‘दिग्गज’ क्रिकेट अम्पायर रुडी कर्टजनको कार दुर्घटनामा गयो ज्यान


२४ श्रावण २०७९, मंगलवार
mp

काठमाडौँ । ‘दिग्गज’ क्रिकेट अम्पायर रुडी कर्टजनको कार दुर्घटनामा ज्यान गएको छ । केपटाउनबाट घर फर्किरहेका बेला रिभर्सडेलमा भएको दुर्घटनामा ७३ वर्षीय कर्टजनसहित तीन जनाको मृत्यु भएको दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । ब्याटर आउट हुँदा विस्तारै औंला उठाउँदै आउटको संकेत गर्ने अम्पायरका रूपमा उनी निकै चर्चित थिए ।

बुवाको मृत्युबारे जानकारी दिँदै उनका छोरा रुडी कर्टजन जुनियरले भनेका छन्, ‘उहाँ साथीहरूसँग गल्फ प्रतियोगिताका लागि जानु भएको थियो । उहाँहरू सोमबार नै फर्किने योजना थियो तर अर्को चरणको खेलका लागि उहाँहरू रोकिनु भएको थियो ।’

कर्टजन एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक खेलमा अम्पायरिङ गर्नेमध्ये एक हुन् । गत वर्ष मात्रै पाकिस्तानका अलिम दारले कर्टजेनको कीर्तिमानलाई उछिनेका थिए । पाकिस्तान र जिम्बावेबीच रावलपिन्डीमा भएको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दारले कर्टजेनको २०९औं एक दिवसीय खेलको रेकर्ड तोडेका थिए ।

सुरुमा उनले साउथ अफ्रिकल रेल्वेमा रहँदा लिग क्रिकेट खेलेका थिए । सन् १९८१ बाट उनले क्रिकेटमा अम्पायरिङको करिअर सुरु गरेका हुन् । सन् १९९७ मा उनी आईसीसीबाट फुलटाइम अम्पायरका रूपमा नियुक्त भएका थिए । त्यस्तै सन् २००२ मा इलिट प्यानलका सदस्यसमेत भए ।

सन् १९९९ मा सिंगापुरमा भएको कोकाकोला कपअन्तर्गत भारत र वेस्ट इन्डिजबीचको फाइनल खेलमा घूस अस्वीकार गरेका कारण उनको निकै प्रशंसा भएको थियो । त्यसो त उनी आलोचनारहित भने बन्न सकेनन् । सन् २०००-२००१ मा इंग्ल्यान्ड र श्रीलंकाबीचको टेस्ट म्याचमा गलत निणर्य गरेको भन्दै उनको आलोचनासमेत भयो । उनले अन्तिम पटक सन् २०११ मा आईपीएलअन्तर्गत दिल्ली डेयरडेभिल्स र किंग्स इलाभेन पञ्जाबबीचको खेलमा अम्पायरिङ गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७