पाँच सामुदायिक विद्यालयलाई बस


४ श्रावण २०७९, बुधबार
school bus scaled

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो । सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८/७९ को बजेटबाट नगरपालिकाले प्रतिबस रु १८ लाख अनुदान दिएको छ । विद्यालयको लागत रु पाँच लाख मात्र रहेको छ ।

‘हामीले नगरपालिकाको करिब ८० प्रतिशत अनुदानमा सामुदायिक विद्यालयलाई बस प्रदान गरेका छौं’, पाण्डेले भने, ‘बसमा विद्यालयको लागत अनिवार्य गरेका छौँ ।’ नगरपालिकाले मध्यविन्दु-३ को जनता मावि, मध्यविन्दु-११ को वीरेन्द्र मावि, मध्यविन्दु-१२ को यादव मावि, मध्यविन्दु-१३ को सरस्वती मावि र मध्यविन्दु-१५ को ज्ञानोदय माविलाई अनुदानमा बस प्रदान गरेको हो ।

नगरपालिकाले हालसम्म नगरका १० सामुदायिक माध्यमिक विद्यालयलाई बस प्रदान गरिसकेको नगर प्रमुख भीमलाल अधिकारीले बताए । नगरपालिकाभित्र १३ वडामा १३ सामुदायिक माध्यमिक विद्यालय छन् । वडा नं ९ को नेपाल लोकसेवा माविलाई भने स्थानीय सामुदायिक वनले सहयोग गरेर बस प्रदान गरेको छ । पन्ध्र वडा रहेको मध्यविन्दुको वडा नं १ र ५ मा सामुदायिक माध्यमिक विद्यालय छैनन् । विद्यालय यातायात व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत नगरभित्रका सामुदायिक माविलाई बस उपलब्ध गराइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७