सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएन : सांसद देव


२५ श्रावण २०७९, बुधबार
jitendra dev

काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गरेका छन् ।

आज (बुधवार) राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद देवले निष्पक्ष ढङ्गले पालिका चुनाव सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा हुनु, नागरिकतासम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भए पनि एमालेले साथ नदिएको बताएका छन् । उनले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटक-पटक आग्रह गरे ।

लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरे । उनले भने, ‘सरकारले तीन/चार वटा युगान्तकारी काम गरेको छ । शान्तिपूणर् तरिकाले, स्वतन्त्र ढङ्गले पालिका चुनाव सम्पन्न भएको छ । अब मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुन गइराखेको छ । यही सदनले महिला हिंसाविरुद्धको ऐन संशोधन गरेको छ । यही सदनले नागरिकतासम्बन्धी ऐनलाई संशोधन गरेको छ । यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरूले के भन्नुहुन्छ ? यो पनि ठिक गरेन ? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौँ ? संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका रचनात्मक हुन्छ । तर अत्यन्त नकारवादको सिकार प्रमुख प्रतिपक्ष भइराखेको छ ।’

सांसद देवले मुख्य राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बेलामा अझै पनि एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७