महाभियोग प्रकरण : १७४ मध्ये जबराले आज ६५ पेजमा गरे हस्ताक्षर, बाँकी भोलि


३१ भाद्र २०७९, शुक्रबार
cholendra shumsher jb rana

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आफ्नो बयानको १७४ पृष्ठमध्ये ६५ पेजमा हस्ताक्षर गरेका छन् । महाअभियोग सिफारिस समितिको सचिवालयले उनको बयानको ‘भर्वेटिङ’ उतार्दा १७४ पेज भएको छ ।

बाँकी शनिबार बिहान ८ बजे बैठकमा हस्ताक्षर गर्ने समिति सदस्य एकवाल मियाँले जानकारी दिए । काँग्रेस नेता समेत रहेका विश्वकर्माले प्रतिवेदनमा लेख्नुपर्ने सबै कुरा लेखिएको निष्कर्ष, निणर्य र सुझाव मात्रै लेख्न बाँकी रहेको पनि जानकारी दिए । चोलेन्द्रले अब १०९ पेजमा हस्ताक्षर गर्न बाँकी रहेको छ ।

महाभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले महाभियोग प्रक्रिया लम्ब्याउन बदनियत राखेको पाइएको बताएका छन् । ‘आरोपित प्रधानन्यायाधीश चोलेन्द्र जबराले बदनियतका साथ महाभियोग प्रक्रिया लम्ब्याउन खोजेको देखियो’, विश्वकर्माले भने, ‘भोलि प्रतिनिधिसभामा प्रतिवेदन बुझाउन सक्ने अवस्था छैन । तर भोलि बेलुकासम्म सभामुखलाई प्रतिवेदन बुझाउने गरी काम गरिरहेका छौ ।’

उनका अनुसार चोलेन्द्रले बयानको उतार एक हप्ता अघिदेखि नै घरमा लगे पनि अन्तिम समयमा आएर हस्ताक्षर गर्न नभ्याएको र पुनः लेखिएको बयानको उतार सुनेर मात्रै हस्ताक्षर गर्ने अडान राखेकाले प्रक्रिया लम्बिएको हो । ‘चोलेन्द्रले आफ्नो बयान एक साता अघि नै घर लगेका हुन् । तर पछि हस्ताक्षर गर्न भ्याएको छैन भने’, विश्वकर्माको भनाइ छ । अघिल्लो दिनको सहमतिअनुसार जबराले बोलेको कुरामा ठिक हो भनेर कागज समेत तयार पारेको अवस्थामा उनले सही गर्न मानेका थिएनन् ।

संसदको कार्यकाल भोलि सकिँदैछ । तर महाभियोग नटुंगिएपछि के हुने भन्ने अन्योल समेत उत्पन्न भएको छ । सत्ता र प्रतिपक्षका सांसदबीच महाभियोग अर्को संसदमा सर्ने र नसर्नेबारे विवाद छ । ‘अहिले पुरा नभए पनि अर्को संसदमा सरेर जान्छ । चोलेन्द्रमाथि संविधान कानुन उल्लंघन गरेको, पदीय आचरण पुरा नगरेको, अर्बौं भ्रष्टाचार गरेको, वीरगञ्ज पोखरी प्रकरण, रञ्जन कोइराला, सर्वोच्च भवन ठेक्का भ्रष्टाचार जस्ता विषयमा अध्ययन गर्न समय लाग्छ’, विश्वकर्माको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७