नाराणमान विजुक्छेको नजरका कुन नेता कस्ता ?
काठमाडाैं, २१ चैत: नारायणमान विजुक्छे भौतिकवादी विचार राख्ने नेताका रुपमा चिनिन्छन् । उनी २०२७ सालमा पुष्पलाल नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीको सदस्य बने । सैद्धान्तिक कुरामा पुष्पलासँग मतभेद भएपछि उनले नेपाल मजदुर किसान पार्टी स्थापना गरे । त्यति बेलादेखि नै हालसम्म उनी पार्टीको अध्यक्षका रुपमा छन् । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दै करीब १० वर्ष भूमिगत जीवन विताएका विजुक्छे प्रष्ट बक्ताका रुपमा चिनिन्छन् ।
२०४८ को आम निर्वाचनदेखि ०७० को संविधानसभा निर्वाचनसम्म भक्तपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित बिजुक्छे ०७४ सालको प्रतिनिधिसभामा भने भाग लिएनन् । त्यसको कारण थियो युवालाई अवसर दिनु । सदन तथा सडकबाट गलत प्रवृति, सिद्धान्त, विचार र कार्यको विरोध गर्दै आएका बिजुक्छे विभिन्न दलका नेतालाई कुन आँखाले हेर्छन् त ? उनले पहिलो पुस्ताका आफ्ना समकक्षी नेताका विषयमा गरिएको कुराकानी । उनको नजरमा कुन नेता कस्ता ?
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली
‘स्वस्थ वक्ता तर, लजिक नभएका’
केपी ओलीजीसँग पहिलेदेखिकै मेरो चिनजान हो । प्रजातन्त्र पुनस्र्थापनाका लागि आनदोलन गर्ने कुरा थियो । उहाँ मान्नु भएन । पछि माधव नेपालले सम्झाउनु भयो । म र नारायणकाजी श्रेष्ठजी गएर पनि कुरा गर्यौँ । त्यसपछि उहाँ आन्दोलनमा सहभागी हुनुभयो । वास्तवमा उहाँलाई कांग्रेससँगको निकता मन पर्दैन थियो । उहाँ सिद्धान्तमा भन्दा बढी संख्यामा विश्वास गर्ने नेता हुनुहुन्छ । नाकाबन्दीको समयमा हामीले तपाईले अडान लिएसम्म सहयोग गर्छौ भनेक थियौं । तर, ओलीजीले ‘के गर्नु तपाईहरुको कम सिट संख्या छ, अरु धेरै संख्या भएका साथीहरु हुनुहुन्छ भन्नुभयो । त्यसैले उहाँ सैद्धान्तिक मुद्दामा निकै कम विश्वास गर्नुहुन्छ ।
‘भिजन छैन’
ओलीजीसँग आफ्नो कुनै भिजन छैन । अहिले पनि सरकारमा गएपछि म यी काम गर्छु भन्ने पूर्वतयारी गर्नु भएको छैन । ‘अरु देशमा पनि यस्तो भएको छ, हाम्रो देशमा पनि भइहाल्छ नि’ भनेर आश्वस्त पार्ने काम मात्र गर्नुृहुन्छ । उहाँको जवाफमा कुनै लजिक छैन जस्तो लाग्छ । जे मनमा आयो, त्यही बोल्नुहुन्छ । समग्रमा भन्नुपर्दा म उहाँको आलोचक नै हुँ । हिजो पञ्चायती व्यवस्था रहेको, कांग्रेस हिंडेको बाटोमा उहाँले एमालेलाई डोहो¥याउनु भएको छ ।
‘स्वस्थ वक्ता’
उहाँ मनको कुरा लुकाउनु हुन्न । त्यसैले स्वास्थ वक्ताको रुमा लिन्छु । साथै, छलछाम गर्ने पनि उहाँको छैन । तर, भित्रि चालबाजी के छ भन्ने चाहिँ मैले अहिलेसम्म बुझ्न सकेको छैन ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, नेकपा माओवादी केन्द्र
‘मै हुँ भन्ने भावना भएको नेता’
