मञ्चबाटै प्रचण्डलाई प्रश्न सोध्ने ठाउँमा किन पुगे जनार्दन शर्मा ?


२२ भाद्र २०७९, बुधबार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौं : विचारक रुपमा मानिएका नेकपा (माओवादी केन्द्र)का सचिव राम कार्कीको माओवादी माथि एउटा विश्लेषण छ, ‘माओवादीसँग सेना छैन, सत्ता छैन, विचार पनि छैन । बाँकी एउटा प्रचण्ड मात्रै बाँकी छ ।’ कार्कीले भने जस्तै प्रचण्ड माओवादीको ‘वान म्यान आर्मी’ जस्तै हुन् ।

नेकपा (माओवादी केन्द्र) भित्र प्रचण्डलाई प्रश्न र आलोचना गर्नेहरु आँट असाध्यै कमले गर्छन् । तर बुधबार फरक दृश्य देखियो । २२ भदौ ०७९ मा अखिल क्रान्तिकारीले सभागृहमा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सम्बोधनका लागि पार्टीका अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा लगायत नेताहरु उपस्थित थिए ।

क्रान्तिकारीका एक नेताका अनुसार अध्यक्ष प्रचण्ड सुरुमै बोलेर निस्किन खोजेका थिए । तर उपमहासचिव शर्माले त्यो थाहा पाउने साथ आयोजकलाई निर्देशनको शैलीमा भने, ‘उहाँभन्दा अघि म बोल्छु । जुन कुरा उहाँले सुन्नुपर्छ आज ।’ शर्माको कुरा सुनेर विद्यार्थी नेताहरु छक्क परे । एक नेता भन्छन्, ‘आफ्नै अध्यक्षलाई मञ्चबाटै कुरा सुनाउने भन्दा हामीलाई नयाँ लाग्यो ।’


स्रोतका अनुसार क्रान्तिकारीको कार्यक्रमपछि प्रचण्डको अर्को कार्यक्रम भएको कारण प्रचण्ड हतारमा थिए । सुरुमै बोल्न खोजेका थिए । तर शर्माको कुरा सुनेर प्रचण्ड रोकिए । ती विद्यार्थी नेता भन्छन्, ‘सिएम (अध्यक्ष)को अर्को कार्यक्रम थियो । आफ्नो अध्यक्षलाई खुसुक्क भन्दा पनि हुनेथियो । तर उहाँले आज मञ्चबाटै केही कुरा सोध्छु भन्नुभयो ।’

Parchanda



शर्माकाे असन्तुष्टी : पहिलो महासचिव नबनाएको आक्रोश

शर्माको अडानपछि कार्यक्रम सञ्चालक क्रान्तिकारीका महासचिव दिपेश पुनले शर्मालाई मञ्चमा बोलाए । सुरुमा नै शर्माले पार्टीमा उपमहासचिव रहेको र आफू कार्यक्रममा संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित रहेको भन्दै पार्टीले तोकेको जिम्मेवारीलाई अस्वीकार गरेको सन्देश दिए । भने, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’

प्रचण्डले भदौ ४ गते देव गुरुङलाई महासचिव घोषणा गर्दै गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादवलाई उपमहासचिव घोषणा गरेका थिए । पार्टी महासचिव पदको दाबी गरिरहेका शर्माले सो निर्णयमा चित्त नबुझेको भन्दै फरक मतसमेत राखेका थिए । बुधबारको कार्यक्रममा उनले पार्टीमा ६ जना मात्रै उपमहाचिव रहेको भन्दै जिकिर समेत गरे ।

शर्मा महाधिवेशनअघि भएको जिम्मेवारी बाँडफाँटमा भने संगठन विभाग प्रमुख रहेका थिए । कम्युनिस्ट पार्टीहरूमा मूलतः महासचिव नै संगठन विभाग प्रमुख हुने प्रचलन छ । तर कार्यविभाजनपछि संगठन विभागको जिम्मा उनलाई दिइएको छैन । उनले औपचारिक रुपमा नै संगठन विभागको दाबी प्रस्तुत गरे ।

