ओलीको आरोप : नेकपाकालीन पाँच नेता जनविरोधी र देशद्रोही


१७ श्रावण २०७९, मंगलवार
KP Sharma Oli

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई देशद्रोहीको आरोप लगाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जनविरोधी र देशद्रोही भएको ओलीले आरोप लगाएका हुन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्य स्मृति दिवसमा उनले सत्तारुढ गठबन्धनबाहिर रहेका वामपन्थी दलहरूलाई एकतामा आउन आग्रह गरेका छन् भने गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूलाई आत्मआलोचना गरेर आए सोच्ने बताए ।

 ‘गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर त्यसका उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा पनि विचार गर्न सकिएला । गठबन्धनमा बसेर दुष्ट उद्देश्य राखेर अस्ति त पाँच भाइ भेला भएछन्; जो नेकपामा हुँदा दुःख दिनेहरू थिए नि । पाँच भाइ पार्टी फुटाउनेहरू जम्मा भएछन् । अनि के पो बनाउने भने, समाजवादी केन्द्र बनाउने । समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ?, ‘ उनले भने, ‘यी जनविरोधी, देशद्रोही, यी एमसीसी, यी एसपीपी, यिनीहरू समाजवादी ? यिनीहरू न समाजवादी हुन्, न केही हुन् ।’

ओलीले आगामी निर्वाचनमा गठबन्धनलाई पराजित गर्नका लागि बाँकी दलहरू एकजुट हुनुपर्ने आह्वान गरे । ‘यो अपवित्र, देशद्रोही गठबन्धन हो, अलोकतान्त्रिक, भ्रष्ट गठबन्धन हो यो’ भन्दै ओलीले गठबन्धन बाहिर रहेका दलहरूलाई एमालेमा समाहित हुन आग्रह गरेका थिए ।

उनले फरक पार्टी वा चुनावी गठबन्धन बनाउन भन्दा पनि एमालेमा समाहित हुनुपर्ने बताए । भने’अहिले गठबन्धनभन्दा बाहिर रहेका कम्युनिस्ट वामपन्थी पार्टीहरू, व्यक्ति, शक्तिहरू यो गठबन्धनजस्ता दुष्ट आशय बोकेका त छैनन् । दुष्ट आशय बोकेका नभएको हुनाले, दुष्ट आशय बोकेकासँग पार्टी एकीकरण गर्न सक्दैनौं, एकता गर्न सक्दैनौं । दुष्ट आशय नबोकेका साथीहरू, ए बाबा यहीँ ठूलै भाडामा पकाएको ढिँडो खाउँ । फेरि यत्रो (सानो) भाँडो के गुजुगुजुक बसाउनुपर्‍यो ? म आह्वान गर्छु, आग्रह गर्छु आउनुस् । सँगै मिलेर काम गरौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७