नेदरल्याण्ड्ससँगको पहिलो एक दिवसीय क्रिकेटमा पाकिस्तान विजयी


१ भाद्र २०७९, बुधबार
pakistan NrDgJJZcGz

काठमाडौँ । नेदरल्याण्ड्ससँगको पहिलो एक दिवसीय क्रिकेटमा पाकिस्तान १६ रनले विजयी भएको छ । रोटरड्याममा भएको खेलमा पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्स्सले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो । उसका लागि बिक्रमजित सिंह, स्कट एडवार्ड र टम कुपरले अर्धशतकीय पारी खेले ।

कप्तान एडवार्ड ७१ रनमा अविजित रहे । बिक्रमजित र कुपरले समान ६५ रन जोडे । पाकिस्तानका हरिस रउफ तथा नसिम शाहले समान ३/३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो । उसका फकर जमानले १ सय ९ रनको शतकीय तथा कप्तान बाबर अजामले ७४ रनको अर्धशतकीय पारी खेले ।

नेदरल्याण्ड्सका लोगान भान विक तथा बास डि लिडीले समान २/२ विकेट लिए । भिभिएन किंग्माले १ विकेट लिए । जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय श्रृंखलामा १-० को अग्रता बनाएको छ । दुई देशबीचको दोस्रो एकदिवसीय क्रिकेट बिहीबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७