न्यायालय सुधारमा ध्यान दिन सांसदहरुको जोड


४ श्रावण २०७९, बुधबार
samsad 1 scaled

काठमाडौं । सांसदहरुले सामान्य नागरिकले सहज रुपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको समग्र सुधारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै सांसदहरुले न्यायालयको सुधारसँगै वर्षाका कारणले हुने डुबान, सडक दुर्घटना लगायतका विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । सांसद प्रकाश रसाइली स्नेहीले पहुँचयोग्य न्याय नभएको बताए । समग्र न्यायालयको सुधारका लागि उच्चस्तरीय न्याय सुधार र निर्देशन आयोग गठन हुनुपर्नेमा उनको जोड छ ।

सांसद पार्वतीकुमारी विसुङ्खेले अदालतको पुनः संरचना नहुँदा जनताको पहुँच न्यायमा नपुगेको र जनमुखी न्याय नभएको बताइन् । न्यायमूर्तिलाई महाअभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने उनको भनाइ छ ।

सांसद डा. डिला सङ्ग्रौला पन्तले वर्षा सुरु भइसकेकाले अहिलेदेखि दसैं तिहारमा सडक दुर्घटना बढी हुने हुँदा यसको न्यूनीकरणमा सरकारले ध्यान दिनुपर्ने बताइन् । सांसद दिलकुमारीले बर्सेनि सर्पको टोकाइबाट धेरैको मृत्यु हुने भए पनि उपचारका लागि राम्रो व्यवस्था नभएको बताइन् ।

सांसद टेकबहादुर बस्नेतले मदन भण्डारी लोकमार्गका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । सांसद दिव्यमणि राजभण्डारीले महङ्गी बढिरहँदा सचेत जनताले खर्च कटौती गर्न सार्वजनिक सवारीसाधन प्रयोग गर्नुपर्नेमा जोड दिए ।
सांसद दीपकप्रकाश भट्टले सुदूरपश्चिमको पहाडी जिल्लाबाट उपचारका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता भएकाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठाको आवश्यकता रहेको बताए । सांसद नबिना लामाले गङ्गालाल अस्पताल लगायतका अस्पतालमा अहिले उपकरण अभावले मुटुको शल्यक्रिया नभएकाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सांसद देवप्रसाद तिमल्सिनाले तराईमा ४०/४५ डिग्रीको तापक्रम हुँदा दिनभर काम गरेर खानुपर्नेले बाहिर निस्कन नसकेकाले जनतालाई राहतको व्यवस्था गर्नुपर्ने बताए । सांसद नारायणप्रसाद खतिवडाले टोखा-छहरे सुरुङमार्ग बजेटबाट हराएको र धेरै राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ भइरहेको औँल्याए ।

सांसद पवित्रा निरौला खरेलले दुर्गम क्षेत्रमा स्वास्थ्य संस्थामा सुविधा नहुँदा नागरिक सहरी क्षेत्रमा जानुपर्ने तर सहरी क्षेत्रका अस्पतालमा सरकारीमा पहुँच र निजीमा ठूलो रकम चाहिएको बताइन् । सांसद पार्वता डिसी चौधरीले दाङमा ३९ मिल उद्योग मिल खोलेका स्थानीयवासीले १९ वर्ष पनि मिल खाली गर्न भनेकाले सो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद पूणर्कुमारी सुवेदीले वर्षायाम सुरु भए पनि नेपालगञ्जमा जलमग्न भइरहेको र विगतमा पनि धेरै धनजनको क्षति भएकाले सरकारको ध्यानाकर्षण गराइन् । सांसद प्रभु साहले काठमाडौँमा पानी परे पनि तराईमा किसानले खेती गर्न नसकेको बताए । किसान आकासे खेतीमा बाँच्नु परेको र उनीहरुले सिँचाइ, बीउ, मल नपाएको उनले बताए ।  सांसद डा. विजय सुब्बाले तेह्रथुम र पाँचथर जोड्ने तमोरको पुल विसं २०६९ मा सुरु भएकामा अझै सम्पन्न नभएको र अहिले आएर निर्माण रोकिएको बताए । पुल निर्माण पूरा गर्नुपर्ने र ढिलाइ गरेमा कारबाही हुनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७