थ माथिको निर्भरता बढाउँदै लाने हो ?
  • व्यक्तिको घर र जग्गाको बिक्रीमा लाग्ने पुँजीगत लाभकरको दर २.५ प्रतिशतबाट ५ प्रतिशत र ५ प्रतिशतबाट ७.५ प्रतिशत हुने गरी वृद्धि गरिएको छ । सतप्रतिशत सम्म पुँजीगत लाभकर बढाउँदा कमजोर आर्थिक हैसियतका नागरिकको जीवनमा के प्रभाव पर्ला भन्ने कुराको अध्ययन भएको छ कि छैन ?
  • सहकारी संस्थाहरुलाई लाग्ने आयकर नगर, उपमहारनगर र महानगरपालिकामा क्रमशः ५, ७ र १० प्रतिशत भएकोमा ७.५, १० र १५ प्रतिशत पुर्‍याइएको छ । गरिवी निवारण र रोजगारी सिर्जना गर्नमा योगदान गर्ने सहकारीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा करको भार थपिएको छ ।

(आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्यमाथि नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्रीको टिप्पणी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७