कहिले आउला बागलुङमा पानी ?


१ श्रावण २०७९, आईतवार
0 Shares
water
file

बागलुङ । कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटक पटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् ।

शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइमा पनि यस्तै प्रश्न उठे । बजेट किताब सार्वजनिक र श्वेतपत्र जारी गरेलगत्तै नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्दा आधारभूत आवश्यकतामा बढी प्रश्न उठेका हुन् । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले पनि अधिकांश जिज्ञासा र चिन्ता मौलिक हक पालना नभएको पाएकाले नगरपालिका सचेत बनेको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सुनुवाइमा नयाँ जनप्रतिनिधिका थोरै चुनौती र सबैभन्दा बढी बागलुङको खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रश्न उठेका थिए । सुनुवाइमा सहभागी अधिकांशले नगरको खानेपानीमा भएको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । उनीहरुले नगरपालिकाले खानेपानीको अभिभावकत्व लिनुपर्नेसमेत सुझाए । धौलागिरि अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी नभएको, सयौँ सेवाग्राहीलाई सामान्य जानकारी दिने काम नभएको, खानेपानीको व्यवस्थापन नभएको र आवश्यक दक्ष चिकित्सक घटेको समेत बताए ।

नगरपालिकाले सञ्चालन गरेका पूर्वाधार गुणस्तरहीन भएको टिप्पणी सहभागीले गरेका थिए । सदरमुकामदेखि वडा तहमा जोड्ने सडक जीणर् बन्दै गएकाले पर्यटन, कृषि तथा अन्य क्षेत्रमा पनि प्रभाव परेको गुनासो थियो । ‘भकुण्डे पर्यटनको आकर्षण केन्द्र हो, यहाँ पुग्न सयौँको मन छ, तर जाने सडक भएन’, बानपा-४ का प्रकाश जिसीले भने, ‘उक्त सडकस्तरीय बन्दा नगरपालिकाले लाखौँ कमाई गर्न सक्छ ।’ पर्यटकको भीड लाग्दा स्थानीय बासिन्दाले रोजगारी पाउने र उत्पादनले बजार पाउने उनको तर्क थियो ।

jagdamba.cement

त्यस्तै बलेवास्थित हवाइ मैदान सञ्चालन, निर्माण सम्पन्न भएको बसपार्क व्यवस्थापन गर्नुपर्ने, अदालत चौपारीदेखि तित्याङ जाने सडकको सुरुआत खण्ड असहज भएको, खानेपानीको लिफ्ट योजना बनिरहेको भूगोलमा हुनसक्ने जोखिम घटाउन अहिलेबाटै पहल गरिनुपर्ने धारणा पनि आएका थिए । खानेपानीको मुहान भएका स्थानमा बङ्गुरपालन गरिँदा प्रदूषण बढेको, नदी दोहन रोक्न आवश्यक प्रक्रिया पूरा नभएको, काठेखोलामा जलचरको संरक्षणमा ध्यान नपुगेको जस्ता प्रश्न समेत उठेका थिए ।

सहभागीको जिज्ञासामा नगर प्रमुख श्रेष्ठले प्रश्नको जवाफ दिएका थिए । उनले नगरवासीलाई आगामी पुस मसान्तसम्म स्वच्छ र नियमित खानेपानी खुवाउने प्रतिबद्धता जनाए । ‘निर्माणाधीन काम सक्न समय लाग्ने भएकाले केही ढिला हुन्छ, तर काम सक्न चाहिने उपकरणमा नगरपालिकाले सहजीकरण गर्नेछ’, उनले भने, ‘अप्ठ्याराहरु फुकाउने काम गर्छौं, तर ठेकेदारले काम समयमा सक्नुपर्छ ।’ साथै उनले लिफ्ट खानेपानीको विकल्प समेत सोचिसकेको भन्दै कालीगण्डकीको पानी समेत ल्याउन प्रारम्भिक सर्भे गर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले अब समयमा योजना सम्झौता गर्ने, समयमा फरफारक गर्ने पद्दति बसाल्ने बताए । उनले समयमा काम सक्दा भुक्तानीको समस्या नहुने, अनुगमन प्रभावकारी बन्ने र बेरुजुलगायतका अप्ठ्यारा समयमा फुकाउन सकिने बताए ।

‘अब साउनबाटै योजना सम्झौता हुनेछन्, त्यसैले असारमै रातो किताब ल्यायौं’, उनले भने, ‘मंसिर मसान्तमा सम्झौता नभए पुसको नगर परिषद्ले रकमान्तरण गरेर अन्यत्र हाल्नसक्ने व्यवस्था छ ।’ उनले रकमान्तरण भएका योजनामा पनि फागुन मसान्तभित्र सम्झौता गरिसक्ने लक्ष्य बनाएको बताए ।

कार्यक्रममा उपप्रमुख राजु खड्का, अस्पतालकी नर्स अधिकृत शान्ति खड्का र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जिज्ञासाको जवाफ दिएका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७