बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत : प्रचण्ड


५ भाद्र २०७९, आईतवार
prachanda 3

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा मार्ल्यापण गरी अध्यक्ष दाहालले उनीप्रति

श्रद्धाञ्जली अर्पण गरेका हुन् । श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाजवादी चिन्तक गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्‍याएको बताए । उनले भने, ‘बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।’

देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिने सांसद गिरीको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको उनको भनाइ थियो । ‘गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो’, अध्यक्ष प्रचण्डले भने ।

यसैगरी पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले पनि गिरीप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गए राति निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जली अपणर् गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुर्‍याइएको हो । गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७