जनयुद्ध शुरु हुनु भन्दाअघि प्रचण्डजीले मलाई ‘ल दाइ हामीले यसो गर्न लाग्यौं’ भन्नु भएको थियो । मैले ‘किन यस्तो गर्नुहुन्छ, नगर्नुहोस्’ भनेर सुझाब दिएँ । उहाँले ‘तपाईको किताब पढेर हो’ भन्नुभयो । मैले किताबको नाम सोधें । उहाँले भन्नु पनि भयो । तर, मेरो किताब युद्ध गर्न प्रेरित गर्ने खालको थिएन । उहाँले त्यसलाई गलत रुपले बुझ्नु भएछ । मलाई अचम्म लाग्यो । उहाँमा तरिका आफूले भनेको हुनुपर्छ भन्ने छ । मानौँ, कुनै कुरामा हस्ताक्षर गराउनु छ भने उहाँले भनेपछि सकियो । अरुको कुरा सुन्नु हुन्न । यो कुरा गलत छ । उहाँ आफूलाई नै सर्वश्रेष्ठ मान्नुहुन्छ ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
‘धेरै हलुका नेता’
देउवाजीलाई म निकै हलुका व्यक्तित्व भएको नेताका रुपमा लिन्छु । उहाँ कुनै पनि कुरामा गम्भिर हुनुहुन्न । २०४८ मा उहाँ गृहमन्त्री हुँदा मैले ‘प्रहरी आए मेरो घरको सबै सामान उठाएर लग्यो । हामी ज्यानमारा भए पनि, जे भए पनि हाम्रो किताब चाहिँ दिनुहोस्’ भनें । तर, उहाँले ‘किताब दिन मिल्दैन बरु १०–१२ लाख कति चाहिन्छ लानुहोस्’ भन्नुभयो । यसरी उहाँ पहिले पनि गम्भिर हुनुहुन्थेन अहिले पनि त्यस्तै हुनुहुन्छ ।
माधवकुमार नेपाल
माधव नेपाल, बरिष्ठ नेता- नेकपा एमाले
‘प्रष्ट बोल्ने तर, स्ट्याण्डमा नबस्ने नेता’
माधव नेपाल कुराकानी ठिकै गर्नुहुन्छ । तर, परिणाम चाहिँ सो अनुसार आउँदैन । हाम्रो पार्टी फुटाउने मामिलामा उहाँको पनि मुख्य हात छ । उहाँको व्यक्तित्वले मलाई अहिलेसम्म कुनै पनि प्रभाव परेको छैन । उहाँ कुनै पनि अतिरिक्त क्रियाकलापमा अगाडि हुनुहुन्न । साथै उहाँलाई मैले अडान नभएको नेताको रुपमा बुझेको छु ।
एक पटक नागरिकताको विषयमा छलफल गर्न बालुवाटारमा बैठक थियो । कुरा नमिलेपछि माधबजी र हामी बैठकबट उठेर हिड्यौं । एकछिनपछि माधवजीको मोबाइलमा फोन आयो उहाँ फेरि फर्केर जानुभयो । शेरबहादुर देउवाजीसँग के–के कुरा गर्नु भएछ, पछि सहमतिपत्रमा हस्ताक्षर गर्न सहमत हुनुभयो । मैले ‘यस्तो के गरेको’ भनें । उहाँ ‘अब कति कराउने’ भन्ने जवाफ फर्काउनु भयो ।
‘प्रष्ट वक्ता’
माधवजी आफ्नो विचार, सिद्धान्तमा प्रष्ट हुनुहुन्छ । आफूलाई लागेका कुराहरु निर्धक्कसँग भन्न सक्नुहुन्छ । यो चाहिं उहाँको राम्रो पक्ष हो जस्तो लाग्छ ।
झलनाथ खनाल नेता एमाले
‘अडान लिन नसक्ने नेता’
झलनाथ खनाललाई निकै कम बोल्ने नेताका रुपमा मैले चिनेको छु । कसैसँग शत्रुता मोल्नु हुन्न । अरुको कुभलो चिताउनु हुन्न । ओछ्यान नबिगारी कोल्टे फेर्ने नेताको रुपमा म उहाँलाई लिन्छु । कतै बैठकमा भएको बेला उहाँ अडान लिन सक्नुहुन्न । अरुले ठिक भने ठिक, बेठिक भने बेठिक । बोल्नु पर्ने बेलामा नबोलेपछि मान्छेलाई चिन्न अलि गाह्राे हुन्छ । झलनाथजीलाई पनि त्यसैगरी चिन्न गाह्राे छ । मैले व्यक्तिगत रुपमा उहाँसँग त्यति संगत पनि गरेको छैन ।