अखिल क्रान्तिकारीको विवादमा असन्तुष्टी
अनेरास्ववियू (क्रान्तिकारी) भित्र विवाद छ । क्रान्तिकारीको असन्तुष्ट पक्षले शनिबार छुट्टै भेला आयोजना गरेर राष्ट्रिय भेला आयोजक कमिटी बनाएको छ । अध्यक्ष पञ्चा सिंहले विधान अनुसार काम नगरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर कमिटी घोषणा भएको छ । सिंह शर्मा निकट हुन् ।

कार्की समूहलाई मिलाउन प्रचण्डले कुराकानी गरेपछि शर्मा प्रचण्डसँग असन्तुष्ट छन् । त्यो असन्तुष्टी कार्यक्रममा पोखिएको देखियो । अनेरास्ववियु क्रन्तिकारीको विवाद मिलाउनका लागि सुझाव दिन प्रचण्डले विद्यार्थी अध्यक्षहरू रमेश मल्ल, रत्न ढकाल र नरेन्द्र न्यौपाने सम्मिलित कार्यदल बनाएको थियो । तर यो शर्मालाई मन परेको थिएन ।

शर्माले प्रचण्डको सबैभन्दा ठूलो रक्षक र सबैभन्दा ठूलो आलोचक आफू नै रहेको बताए । ‘म नीति र नेतृत्वको रक्षा गर्ने मान्छे हुँ । सही नीति र नेतृत्को रक्षा गर्ने अहिले पनि मेरो दायित्व हो । तर नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो माग हो । अहिले अध्यक्ष यही हुनुहन्छ । अध्यक्षको सबैभन्दा बढी कडा आलोचक र सबैभन्दा बढी संरक्षक रक्षा गर्नेपनि मै हो। यो आज तपाईंहरुको अगाडि म भन्न चाहान्छु । अध्यक्ष कमरेडले अहिले यहीँबाट जवाफ दिनुहोला ।’

शर्माले आफू प्रचण्डको आलोचक भएको पनि बताए । ‘म त कमरेड प्रचण्डको आलोचक हुँ, आलोचना गर्छु। तपाईंहरुले पनि पञ्चा सिंहले गल्ती गरेमा आलोचना गर्नुहोला। चाकडीले नेतृत्वको रक्षा हुँदैन,’ उनले भने।

जनार्दनलाई हुर्काउन मेरो भूमिका छ : प्रचण्ड
अध्यक्ष प्रचण्डले शर्मालाई मञ्चबाटै उत्तर दिए । शर्माको रक्षा गर्न र हुर्काउन आफ्नो भूमिका रहेको उल्लेख गरे । उनले पार्टीमा आफ्नो उत्तराधिकारीहरू तयार हुन् भन्ने आफ्नो सपना रहेको पनि बताए । उनले पार्टीलाई एकताबद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडि बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा जोड दिए ।

‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो– नीति र नेतृत्वको रक्षाको कुरा। म तपाईंहरुलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो । उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ । म जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा छु । मेरो लागि धेरै चिज भएकै छ। अब म लाखौं उत्तराधिकारी तयार पार्न चाहान्छु ।’

लडाइँकालमा तत्कालीन माओवादीले गठन गरेको ‘जनमुक्ति’ लडाकुका चार जना डेपुटी कमान्डरमध्ये एक शर्मा सबैभन्दा बढी अवसर पाउने नेता मध्येका एक हुन् । शर्माले २०७४ सालमा कांग्रेस–माओवादी साझेदारीमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह मन्त्रालयको नेतृत्व गरेका थिए। दाहालको दोस्रो कार्यकालमा उनले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। २०६५ मा दाहाल नेतृत्वको माओवादी सरकारमा उनी शान्ति तथा पुनर्निर्माणमन्त्री थिए। हाल उनी अर्थमन्त्री छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७