पढेपछि जागिर होइन, आफ्नै ‘जब’, अब अनलाइनबाटै लुगा धुन सकिने सुविधा


२२ चैत्र २०७४, बिहीबार
ll4 1

काठमाडौं, २२ चैत : नेपालमा अलिकति पढेपछि जागिर नै खानुपर्छ भनेर भौतारिने युवाहरु धेरै छन् । पढ्ने तर, पढाइ अनुसारको व्यवसायिक सोंच बनाउन नसक्दा धेरै नेपाली युवा बेरोजगार बस्नु परिरहेको छ । तर, पढेपछि जागिर खानैपर्छ भन्ने मान्यताबाट मुक्त नेपाली युवाहरु पनि हाम्रो समाजमा देखिन थालेका छन् । उनीहरु जागिर खाने भन्दा पनि जागिर सिर्जना गर्ने व्यवसायमा लागेर उदाहरणीय बन्न थालेका छन् । ll4 1

नेपाली धोबी अनलाइन लाउण्ड्री सेवाले ब्यस्त जीवनशैलीका कारण लुगा धुने पानी र समय नभएकाहरुलाई सजिलो सेवा शुरु गरेको छ । नेपाली धोबीले एक किलो लुगा १२० रुपैयाँदेखि एक सय ६० रुपैयाँसम्म लाउण्ड्री तथा ड्राइ क्लिन गरिदिने जनाएको छ । कम्पनीका अनुसार ग्राहकले प्रतिगोटा लुगा २० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म तिरेर धुन दिन सक्ने छन् । काठमाडौंको व्यस्त जीवन अनि पानीको अभावलाई मध्यनजर नजर गर्दै ‘नेपाली धोबी’ अनलाइन लाउण्ड्री तथा ड्राइ क्लिनर सञ्चालनमा ल्याएको हो ।

काठमाडौंको व्यस्त जीवन, पानीको अभाव अनि विद्यार्थी वर्गलाई लक्षित गर्दै ‘नेपाली धोबी’ अनलाइन लाउण्ड्री कम्पनी शुरु गरेको तीन सञ्चालकमध्येका एक विकास सुवेदी बताउँछन् । ‘हामी तीनै जनाले काठमाडौँको व्यस्त जीवन अनि लुगा धुनका लागि पानीको अभाव भोगेका छौं । त्यहि समस्या समाधानका लागि नेपाली धोबी खोलेका हौं’, विकासले भने । ३० वर्षमुनिका तीन जना सञ्चालकहरुले लुगा धुने ब्यवसायमा स्तरीकरण र सिर्जनशीलतालाई प्रयोग गरी ब्यवसाय गर्न खोजेको बताउँछन् । काठमाडौंका स्थायी सर्वसाधारण मात्र नभई उपत्यका बाहिरबाट काठमाडौं पढ्न आउने विद्यार्थीले आफ्नो व्यस्तका बीच लुगा धुने पानी समेत पाउँदैनन् । लुगा लाउण्ड्रीमा लैजान र ल्याउन पनि फूर्सद हुँदैन । यस्तै कुराको भुक्तभोगी उनीहरुले अनलाइन लाउण्ड्री सेवा ‘नेपाली धोबी’ सञ्चालनमा ल्याएको बताए ।

विकास सुवेदी, ऋचा धमला र निकुञ्ज भण्डारीले ‘नेपाली धोबी’ को कन्सेप्ट एक वर्षअघि नै तयार पारेका थिए । तर उनीहरुले योजना अनुसार काम अघि बढाउनुभन्दा पहिले अध्ययन तथा सर्भे अघि बढाए । उनीहरुले रिङरोडभित्रका विभिन्न स्थानमा सर्भे गरे । विद्यार्थीदेखि विभिन्न वर्गका सर्वसाधारणको समस्यामा केन्द्रित भएर प्रतिक्रिया लिए । लामो समयको सर्भेले उनीहरुलाई नेपाली धोबी शुरु गर्न अझ बल पुग्यो । यसबाट आम मानिसका दैनिक समस्या समाधान हुने मात्र होइन रोजगारी सिर्जना पनि हुने देखियो । वेब डिजाइनर अदिम सुवेदीले ‘नेपाली धोबी’ साइटको लेआउट र डिजाइन तयार पारिदिएपछि उनीहरुको सपनाले आकार लियो ।

विकास, ऋचा र निकुञ्जले एकैसाथ देखेको सपना हो नेपाली धोबी । उनीहरुले स्नातकको पढाइ सकेका छन् र देशमै केही गर्न चाहन्छन् । ‘काठमाडौँमा वर्किङ आवर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुन्छ । सातामा एक दिन बिदा । बिदामा लुगा धुने कि साथीभाइ र आफन्तलाई समय दिने ? हप्तामा एक पटक रेस्टुरेन्टमा क्यापुचिनो पिउने पैसाले त तीन जोर लुगा धुन सकिन्छ ।’ विकास यसरी सोच्छन् र त नेपाली धोबीले दैनिकी सजिलो बनाइदिन्छ ।

नाम राख्नुअघि उनीहरुले धेरै सोचे । लुगा धुने व्यवसाय अर्थात ‘धोबी’ । ‘नेपाली धोबी’ शब्दमा देशप्रतिको ममता पनि छ, अनि कामप्रतिको ऊर्जा पनि । उनीहरुले नेपालमै काम गर्ने र ठेट नेपालीपनको आभाष दिने नाम खोज्दाखोज्दै जुरेको हो कम्पनीको नाम ‘नेपाली धोबी’ । हाल कम्पनीले आफ्नो सेवा रिङरोडभित्र मात्र शुरु गरेको छ । काम बिस्तार गर्दै छिटै नै रिङरोड बाहिरका विभिन्न स्थानमा सेवा दिने विकास बताउँछन् । लुगा लिन जाने ठाउँमा हामी प्रत्येकले लुगा जोख्नका लागि पोर्टेबल डिजिटल उपकरणसहित ‘नेपाली धोबी’ को लोगोसहितको स्ट्याम्प प्याड र बिल साथ लिएर हिँड्छौं । अहिले हाम्रो सात जनाको वर्किङ ग्रुप छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७