बाबुराम भट्टराई संयोजक, नयाँ शक्ति पार्टी नेपाल
‘व्यवहारिक ज्ञान नभएको’
कम बोल्ने । तर, निकै एक्टिभ व्यक्ति उहाँ । तर, उहाँले प्रधानमन्त्री भएर गरेको काम व्यवहारिक हैन जस्तो मलाई लाग्छ । उहाँ राजनीतिमा भन्दा अरु कुनै फिल्डमा भए हुन्थ्यो जस्तो लाग्छ मलाई । उहाँको योजना अनुसार सातदोबाटोदेखि कोटेश्वरसम्मको २ किलोमिटर सडक निर्माण गर्न ५ वर्ष लाग्यो । यस्ता कुरामा ख्याल गर्न नसक्ने मान्छे व्यवहारिक हुनै सक्दैन । अरुले भनेको कुराको पछि लाग्नु हुन्छ उहाँ ।
राचन्द्र पौडेल वरिष्ठ, नेता नेपाली कांग्रेस
‘विरोधी भनेपछि सहनै नसक्ने नेता’
म राम चन्द्रजीको आलोचक हुँ । एक पटक बिस्केट जात्राको समय थियो । उहाँ गृहमन्त्री हुनुहुन्थ्यो । प्रहरीद्वारा दिनभर भिड तितरबितर पार्ने काम भयो । त्यपछि भक्तपुर नगरपालिकामा एक हुलले पुस्तकालयमा आगजनी गर्ने योजना बनाए । हामीले सूचना थाहा पाएपछि २ वटा टोली बनाएर गयौँ । तर, त्यहाँ प्रहरी पहिल्यैदेखि लुकेर बसेका रहेछन् । हामीमाथि रबरको गोली प्रहार भयो ।
थुप्रै साथी घाइते हुनुभयो । म बिरमी भएकाले त्यहाँ जान सकेको थिइनँ र बचेँ । भोलिपल्ट हामीले घटनाको नक्सांकन गर्याे। मिटिङ डाक्यौँ । त्यहाँ गृहमन्त्रीलाई पनि बोलायौँ । मैले नक्सा अघि राखेर उहाँलाई ‘तपाईले योजनाबद्ध तरिकाले यस्तो गर्नुभयो’ भनें । करीब २ घण्टा मैले उहाँलाई गाली गरें । तर, उहाँले, होइन भन्नु भएन । त्यसैले उहाँ निक्कै सानो मन भएको व्यक्ति हो । विरोधी भनेपछि सहनै सक्नु हुन्न । उहाँले काठमाडौंमा २ वटा घर बनाउनु भयो ।
उहाँ जस्तो व्यक्तिले जिल्लामा घर बनाउनु पर्ने हो नि । मैले उहाँलाई ‘तपाई जस्तो मान्छेले गाउँघरमा घर बनाएर राजनीति गर्नुपर्ने मान्छे किन काठमाडौंमा घर बनाउनु भयो’ भनेर सोधें । उहाँले ‘यस्तो राम्रो ठाउँ, बाढी पनि नआउने, पहिरो पनि नखस्ने, न गर्मी, न जाडो, तपाईहरुले कब्जा गरेर बस्ने हो’ भन्नुभयो । उहाँमा संकीर्णता छ कि जस्तो लाग्छ ।
नारायणकाजी श्रेष्ठ, नेता माओवादी केन्द्र
‘जवाफदेहिता छैन, बेइमानी गर्नुहुन्न’
नारायणकाजीको स्वाभाव टालटुल गरेर अरुलाई अल्झाइरहने खालको छ । शब्दको प्रयोग गर्न जान्नु हुन्न । उहाँ जवाफदेही हुनुहुन्न । आफूले कुनै गलत काम गर्नुभएको छ भने त्यसमा मरिगए बोल्नु हुन्न । उहाँ कुराकानी राम्रै गर्नुहुन्छ तर, व्यवहारमा त्यति राम्रो हुनुहुन्न । एक पटक गिरिजाबाबु, माधव नेपाललगायतका नेताहरु छलफलमा थियौं । त्यतिबेला उहाँको अध्यक्ष अमिक शेरचन हुनुहुन्थ्यो ।
