महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्चमा मुद्दा


१५ असार २०७९, बुधबार
Khamba Bahadur Khati

काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले हेटौंडास्थित वागमती न्यायाधिवक्ताको कार्यालयमा गरिएको सरुवाविरुद्धमा महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेकी हुन् ।

थोकरलाई असार २ गते ललिलतपुरबाट हेटौंडा सरुवा गरिएको थियो । नाबालिका बलात्कार मुद्दामा कमजोर अभियोजनका लागि आफूले नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले नियम विपरीत सरुवा गरेको थोकरले जिकिर गर्दै आएकी छन् ।

थोकरले दिएको असार ९ को निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । त्यसपछि सुनवाइ हुनुपर्ने माग गर्दै थोकरले पुनः निवदेन दिएकी थिइन् । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजालसले आदेश दिएपछि थोकरले बुधबार मुद्दा दायर गरेकी हुन् । थोकरको उजुरीमा महान्यायाधिवक्ता खाती, उनको सचिवालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले थोकरको मुद्दाको सुनुवाइका लागि बिहीबारको समय तोकेको छ ।

व्यापारी सुशील चटौतले घरमा काम गर्ने एक १३ वर्षे बालिकालाई ३ वर्षदेखि बलात्कार गर्दै आएको मुद्दामा अभियोजन कमजोर बनाउन महान्यायाधिवक्ताको सचिवालयमा कार्यरत दुई कर्मचारीले दबाब दिएको थोकरले बताउँदै आएकी छन् । बलात्कार मुद्दामा चटौत हिरासतमै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७