कार्यविधि नहुँदा सञ्चालन हुन सकेन खुला कारागार


२० श्रावण २०७९, शुक्रबार
khulla karagar ganapur

बाँके । बाँकेको गनापुरमा दुई वर्षअघि नै खुला कारागारको संरचना तयार भए पनि कार्यविधि नभएका कारण सञ्चालन हुन सकेको छैन ।

नेपालगञ्ज नजिकै रहेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा करिब रु एक करोड ७५ लाख लागतमा ३६ कोठे खुला कारागार भवन दुई वर्षअघि निर्माण भइसकेको छ । खुला कारागार परिसरमा एक दशकअघि नै निर्माण भएको साढे दुईतले १८ कोठे प्रशासनिक भवन जीणर् हुँदै गएको छ ।

खुला कारागारलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भए पनि सञ्चालन कार्यविधि नबनेका कारण कारागार विभागले त्यहाँ कैदी राख्न नसकेको बाँके जिल्ला कारागार प्रमुख जेलर रामकुमार सोनकरले बताए ।

उनका अनुसार, दुई तिहाइ कैद भुक्तान गरिसकेका र आचरण सुधार भएका कैदीलाई निश्चित शर्तका आधारमा खुला कारागारमा राख्ने अवधारणाअनुसार बाँकेको गनापुरमा खुला कारागार स्थापना गरिएको हो । खुला कारागार सञ्चालन कार्यविधि नबन्दै भौतिक संरचना निर्माण भएका कारण अहिले संरचना बेवारिसे अवस्थामा पुगेका हुन् । खुला कारागार सञ्चालनका लागि सुझाव पठाए पनि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआएको जेलर सोनकरको भनाइ छ ।

खुला कारागारमा कैदी बस्ने ३६ कोठे दुई वटा भवन छन् । दुवै भवनमा कैदीका लागि ६-६ वटा शौचालय छन् । खुला कारागार परिसरमा निर्मित कारागार भवन र प्रशासनिक भवन एक जना चौकीदारको भरमा छोडिएको छ ।

संरचना निर्माण भएको ठाउँमा खुला कारागारको छ बिघा र तत्कालीन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिन छ । उक्त जमिन खुला कारागारमा राखिएका कैदीलाई खेतीका लागि दिने नीति अघि सारिएको थियो । ‘कैदीले दिनभरि खेतीपातीको काम गर्ने र बेलुकी खुला कारागारमा आएर हाजिरी लगाउने र त्यहीँ बस्ने अवधारणाका साथ खुला कारागार बनाइएको हो’, जेलर सोनकरले भने ।

खुला कारागारका संरचना प्रयोगविहीन भइरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य रहेका छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५६ कैदीबन्दीलाई व्यवस्थापन गर्न समस्या भएको जेलर सोनकरले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७