उहाँ उठेर सरासर गिरिजाबाबु मलाई उपप्रधानमन्त्री बनाई दिनु प-यो भन्नुभयो । हामी लाजले रातोपिरो भयौं । बरु ‘हामीसँग मेरो इच्छा यस्तो छ भन्ने भए हामी प्रस्ताव राखिदिन्थ्यौं नि ।’ त्यस्तै, उहाँ अरुको कुरा सुनेर अघि बढ्नुहुन्छ । आफूले गर्ने काम ठीक हो की बेठिक भन्नेभन्दा पनि लहलहैमा लागेर डिसिजन लिने काम उहाँ गर्नुहुन्छ । जे, जस्तो भएता पनि बेइमानी गर्ने काम चाहिँ गर्नुृ हुन्न जस्तो लाग्छ ।
रामबहादुर थापा ‘बादल’ गृहमन्त्री एवम् माओवादी नेता
‘हेर्दा शालीन नेता’
बादलजी धेरै बोल्नु हुन्न । हेर्दा शालीन नै लाग्छ । विज्ञता के छ भन्ने चाहिँ त्यति धेरै थाहा भएन । किनकी उहाँसँग मेरो संगत नै भएको छैन भन्दा हुन्छ । उहाँ विदेश (रुस) मा पढ्दा निकै अध्ययनशील हुनुहुन्थ्यो । पढाइमा पनि ट्यालेन्ट । तर, बिस्तारै उहाँको पढाइ खस्कँदै गयो ।
कृष्णप्रसाद सिटौला नेता, कांग्रेस
‘लजिकल र धैर्यतावान् व्यक्ति’
सिटौला निकै धैर्यवान नेता हुनुहुन्छ । उहाँको धैर्यता देखेर म छक्क पर्छु । उहाँले सोलुसन निकाल्ने काम गर्नुहुन्छ । उहाँमा नमिल्ने बिन्दुमा पनि मिलाउने क्षमता छ । एक पटक उहाँको जिल्लामा एक जना मानिसलाई प्रहरीले मार्यो । त्यसपछि उहाँले संसद्बाटै आफ्नै सरकारको विरोध गर्नुृभयो । निक्कै लजिकल्ली कुरा राख्नुभयो । जसको जवाफ सरकारसँग थिएन । त्यसपछि मैले उहाँलाई नियाल्न थालें । र, कांग्रेसमा यो मान्छे ठिक रहेछ भन्ने लाग्यो । उहाँ चलाख व्यक्ति पनि हो । उहाँको प्रस्तुतीको शैली आक्रामक नभएर नरम हुन्छ । सकेसम्म मिलेर, मिलाएर लैजाने भन्ने धारणा राख्नुहुन्छ ।
विजयकुमार गच्छदार, नेता कांग्रेस
‘अवसरवादी नेता’
कांग्रेसबाट फुटेर गएपछि पनि उहाँ मलाई सधैं कांग्रेस नै लाग्थ्यो । साथै उहाँलाई अवसरवादी नेताको रुपमा लिइन्छ । आइडोलोजीका निमित्त नभएर पदका लागि काम गरेको राम्रो होइन ।
कमल थापा अध्यक्ष, राप्रपा
‘दोहोरो चरित्रको अनौठो व्यक्ति’
उहाँ राम्रो कथा लेख्ने मान्छे हो । मैले उहाँको कथा संग्रह पढेको छु । तर, लेखन कलाअनुसार उहाँको स्वाभाव, शैली मिल्दैन । हामीले नचिताउने खालको, अचम्मको लाग्छ मलाई उहाँ । एक पटक हाम्रो शान्तिपूर्ण धर्नामा लाठ्ठी हान्ने, गोली चलाउने आदेश दिनुभयो । तर, पछि उहाँहरु धर्नामा बस्दा प्रहरीले लाठ्ठी चार्ज गर्यो र उहाँले त्यसको विरोध गर्नुभयो । उहाँमा यस्तो दोहोरो चरित्र देखियो ।
उपेन्द्र यादव अध्यक्ष, संघीय समाजवादी फोरम
‘गैरकम्युनिष्ट चरित्र’
उपेन्द्रजी कम्युनिष्ट चरित्रको व्यक्ति हो जस्तो मलाई लाग्दैन । कम्युनिष्ट हुँ भनेर जात, भाषाको कुरा गर्नु गलत हो ।
राजेन्द्र महतो अध्यक्ष मण्डल, राजपा
‘दृष्टिकोण नै गलत भएको नेता’
देश फुटाउने, जनतालाई लडाउने काम राजेन्द्रजीको राम्रो छैन । व्यक्तिगत रुपमा राम्रो, अरुसँग सरल व्यवहार गरे पनि दृष्टिकोण नै गलत भएपछि अरु गलत हुन्छ । राजेन्द्रजीलाई यसरी नै मूल्याङ्कन गर्न ठिक होला ।