राहदानी विभागका कर्मचारी र दलालको सेटिङ्ग : अनलाइन फारम भरेको शुल्क ४ देखि ७ हजारसम्म

पाँच हजार शुल्क लाग्ने पासपोर्टको अनलाइन फारम भरेको शुल्क ७ हजार


१९ श्रावण २०७९, बिहीबार
passport department

काठमाडौं : बाँकेकी संबिधा थापा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनको लागि आबश्यक प्रक्रिया बुझ्न राहदानी विभाग त्रिपुरेश्वर पुगिन् । कार्यालयमा कागजात बुझाउनु अघि राहदानीको अनलाइन फारम भर्नु पर्ने हुन्छ । त्यही फारम भर्नका लागि साथी मार्फत एउटा सम्र्पक नम्बर प्राप्त भयो। नम्बर थियो, माधव अर्यानको । उनले साथीको सहयोगमा आबश्यक विवरण पठाइन् ।

Madhav
माधव अर्यान

फारम भरेपछि प्रिइनरोलमेन्ट गरेको निवेदन अनिवार्यरुपमा प्रिन्ट गरेर अरु कागजात सहित पेश गर्नु पर्दछ । उनै माधव अर्यानले अनलाइन फारम भरे बापत ४ हजार शुल्क मागे । थापाले साथी मार्फत नै ५ हजार शुल्क लाग्ने अनलाइन फारम भरेको मुल्य ४ हजार नतिर्ने अडान राखिन् । उनले लामो समय कागजात दिएनन् । अन्तत २५ सय तिर्न राजी भईन् । कागजात पाइन् । बाँकेकी थापाले जस्तै रुपन्देहीका बसन्त पाण्डेको भाईले समेत यही सास्ती खेपे ।

राहदानी विभाग, काठमाडौंबाट नियमित प्रक्रियामा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिन ५ हजार रुपियाँ दस्तुर लाग्छ । ५ हजार तिरेपछि १५ दिनमा ई–पासपोर्ट प्राप्त हुन्छ । छिटो आबश्यक परेमा तीन दिनमा लिनका लागि १० हजार, दुई दिनमा लिन १२ हजार र एकैदिनमा लिनपर्ने भए १५ हजार तिर्नु पर्ने हुन्छ ।

थापा र पाण्डे जस्तै दर्जनौं सर्वसाधरणहरु अर्यालसम्म पुग्छन् । र ५ हजार शुल्क पर्ने राहदानीको फराम भर्दा यसरी महङ्गो शुल्क तिर्ने गरेका छन् । थापालाई ४ हजार माग्ने थापासँग नयाँ पेजले सेवाग्राहीको रुपमा सम्पर्क गर्दा सुरुमा आफूले अनलाइन फारमको काम गर्ने बताए । उनले भने, ‘काम हुन्छ, अनामनगरको हनुमान थानमा आउनुहोस् ।’ हनुमानथानस्थित कार्यलयबाट काम हुने उनको भनाई छ ।

खासमा कति लाग्छ शुल्क ?
राहदानी विभागको वेवसाइडमा फारम राखिएको हुन्छ । यो पहिलो चरण हो । राहदानीको निवेदन पेश गर्नको लागि प्रिइनरोलमेन्ट पहिलो चरण हो । यो फारम भर्न अधिकतम् आधा घन्टा लाग्छ । अधिकतम् मुल्य लिदा पनि ५ सयको काम हो ।

सेवाग्राहीले आफ्नो सुविधा अनुसार जहाँबाट पनि यो फारम भर्न सक्छन् । तर कम पढेलेखेका सेवाग्राहीहरु भने सिधैं विभाग पुग्ने गरेका छन् । विभाग पुगेकाहरुलाई कर्मचारीहरु र त्यहाँ परिचालित दलालहरुले महङ्गो मुल्य लिने ठाउँमा लैजाने गरेका छन् । ती भनिएका ठाउँहरुबाट फारम भरे छिटो पासपोर्ट निकालिदिने आश्वासन उनीहरुले दिने गरेका छन् ।

passport Nepal
कति लाग्छ शुल्क ?



कसरी पुग्छन् दलालसम्म ?
सर्वसाधरणहरु सुरुमा प्रक्रियाका लागि राहदानी विभाग पुग्छन् । कर्मचारीहरुलाई सोध्छन् । दलालसँग सहकार्यमा रहेका कर्मचारीहरुले नै नम्बर दिएर पठाउने गरेका छन् । सिफारिस अनुसार कर्मचारीहरुले फारम भर्ने ठाउँबाट कमिसन प्राप्त गर्ने गरेको स्रोतको भनाई छ ।

तर राहदानी विभागका निर्देशक तथा प्रवत्ता डमरु बल्लभ पौडेलले भने विभागका कर्मचारीहरुले त्यसरी नम्बर नदिएको, दिन नमिल्ने र दिएको पाइएमा कारबाही हुने बताए ।

प्रवक्ता पौडेलले नयाँ पेजसँग भने, ‘हामीले त सकभर घरमा नै फारम भरेर ल्याउनुहोस् भन्छौं । घरमा नसक्नेहरुले आफ्नो सुविधा अनुसार भरेर ल्याउनुहुन्छ । तर यो मान्छेमा जानुहोस् भनेर हामी सिफारिस गरेको पाइएमा कारबाही हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७